Saturday, September 12, 2015

झ्याल खोल्दा....


केहि लेख्नु छ । र तिमीले भन्यौ केहि लेख । नमान्नु पनि कसरी तिम्रो कुरा । लेख्न बसेको एक घन्टा सात मिनेट भयो ।

झ्याल खोले । पानी परिरहेको छ निरन्तर बिहान देखी नै । कुहिरो पनि हल्का छ । एयरपोर्ट मधुरो देखिन्छ झ्यालबाट । तल सडकमा दुई बालक फुटेको फुटबल तोड्दै तोड्दै हिड्दै छ । निथ्रुक्क भिजेको पनि छ तीनिहरु । उताबाट ट्याक्टर आयो । खेत जस्तै बनाएको छ सडकलाई ट्याक्टरले । बालकहरु घरेलु लघु उधमीको कार्यालयको आँगनको डिलमा उभिए । ट्याक्टर गयो धुँवा उडाउँडै । पहेँलो रङ्गको एउटा कुकुर दगुर्दै आयो । बिजुलिको पोल सुँघियो अनि खुट्टा उचाल्यो तुरुन्तै अगाडी पनि बढीहाल्यो । फापरको साग बोकेर डोकोमा एक जना दिदी आइन् । मेरो घरबेटिले तीन मुठा किनिन् । घर पछडिबाट जोडी भङ्गेरा आयो र सिप विकास कार्यलयको स्याउको रुखमा बस्यो । मोबाइलमा एक युवती हेलो, हेलो भन्दै त्यै सडक हिडिन् । प्याजी रङ्गको छाता ओढेकीले अनुहार देखिन । सुर्य नेपाल लेखिएको टि सर्ट लगाएका २ महिला र १ केटो रुझ्दै त्यै पानीमा हतारमा देखे । स्काइपमा कोही आएको सिग्नलले मेरो आखा मोडियो ल्यापटप तिर ।

, तिमी पो रै छौ । सरी है मैले इग्नोर गरे तिमीलाई अहिले । किनकी मलाई थाहा छ ,तिमी सोध्छौ के लेख्यौ ? अनि कै मैले लेखेकै छैन । लेख्न पनि जान्दछु कि जान्दिन । त्यो पनि थाहा छैन । तर तिमी भन्छ्यौ - लेख । के लेख्छु त्यो पनि थाहा छैन । कसम तिमीले लेख भनेर मात्र लेख्न बसेको तर के को बारेमा के लेखुँ । दोधारमा छु ।

आज साँची प्लेन पो उँछ कि आउन्न हो ? कुहिरो उघ्रेकै छैन । त्यो बालकहरु घर पुगे कि पुगेनन् ? स्कुल गए कि गएनन् ? त्यो ट्याक्टर यै बाटो फर्किन्छ कि कुन बाटो ? त्यो कुकुरले कती ओटा बिजुलीका पोलमा खुट्टा उचाले होला ? अनि मैले किन फापरको साग नकिनेको ? पैसा त थियो म सँग ,हिजोमात्र तलब आको त्यो भङ्गेरा र भङ्गेरी के अझै त्यै स्याउको रुखमा बसिरहेको होला त ? अनि ती युवती को सँग बोलेकी होलिन् ? ब्वाइफ्रेन्ड सँग होली कि ? सुर्य नेपालका ती सदस्यहरु पानीमा किन कता हिडेका रैछन ? ओहो ! म त के के पो सम्झिरा रैछु । हत्तेरी ! कसरी के लेखुँ ? फेरी तिम्रो फोन आउन बेर लाग्दैन ।

उ बजी त हाल्यो मोबाईलमा गुलाम अलि- गाजलु ती ठुला ठुला आँखा”, मेरो रिङ्गटोन । तिम्रै रैछ फोन । माफ गर  मैले फोन काटे । आखिर तिमी त्यै सोध्छौ । अनि मैले कै लेखेकै छैन । म के गरुँ ? बेपतामा, ल लेख्छु भनी हाले । अहिले सास बढेर आयो मेरो ।

बेपत्तामा मैले किन झ्याल खोले ? त्यो एयरपोर्ट्, त्यो बालक, त्यो ट्याक्टर, त्यो सागत्यो जोडी भङ्गेरा, त्यो युवती, त्यो रुख,  त्यो टि सर्ट, त्यो सडक मैले किन देखे होला ? मलाई त लेख्नु पो छ त ! किन मेरो मन यसरी बाहिरको पानी सँग खेलेको होला ? मैले त तिमीलाई कै लेख्छु पो भनेको थिए । तर हेर न के लेखुँ क लेखुँ भैराछ मलाई ।

मलाई झुटा मान्छौ होला है अब । तर, आमा कसम ! मैले ढाँटेको होईन । कै लेख्छु भन्दा भन्दै मलाई त्यो बालकको स्कुल, त्यो कच्ची सडक, त्यो बिजुलीको पोल, त्यो मोबाइलको टावर, त्यो सागको खेत ,त्यो प्राकृतिक स्याउ, अनि त्यो एनजिओको याद आइराछ, मैले बिहान भरी देखेको दृश्यहरु आँखामा नाच्छ । नरिसाउ ल । मैले कै लेखिन, सायद मलाई लेख्नै आएन, म तिमीलाई एकछिनमा फोन गर्छु ल । र म अझै केहि लेख्ने सोचमा चाहिँ छु है ।

महत दाईले खाना खान बोलाउँदै हुनुहुन्छ उता किचेनबाट । अफिस पनि पुग्नुछ फेरि टाइममा नै । अफिसमा म एक्लै हो अचेल । काम धेरै नै छ । तसर्थ मैले कै लेखिन है अहिले । तर लेख्छ जरुर र सायद तिम्रै बारेमा लेख्छु ।
अनि यो झ्याल ? झ्याल खुल्लै होस् अहिले । म यहिँ नै हुनेछु भरै । 

                                                                                                                                २०७०।०५।०१  जुम्ला

No comments:

Post a Comment