Tuesday, September 8, 2015

कविता - निर्वाचन


निर्वाचन आउँछ
र घन्किन्छ सडक, गल्ली अनि दोबाटो
खडा हुन्छ चौक चौकमा रङ्गमन्च

निर्वाचन आउँछ
र फालिन्छ भिताका पूराना पोस्टर
झुण्डिन्छ तोरण र लामा लामा नाराहरु
उनीएर बाँसका भाटामा रङ्गीबिरङ्गी कपडासहित

निर्वाचन आउँछ
र फर्किन्छ माननीयको नजर गाउँ गाउँमा
सुखीरामहरु हलो बिसाउँछन्
फूलमायाहरु डोको बिसाउँछन्
देखाउँछन् रामबहादुरहरु बिजुलीको खम्बा
डोल्माहरु सुनाउँछन् ठाँटेभीरमा चौरी मरेको कथा
माड्सापहरु विधालयका छाना देखाउँछन्
डाक्ट्सापहरु औषधिका बट्टा देखाउँछन्

निर्वाचन आउँछ
र आमाहरु नागरिकता खोज्छन्
च्याङबाहरु प्रतिनिधित्व खोज्छन्
लुङाहरु पहिचान खोज्छन्
सोल्टाहरु इतिहास खोज्छन्
समग्रमा अधिकार खोज्छन् विभेदित हत्केलाहरु

निर्वाचन आउँछ
र नेतृत्व फेरिन्छ
शैली फेरिन्छ
समाचारको स्वरुप फेरिन्छ

निर्वाचन आउँछ
र देखिन्छ उमेर पुगेकाहरुका सर्टिफिकेट
तयार हुन्छ आधारभूत आवश्यकताका मस्यौदा
प्रतिविम्वित हुन्छ देशको असली अनुहार

निर्वाचन आउँछ
र थाहुन्छ साधनश्रोतको उपलब्धता
थाहुन्छ संभावनाको पर्सेन्टेज
थाहुन्छ पावर प्लेको स्थति

निर्वाचन आउँछ
र चिनिन्छ चरित्रहरुको चरित्र
बुझिन्छ आफन्तहरुको मन
खोजिन्छ पराईहरुबीच आफन्त
सोधिन्छ सन्चो बिसन्चो खबरहरु

निर्वाचन आउँछ
र आइरहनु पर्दो रै
कमसेकम
निभ्न लागेका दियोहरुमा थपिदो रै छ आशा
चाउरी परेका अनुहारहरुमा थपिदो रै छ मुस्कान
थाकिसकेका जीवनहरुमा थपिदो रैछ साहस
हो, निर्वाचन आइरहनु पर्दो रै छ

-          जिल्ला निर्वाचन अधिकारी, ओखलढुगां

                                                                                                          निर्वाचन पत्रिका असोज २०७१,निर्वाचन आयोग नेपाल

No comments:

Post a Comment