पर्खिरहेछु,
आमा आउनेछिन् बोकेर कोदोको पिठो
पकाउनेछिन् खोले
हतपत खाएर गइहाल्नेछु म स्कूल
बाबा आउनेछ बोकेर गम्बुट र ज्याकेट
भुँईमा राख्नै नपाई लगाएर
दगुरिहाल्नेछु सँगीहरु भेट्न म
हो म पर्खिरहेछु
भत्किएको घर अगाडि
सजाएर आँखामा बाआमाको तस्बीर अहिले
म केही सोचिरहेको छैन
धेरै सोच्नुपर्ने कुरै था छैन मलाई
म चाहान्छु-
तातो खान पाइयोस् पेटभरि
जाडोमा न्यानो लाउन पाइयोस्
राति मस्तसँग सुत्न सँकु आमाको काखमा
बाबाको चोर औला समातेर हिड्न सँकु हटिया जाँदा
बस् यति !
तर धेरै भो,
आमा अझै फर्केकी छैन
बाबा कहाँ जानुभको हो त्यो पनि था छैन
बारम्बार,
बाआमा कुरा गरिरहँदा 'सरकार' भन्ने शब्द सुनेको
हो मैले
रेडियोको समाचारमा पनि 'नेपाल सरकार' सुनेको
तल चौकमा ढाका टोपी र कोट लगाउनेहरुले
'हाम्रो सरकार, तिमीहरुको सरकार' भन्दै गरेको
हेड्सरले अफिसमा नयाँ सरकारको चर्चा गरेको पनि
सुनेको छु
आमा त्यै 'सरकार' भेट्न गएकी छिन्
बाबा त्यै 'सरकार' खोज्न गएका हुन् शायद
र लाग्न थालेको छ मलाई
सरकारले मेरी आमालाई चिनेनन्
बाबाले सरकार भेट्नु भएन सायद
तर म पर्खिरहेछु - बाआमा
र याद छ
बाबा भनिरहनु हुन्थ्यो
"तँ हाम्रो भविष्य हो",
"तैँले नै हो हाम्रो सपना पूरा गर्ने"
र त म सोच्न खोज्दैछु अहिले
के होला मेरो भविष्य ?
कसरी पूरा गर्नु होला मैले मेरो बाआमाको सपना ?
हो, म पर्खिरहेछु
ओढेर बाँसको छेकाबारा
ओछ्याएर बाघचाल कोरिएका चप्लेटे ढुगा
र म चाहान्छु - आओस् मेरा बाआमासँग
एउटा नयाँ अनुहार
अनि चिनाओस् मेरा बाआमाले हँसिलो भएर -
"हो, सरकार भनेको यै हो" ।
साँच्ची हो, म सरकार चिन्न चाहान्छु
बस यति !
साँच्ची हो, म सरकार चिन्न चाहान्छु
बस यति !
No comments:
Post a Comment