Friday, June 5, 2015

प्रधानमन्त्रीजी ! म डाक्टर गोविन्द…



म को हुँ ?
यसको त्यति महत्व छैन
मान्दा हुन्छ
म लक्ष्मीप्रसादको पागल
विजय मल्लको बहुलाकाजी
म वैरागी काँइलाको मातेको मान्छे र यस्तै यस्तै
खासमा,
प्रधानमन्त्रीजी म एउटा सामान्य डाक्टर हुँ ।
तपाई को हो ?
तर असिमित छ यसको महत्व
तपाई प्रधानमन्त्री
केन्द्रिकृत शक्ति
तपाई अन्तिम हस्ताक्षर
तपाई उतरपुस्तिका
तपाई बूहत शब्दकोश
म देख्दैछु तर
तपाई भूपिको क्यारेम्बोर्डको गोटी
मेसीको खुट्टाको बल
तपाई धुम थ्री को सर्कसको घोडा र यस्तै यस्तै

प्रधानमन्त्रीजी बरु बन्नुहोस् क्रुर
लुँई चौधौं झैं भन्नुहोस् म नै राज्य हुँ
र गर्नुहोस् एउटा प्रजातान्त्रिक निर्णय
जानुहोस् तपोवन
ध्यान गर्नुहोस् तीन दिन
र फाल्नुहोस् एउटा न्यायिक वक्तव्य

प्रधानमन्त्रीजी
केवल तपाई एउटा बिम्ब बन्दै हुनुहुन्छ
र म अर्को
खुब प्रयोग हुदैंछौ हामी अब
कविताहमा र घोषणा पत्रहरुमा
जुन हाम्रो रहर होइन र रहने पनि छैन
भन्नुहोस् प्रधानमन्त्रीजी
त्यति रहरे कहिले थियौं र हामी ?
किन बनाइदैछ हामीलाई अमूर्त विम्ब यसरी ?

प्रधानमन्त्रीजी तपाई यति लाचार हुदै हुनुहुन्छ की
बाँच डाक्टर गोविन्द
तिमी बाँच्नुपर्छ र बचाउनुपर्छ तिमीले
म पूरा गर्छु तिम्रो सपना भन्नै सक्नुहुन्न
राजनितिज्ञ जो हुनुहुन्छ तपाई
र म पनि यति लाचार छु की
आउनुहोस् प्रधानमन्त्रीजी सँगै बसौँ अनसन
तपाई संविधानको लागि
म सिस्टमको लागि
बरु मरौं सँगै तर नमरोस् देश भन्नै सक्दिन
डाक्टर जो हुँ म
बरु आफैं मर्न सक्छु
मृत्युको कामना बाँड्न सक्दिन तपाईलाई

प्रधानमन्त्रीजी मलाई थाहा छ
तपाई र म चाडैँ मर्दैछौ अब
बिरामी जो छौं
फरक यति हो कि
म आफ्नै निर्णयमा मर्दैछु
तपाई निर्णयविहिन मर्दै हुनुहुन्छ

प्रधानमन्त्रीजी आँट गर्नुहोस बोल्ने
र याद गर्नुहोस्
म डाक्टर गोविन्द मर्नु भनेको
तपाईले जित्नु कदापि होइन
न त तपाई नै बाँच्नु हो
………………………२०७१ चैत्र १६ (सन्दर्भ - डा गोविन्द शिक्षण अस्पतालमा सरकारको मनोमानी अनशन बसेको -  www.merojilla.com , sajhasabal.com , esamata.com , topnepalnews.com and alag abhiyan.blog मा प्रकाशन)

No comments:

Post a Comment