लाइनमा थियौं हामी । बन्दुक बोकेका सेना र
पुलिसले गेटमा सबैको शरीर चेक गर्थ्यो । ज्याकेट र पाइन्टको गोजी छाम्थ्यो जुता
खोल्न लगाउँथ्यो । चिट भेटे खोस्थ्यो र गाली गर्थ्यो । जवाफ फर्काए लाती खाइन्थ्यो
। सबै परीक्षार्थीको अनुहारमा त्रास
देखिन्थ्यो – एसएलसीको भन्दा पनि सेना पुलिसको बढी । मानसिक तनावको पोका पन्तुरा
बोकेर एसएलसी दिदै थियौं हामी । चेकिङमा एक पछि अर्को गर्दागर्दै मेरो पालो आयो ।
“ओइ यत्रो फुच्चेले के चिट बोक्थ्यो छोड्दे यसलाई
।“ - अलि ठूलो सेनाले
अर्को सेनालाई भन्यो । म बिना चेकिङ परीक्षा हल छिरे । थिएन चिट मसँग तर अनौठो जुन
डर थियो, त्यो
अलिकति कम भयो । र मैले दिक्तेल बहुमुखी क्याम्पसको कोठा नं. ४ मा बसेर परीक्षा
दिए ।
![]() |
दिक्तेल |
तत्कालिन समयको जनयुदको प्रभावले २०५८ देखि नै
सदरमुकामलाई मात्र एसएलसीको केन्द्र बनाइदै आएको थियो र पछि २०६३ सम्म यसले
निरन्तरता पायो । जिल्लाका सम्पूर्ण माविका एसएलसी दिने विधार्थीहरु सदरमुकाममा नै
थुप्रिएका थिए । यसरी म सँगै हाम्रो विधालय चम्पावती माध्यमिक विधालयबाट ११२ जना
सदरमुकाम पुगेका थियौं २०६० को एसएलसी दिन ।
म १८ दिन बसे दिक्तेल मिलन दाई, भूषण दाई र
दुर्गेशसँग उनीहरुकै कोठामा । उनीहरु दिक्तेल क्याम्पसको विधार्थी । कैले जुठो
नखाने म,
दाईहरुसँग बस्दा जुठो पनि खोसाखोस गरेर खाने बानी भएँ ।
एसएलसी सुरु हुनुभन्दा ७ दिन अगाडि मात्र पुगेको
म दिक्तेल । र त्यो मेरो पाँचौ पटक थियो दिक्तेल यात्रा । करिब २५ किमि पश्चिम
पर्ने मेरो गाउँ बुइपाबाट पहिलोपटक कक्षा ५ मा पढ्दा रितु फुपुसँग, कक्षा ९ मा पढ्दा
पासपोर्ट साइजको फोटो खिच्न साथीहरुसँग दोस्रो पटक, फिलिङ्गे र तोरीको तेल पेल्न आमासँग
तेस्रो पटक र जिल्लास्तरिय हाजिरिजवाफमा भाग लिन नरेश र शुसिलसँग चौथौपटक म
दिक्तेल पुगेको थिएँ । ठूलै शहरजस्तो लाग्थ्यो दिक्तेल मलाई । क्याम्पस भिताबाट हाट
डाँडासम्म लामो दुई लाइनको घर र बीचमा मुलबाटो । म:म र
चाउमिनको पसल, नेपाली फिल्मको पोस्टर र राजनीतिक भिते नाराहरु
मैले
दिक्तेलमा नै देखेको हो पहिलो पटक । दिक्तेल निकै फराकिलो पनि रैछ भन्ने कुरा त
मैले पछि आपासँग नागरिकता बनाउन जाँदामात्र था’पाएको हो ।
![]() |
हाम्रो घर |
हाम्रो पालासम्म एसएलसीलाई ‘फलामे ढोका’ नै भन्थे । हाम्रो
दिमागमा त्यै सेट भएको थियो । एसएलसी पास गरेपछि जीवनको नयाँ गोरेटो सूरु हुने
भएकोले पनि यसको निकै महत्व रहेको हो । एसएलसी इज्जत र प्रतिष्ठासँग जोडिन्थ्यो ।
हाम्रो घरमा म भन्दा अगाडि नै आपासहित १२ जनाले एसएलसी पास गरिसकेको थियो । तसर्थ
ममा चुनौति पनि थियो अर्को कुरा म कक्षाको फस्ट ब्वाई पनि थिएँ ।
गैरा घरको सुरेशेम्मा तिम्मा अचेल पनि भनिरहनु
हुन्छ – “काले तँ
त घाँसको भारी बोक्दा पनि, कोदोको बीउ गोड्दा पनि, फापर उखेल्दा पनि पढिरहन्थिस । याद छ के ?” । हो, मलाई याद छ ।
