Saturday, September 12, 2015

बिदाई



सुटुक्कै केहि लिएर जाँदैछु म तिमीबाट
जस्तो कि
रमाउने प्राकृतिक शैली
जीवनका नयाँ रङ्ग

केही पहाडी शब्दचित्र
अनुभूति र केही प्रश्नहरु
अनि रुपान्तरित तिमीप्रतिको मानसिकता

पक्कै केही दिएर पनि जाँदैछु तिमीलाई
जस्तो कि -
थेप्चो नाकको पहिचान
मेरो होचो उमेरको पदछाप
अलिकति मौलिक हाँसो र व्यवहारिक जवाफहरु
अनि म प्रतिको आश्चर्यजनक कौतुहलता

खुलम्खुल्ला
तिमी मप्रति हाँसेकै छौ
म तिमीप्रति हाँसेकै छु
खुशीको कुरा -
हामी एकअर्कालाई सम्झेर रुने छैनौ - बस यति हो

तिमी जे छौ, जो छौ
मेरो यात्राको पहिलो -
चौतारी हौ - जहाँ बिसाए
साथी हौ - जसलाई अँगाले
ओ जुम्ला !
यो उठाएको हात - तिमीलाई सलाम हो
यो उठाएको शिर - तिमीलाई सम्मान हो 
यो हिडेको पाइताला - तिमीलाई सम्झना हो

म जाँदैछु
कुरा यति हो 
हामी एकअर्कालाई सम्झेर कहिल्यै दुख्ने छैनौ - बस !
  


   

                                                                                  
२०७१,०२,१४, जुम्ला

No comments:

Post a Comment