Thursday, October 1, 2015

एक दिनको च्याट...

दिन धुम्म थियो । कुहिरोका हुलहरु कछुवाको गतिमा थिए । अफिसमा खासै काम थिएन । फुर्सदमा थिए भन्न मिल्छ ।
उपेन्द्र दाईको खोलाको गीत एक छिन पढे । पढ्न रुचाउँछु । विशेष कविताहरु पढ्छु । भर्खरै पढीसकेको हो अभि सरको साहित्य र आमवृत ।
मल्ल दाईले चिया ल्याउनु भो । कालो चिया । "सर नास्ता खान्या होउ" - मल्ल दाईले सोध्नु भो । खाजा खाने बेला भको थिएन । "अहिले भो दाई" - मैले फर्काएँ जवाफ । टिभी टेबलको छेउमा चिया राखेर जानुभो दाई । म किताबमै व्यस्त थिए ।
अफिसमा भोल्यूमबेस इन्टरनेट थियो । ल्यापटप अन गरे ।  गरे फेसबुक लगईन । अफलाइन बस्छु प्राय र त्यै गरे । अनलाइनमा बस्नसाथ सय भन्दा बढी साथीहरु देखिन्थे हरियो इन्डिकेटरसँगै । र आइहाल्थ्यो मेसेज गुटुङटुङ । नबोलु भने ठूलो भो भन्थे । बोल्दा निकै बेर अल्मलिने । बरु अफलाइनमा ढुक्क ।
कविताको किताब राखे अर्को टेबलमा जहाँ अरु केही थान कविता र उपन्यासहरु थिए । चियाको सुरुप्पसँगै माउस चलाउन थाले ।
सोच भो अनलाइन बस्ने । क्लीक गरे टर्न अफ च्याटमा । १३८ जना साथीहरुले ढोका खोलिरहेका रैछन् । क्यान्डि क्रसको निम्तो र फोटोमा आउने लाइक को नोटिफिकेशन् त सामान्य हो । सीन गर्यो फेरि त आइहाल्थ्यो ।
लड्काहरु बढि हुने अनलाइमा । हुन त लड्कीहरु पनि हुने । तर म खासै बोलाउँदिनथे । कसैलाई बोलाइन मैले । लड्का लड्की कसैलाई पनि ।
'जय किरात है अनिलजी' - अभिजीले च्याट सुरु गर्नु भो । अभि सुवेदी सर हैन । अभि राई किरात राई विधार्थी संघको साथी । यो संघमा हामीले सँगै धेरै काम गर्यौं । खासगरी उपत्यकाको क्याम्पसहरुमा हुने संघको कार्यक्रममा डेकिन्द्र र हामी दुई सँगै हुन्थ्यौं ।
म यता आएपछि संघ छोड्नै पर्यो । साथीहरु थपिएका थिए धेरै । र कुराकानी हुन्थ्यो कैलेकाँही ।
आज पनि भयो । सन्चो बिसन्चो सोधासोध भो । सोध्नुभो उहाँले नै - "के गर्दै हुनुहुन्छ अनिल सर ?"
रोमनमा लेख्थे म । प्राय धेरैले रोमनमा नै टाइप गर्दा रैछन् । सजिलो पनि हुने फेरि च्याटमा । रिप्लाई गरे - "दिन धुम्म छ बाहिर । अलि अलि चिसो बढिरहेको छ । म त कविता पढ्दै थिए हौ । र कवितै लेख्न पो मन लागिरहेको छ हौ अभिजी ।"
तुरुन्तै जवाफ आयो -"त्यसो भए लेख्नुस् न र पोस्ट गर्नुस् । पढ्ने हामी छदैछौं ।" "शब्द आइरा छैन नि त हौ" - मैलै पठाएँ ।
सीन गरेको इन्डिकेसन् आयो । रिप्लाई आएन ।
गुगल क्रोमको नयाँ ट्याबमा अनलाइन खबर डटकम सर्च गरे । निर्वाचनको माहोल थियो देशभरि । निर्वाचन हुन्छ कि हुदैन ? भन्ने विषयमा राष्ट्रिय अन्तराष्ट्रिय बहस थियो । समाचारहरु पनि त्यसैका थिए । हेरे ।