त्यतिखेरै देखि मलाई पढाईप्रति मोह बढेको हो ।
‘बिहान ४ बजे उठेर पढ्ने, ६ बजे बारीमा जाने, ९ बजे स्कूल, फेरि बेलुका ५ बजे मकैको बासी भात र
फीलिङ्गेको छोप खाएर बारीमा जाने, ७:२० मा रेडियो नेपालको ‘घटना र विचार’ कार्यक्रम सुन्न घर फर्किनु पर्ने, ८ बजे खाना, ११ बजेसम्म पढाइ
अनि सुताइ’ प्राय
यसरी चल्थ्यो एसएलसीको तयारी । जहाँ जादाँ पनि किताब चाहिँ छोडिएन ।
आमाले २०५७ वैशाख १० गते बुइपामा नै पहिलो पटक
धरानबाट १४ इन्चको रगींन एलजी टीभी ल्याउनु भो । हेरिन्थ्यो - शनिबार दिउँसो हिन्दी फिलिम र शुक्रबार
राति नेपाली फिलिम । २०५६ को अन्ततिर गाइघाट हुदै खोटाङमा बिजुलीको पोल गाडिएपछि
सुना फुपुले पहिलोपटक सादा टिभी ल्याउनुभको थियो । २०५८ को दरबार हत्याकाण्डको
घटना गाउँभरिका मान्छेहरुले हाम्रै आँगनमा हेरे र आमाहरु, कोकुहरु बिलौना गर्दै रोएका पनि थिए
टन्नै । मलाई टिभीले झन धेरै जानकारी दिएको भान हुन्थ्यो । मलाई प्लस हुन्थ्यो
पढाईमा ।
स्कूलमा हुने कविता, हाजिरिजवाफ र वक्तृत्वकलाको
प्रतियोगितामा एउटा न एउटा स्थान मेरै हुन्थ्यो । नानाहरुले दशैंमा घर आउँदा ‘मूना पत्रिका’ ल्याइदिनु हुन्थ्यो
। आपा कवि तसर्थ साहित्यिक पुस्तकहरु प्रशस्तै घरभरि हुने, आमा स्कूल नपढे पनि भानुभक्तको रामायण, माधव घिमिरेको गौरी
जस्ता किताब खरर भन्नुहुने, दाईदिदीहरु सबै पढ्ने भएकोले पनि मलाई
पढ्ने वातावरण थियो । कक्षा ५ सम्म भाले जुधाइ र चुङ्गी खेलियो, कक्षा ६ र ७ मा
बहुतै गुच्चा अनि मावि तहमा मिलन दाइहरुसँग फूटबल खेलियो तर पढाइ छोडिएन । टेस्ट
परीक्षामा त ७९% आको थियो । एसएलसीमा चाहिँ झरेछ ६५ % मा तर म फस्ट को फस्ट नै ।
पूर्वी पहडि जिल्ला खोटाङ पहिलो पटक मलाई दुर्गम लाग्यो जब एसएलसीको रिजल्ट हप्ता दिनसम्म आइपुगेन । ८ दिनपछि था'भो रिजल्ट, त्यो पनि अर्खौलेको गोपाल काकाको पिसिओ मा घण्टौ लाइनमा बस्दा बस्दा काठमाडौबाट
पबित्रा नानाले भन्नुभए पछि । स्कूलमा सरहरुले गोरखापत्र मगाउनु भएछ केहि दिनमा ।
सबैको हेरियो । ११२ जनामा ८ जना मात्र पास भएछौं । ७० जना भन्दा बढीले कम्पार्ट
पाए । त्यसमा अधिकाशंले गणित अंग्रेजी र विज्ञानमा फेल गरेछ । पछि पुरक परीक्षमा
५६ जनाले पास गरे । अरु छेउछाउका विधालयको तुलनामा हाम्रो स्कूलको रिजल्ट राम्रै
रे – सरहरु त्यतिखेर भन्नुहुन्थ्यो ।
गाउँमा
न बधाइ न धन्यवाद । चलन नै थिएन । कसैले बधाइ भन्यो भने पनि धन्यवाद भन्न
अफ्ठ्यारो लाग्थ्यो । जेहोस् घरमा सबै खुशी भए किनकि म खुशी थिएँ र कुरा नै
त्यस्तै थियो । मार्कशीट त १०/११ दिनपछि मात्र
आयो स्कूलमा र था’भो पर्सेन्टेज ।
![]() |
विधालय |
मेलापात, गोठाला, खेताला गर्दा गर्दै कहाँ पढ्ने, के पढ्ने छलफल सुरु भो । गहन छलफलपछि मिलन दाईले पबित्रा
