Tuesday, September 15, 2015

म त्यस्तै गर्छु


मैले भन्दिएको छु -
मेरो नाममा नबस्नु तिमी तीजको व्रत
ग्यासट्राइटिस हुर्काएर आफूमा
नगर्नु मेरो दिर्घायूको कामना
पढेर स्वस्थानीको अमूर्त श्लोकहरु
नठान्नु मलाई महादेव
नपिउनु मेरो पाउ धोएर
पिसाब र पसिना गन्हाएको जल
अहँ, नचढाउनु मन्दिरमा मेरो प्रगतिको लागि
फूल, अक्षता र भेटी

म चहान्छु बरु,
ढोग्नु माटो तिमीले
सम्झनु सधैं पुर्खाहरुलाई
हेर्नु आफ्नै पाइतालाको फैलावट
बाँड्नु मसँग बालापनका कथाहरु
र सपनाहरु कहनु ।

निधारको रेखामा हैन
औंलाको गतिशिलतामा हुन्छ भविष्य
राशिफलमा हैन आफ्नो दिन
बिहानी मुस्कानमा हुन्छ त्यो

कोसँग छ र यहाँ अरुको मनको कुरा बुझ्ने क्षमता ?
कसले सक्छ यहाँ अरुको इच्छा पूरा गर्न ?
सिवाय आफू

तसर्थ,
मैले आफूलाई बुझेँ भने
तिमीले आफूलाई बुझ्यौ भने
आमुने-सामुने भएर एकअर्काको आँखामा
एकअर्कालाई देख्यौं भने
बुझ्न सक्छौ हाम्रो संसार हामी
देख्न सक्छौं जीवनको सुन्दरता

बस् , तिमीले आफूलाई बुझ्नु
र बुझाइको लम्बाई ल्याइपुर्याउनु मसम्म
म त्यस्तै गर्छु ।

3 comments:


  1. म चहान्छु बरु,
    ढोग्नु माटो तिमीले
    सम्झनु सधैं पुर्खाहरुलाई
    हेर्नु आफ्नै पाइतालाको फैलावट
    बाँड्नु मसँग बालापनका कथाहरु
    र सपनाहरु कहनु ।

    ReplyDelete
    Replies
    1. धन्यवादको पोका हजुरलाई

      Delete
  2. म चहान्छु बरु,
    ढोग्नु माटो तिमीले
    सम्झनु सधैं पुर्खाहरुलाई
    हेर्नु आफ्नै पाइतालाको फैलावट
    बाँड्नु मसँग बालापनका कथाहरु
    र सपनाहरु कहनु ।

    ReplyDelete