अभिजीको मेसेज आयो - "अनिलजी त्यसो भए प्रेम गर्नुस् । कविता फुरि हाल्छ रे हौ ।" र अन्तिममा थियो - "हाहाहाहाहा ।"
गम्भिर कुरा आयो । कविता र प्रेम । यो सानो विषय हैन । प्रेममा परेपछि मान्छेहरु कवि भएका थुप्रै उदाहरणहरु छन् । भलै त्यो प्रेम सफल होस् वा असफल । सामान्य मानिसलाई कवि बनाउने केही फ्याक्टर पक्कै हुन्छन् । ती मध्ये प्रेम पनि एउटा हो ।
मैले लेखे - "प्रेम गर्ने हो र हुने पो हो त कि कसो ? र मलाई प्रेम भइसकेको हो नि । भोगी पनि सकेको हो मैले त प्रेमको परिणाम ।" र अन्तिममा लेखे - "हाहाहाहा "
खासमा म अभिजीले इन्डिकेट गर्नु भको प्रेममा परिसकेको हो । मेरो निजी सन्दर्भमा त्यो प्रेम चर्किएर प+++म भएको कुरा मेरा धेरै साथीहरुलाई थाहा थियो । लाग्छ अभिजीलाई पनि था थियो ।
म आफ्नो प्रेम कथालाई कविता बनाएर सबैलाई गीतको रुपमा सुनाउन चाहान्नथे । अभिजीले यो प्रसगं निकाल्दा च्वास्स घोचेजस्तो भो मलाई । क्षणभरमै म आफै नर्भस भएँ । किताबको पाना सरर पल्टेझैं आउन थाल्यो पूराना कुराहरु । र हतपत सम्हालिए म । जोगिए आफै ।
अभिजीले मेसेज ठेलीसक्नु भको रैछ - "पूराना कुरा छोडि दिउँ अनिलजी । भन्नुस् त कस्तो कविता लेख्ने हो तपाई ?"
झट्कारे टाउकोलाई एक पटक । चियालाई फेरि सुरुप्प पारे । उठेँ । तनक्क तन्काएँ जीउलाई ।
छोटोमा लेखे - "क्रान्तिकारी ।"
मैले त झ्वाट्ट लेखेको हो । कल्पना नगरेको जवाफ आयो उताबाट - " ! लु सजिलो भो । वैध बा को पार्टीमा लाग्नुस् ।"
वास्तवमा गाँठीको जवाफ थियो त्यो । भर्खरै मात्र एमाओवादीबाट अलि क्रान्तिकारी विचार राख्ने हुँ भनेर वैध बा छुट्टिएको थियो । संविधान सभाको निर्वाचनमा सहभागी नहुने, सशक्त ढगंले निर्वाचन बहिष्कार गर्ने भन्दै आन्दोलनका कार्यक्रमहरु सार्वजानिक गरेका थिए ।
मैले जवाफमा फर्काए - "हाहाहा । अभिजी पनि मजाक गर्नु हुन्छ है ।"
उताबाट आयो - "हाहाहाहा । हल्का रमाइलो अनिलजी ।"
म फ्रेस भएँ । यो अन्तिम कुरा घतलाग्दो थियो । अभिजी सँग प्राय यस्तै कुराहरु हुन्छ । कैलेकाँही राजनितीक, कैलेकाहीँ सामाजिक, कैले संस्थागत त कैले विशुद् व्यक्तिगत कुराहरु हुन्छ । कामको पनि कैले कुरा हुन्छ । कैलेकाहिँ त बिहेको कुरा पनि हुन्छ । आपसमा "तपाईको बिहे गर्ने बेला भो है" भन्ने संवाद पनि दोहोरिरहन्छ ।
घडि हेरे मोबाइलमा । ३ बजिसकेको रैछ । कुराकानी पनि सकियो । अरु पनि थिए अनलाइनमा त । बेवास्तामा लग आउट गरे फेसबुक । सट डाउन गरे ल्यापटप । चियाको अन्तिम घुट्को ताने । अलि चिसो भइसकेको रैछ ।
र खोले कापी । कविता जो लेख्नु थियो ।

No comments:

Post a Comment