नानालाई कालेलाई काठमाडौ पठाउँदैछौ भनेर खबर गर्नुभएछ । जाने निधो भो । के पढ्ने त
भन्दा मैले विज्ञान पढ्ने कुरा गरे स्कूल
फस्ट जो थिएँ । जानेको सुनेको फस्टले त विज्ञान पढ्नु पर्छ रे । तर हाम्रो स्कूलमा
त्यो लागू त थिएन । धेरैले विज्ञान नपढ भनेको हो, हेडसरले पनि । आपाले
गणित मेजर राखेर पढ्दा हुन्छ भन्नुभको हो । जीदी म । डाक्टर बन्ने भूत सवार थियो
ममा । कक्षा ९ मा खगेन्द्र सरले एमबीबीएस को बारेमा
एउटा प्रसंग ल्याउनु भएको थियो । मलाई त्यै समयमा एमबीबीएस पढ्ने भित्रि इच्छा जागेको थियो ।
मनसुन
सुरु भइसहेको थियो । बारीमा मकैको झ्याङ अग्लिदैँ थियो । कोदोको बीउ गोड्ने बेला
भाथ्यो । म भने पहिलोपटक गाउँ घर छोडेर आमाआपा, दाई, बैनी छोडेर टाढा सहर झर्ने
तरखरमा थिएँ । र २०६१ असार ३ गते म नेवार गाउँको ध्रुव दाईसँग शहर हिडेँ । झोलामा
१ थान मार्कशीट र स्कूलको चारित्रिक प्रमाण पत्र,
आमाले हाल्दिनु भएको १ पोका भुटेको मकैभटमास, १
पोका गुन्द्रुक, १ पोका किनामा, सानो हर्लेक्सको बट्टामा माली गाईको घीउ, कोदोको पीठो, नानालाई २ डल्ला
मर्चा र केही मेरा पूराना हाफपेन्ट र शर्टहरु बोकेर पछ्याए मैले ध्रुव दाईको लामो
लामो पाइला । मनमा कस्तो कस्तो नरमाइलो लाग्यो घर छोड्नु पर्दा । आखाँ रसायो । तर देखेन
कसैले । बल गरेर थामे मन । नत्र लाज पो हुन्थ्यो त ।
![]() |
दाईहरुसँग |
हलेसी
तिर अलिअलि सडक खन्न थालिएको थियो ।
दुधकोशी तरेर जयरामघाट बसियो पहिलोदिन । माछा खाइयो । घुर्मी हुँदै बेतिनी
पुग्दा ध्रुव दाईले चोर औंलाले घोचेर देखाउँदै भन्नु भो – “अनिल यहाँबाट हाम्रो खरको डाँडा देखिन्छ ।“ खरको डाँडा हाम्रो घरमाथिको डाँडा हो, लाखे खेल्ने डाँडा । हेरे तर चिनिन । ध्रुव दाईले कटारी बास
बस्न पुग्नुपर्ने कुरा गर्नुभो । साँझमा कटारी बजार पुग्नै लाग्दा पहिलोचोटि
बिग्रेर पल्टिरहेको ट्रक देखेको हो मैले । टिभीमा चाहिँ पहिल्यै देखेको हो ।
धरानमा
कोपी नाना र देवान दाई कम्युनिकेसन चलाउनुहुन्ग्यो । सुनल पढ्दै हुनुहुन्थ्यो । म
पुगेँ । मेरो लागि पहिलो सहर दिक्तेल,
अर्को कटारी र त्यसपछि धरान । ४ दिन बसे धरान । भानुचोक, बुढासुब्बा, पिन्डेश्वरी, वीपि क्याम्प सुनल दाईले घुमाउनु भो ।
र ८
गते बेलुका ज्वाला यातायातको गाडीमा चढेर ३७ केजी, ४.८ फिट उचाई, वर्ष १५ को
गाउँले केटो अर्थात म काठमाडौं पुगे पहिलो पटक । था’भएन
काठमाडौंले मलाई स्वागत गर्यो कि गरेन तर मैले हेरे कलकीं चोकमा उभिएर चारैतिरको
विल्डीङ, गाडीको हेडलाइट र मान्छेहरु । ती मान्छेहरु जो सायद म जस्तै
कोही पहिलोचोटि छिरेका थिए भविष्य खोज्न, कोही
बारम्बार छिरेका थिए सायद भविष्य खोज्ने बानी भएर, सायद
कोही भाग्दै पनि थिए कि भविष्य नपाएर …… ।
(esamata.com मा २०७२ आषाढ ५ गते शनिबार प्रकाशित)
No comments:
Post a Comment