भन कसरी दिपावली गरुँ ?
न मैनबती छ
न सलाई
न फूलबारीमा छन् सयपत्रीका
थुगाँहरु
सिरकको खोल च्यातेर
सलेदो बनाउन पनि सक्दिन
गाउँतिर जाडो बढेको छ
गुन्द्रुक पकाउनुछ तोरीको तेलमा त
दियोमा राख्न पनि सक्दिन
नानीहरु भोकाएका छन्
दनदनी बालेर दाउरा दिपावली गरुँ भने
सानो छ छाप्रो मेरो
जल्न सक्छ
मकैको ढोड बालेर दगुरुँ ?
तिमी ठान्न सक्छौ फेरि
अराजक वा आन्दोलनकारी
सीएफएल बाँलु ?
निरिह लोडसेडिङको तालिका छ भितामा
भन कसरी दिपावली गरुँ ?
सामूहिक दागबती दिएको भर्खरै
मिठूरामहरुलाई
हवल्दार साबहरुलाई
यस्तो बेला
कसरी पड्काउनु खुशीको पटेका ?
कसरी उडाउनु मनको चगां ?
यसरी नै
आकाश धमिलिई रह्यो भने
मुलबाटो भत्किरह्यो भने
राजधानीहरु एकलकाँटे भइरह्यो भने
दिपावली त कुरै छाड
कसले मनाउँछ दशैं
कसले नाच्छ साकेला
देउडा कसले गाउँछ
होली कसले मनाउँछ
जेसुकै म भन्छु
वा जेसुकै तिमी भन -
दिपावली गर्ने रहर त मेरो पनि हो
रहरमात्र हैन अधिकार पनि हो ।
अहिलेलाई माफ गर !
म शोकमा छु
हो म अभावमा छु ।
No comments:
Post a Comment