Saturday, September 19, 2015

दशैंमा


सहर पोखिन्छ एकपटक
साझाबसको छतमा कोचिएर

सहर
तीन बिता लामो सुस्केरा हालेर
केही रात गुलियो निन्द्रा निदाउँछ
विरक्तिएको चोकहरुमा केही दिन
कुनै हतारविना मर्निङ वाक गर्छ
नारायणगोपालको गीत सुन्दै
बिताउँछ केही घण्टा सडक पेटीहरुमा
ठोक्किदैन लर्खरिदै खुट्टासँगै
भेट्दैन अपरिचित लाग्ने अनुहारहरु
कार्बन मिसिएको अक्सिजन पनि निल्दैन
र सुन्दैन रुघाखोकीग्रस्त भाषणहरु पनि
- दशैंमा

गाउँ भरिन्छ एकपटक
भन्ज्याङको चियापसल पखालिदैं

गाउँ
छरिएका खुशीका दाना बटुल्छ
र पुच्छ आशुँ गुन्यूले लुकेर कुनामा
बास बस्न लागेका चराहरुझैं कराउँछ रमाएर
र स्वागत गर्छ साझँलाई बालेर टुकी
बिसाउँछ भारी दुखको सिकुवामा
र पकाउँछ हर्षका रोटी
बिर्सन्छ थकान क्षणभरमै
र भेला गराउँछ परिचित अनुहारहरुलाई
सुनाउँछ र सोध्छ
सन्चो बिसन्चोका कहानीहरु
अनि थाहै नपाई बोक्छ फेरि
कथाहरु विदाइको नयाँदिनमा झुल्किएको यात्रासँगै
- दशैंमा

२०७० आश्विन १५ जुम्ला

No comments:

Post a Comment