Monday, September 7, 2015

कविता - आन्दोलनकारी



हामी सधैं उसको ढाड पछाडि
छट्पटिटदै बाँचेको हो -
जस्तो जालमा परेको माछा
जस्तो पोखरीमा डुबेको चल्ला
जस्तो सर्पको मुखमा परेको भ्यागुता

उसको आँखाको अग्लो होचो नजर
घरको कमेरे भितामा
उसकै पाँचऔले रगत छाप
बाजेहरुको छातीमा
निरङ्कुश उसको गम्बुटको डोब
भन्ज्याङमा गाडिएको पैतृक उसैको शिलालेख
- देखेकै हो हामीले ।

पुर्खाहरुलाई वनवास धपाएर
हुटिट्याँउले थामेको उसको इतिहास
स्कूलका किताबी पानाहरुमा
लाचार बहादुरताको उसको कहानी
दिनदिनै समाचारमा उसैको आतङ्क
पश्चिमि लू ले उडाइरहने
घाइते कठपुतली झैं उसको उपस्थिति
- सुनेकै हो हामीले

अटेसमटेस र ग्यासट्राइटिसले भरिएको
उसको पेटमूनि लम्पसार औंशी रात
ढिके नुनसँग साँधेर
उसले बाँडेको दुरगामी सपनाको यथार्थता
शरीर ढाक्न नसकेर तन्काइएको छालाको वैश
उसको सवारीमा घाँटी थिचेर रोकेको सास
- भोगेकै हो हामीले ।

हामीले बाँचेको समयको आहालमा
जे देख्यौं
जे सुन्यौं
जस्तो भोग्यौं
डुबेर चुर्लुम्म
निथ्रुक्क भिजेर
अनुभूत गरेकै हो
हामीले ओगटेको आहालको क्षेत्रफल
हामीले प्रतिस्थापन गरेको पानीको परिमाण
हाम्रै जीवनको तौल रै छ आखिर ।

हो त, यै अनुभूत गरेर
फरफराइरहेका हौं हामीले
पाखुराको झण्डा अहिले
तिघ्राको टेकुवा अड्याएर
भोकाएका घिउ कमिलाको तातीझैं
हाम्फाल्दै नदीमा मिसिएका असारजस्तै
छातीको ढोल बजाएर
हत्केलाको झ्याम्टा पिटेर
गाउँदै भविष्यवाणी
तन्काउँदै बिहानी
निर्माण गरिरहेका हौं - मार्चपासको पर्खाल
घन्काइरहेका हौं - मौनताको संगीत
फैलाइरहेको हौं - परिणामको सन्देश
घचेटेर अक्सिजन
उफारिरहेका हौं बस्तीहरु
ढाकिरहेका हौं सडक

हो, हामी हौं आन्दोलनकारी !
अहिले सम्म तिमी र मबीचको
यै त हो समानता
यसैभित्र फरक यति हो कि,
तिमीलाई अझै डर छ जीवनसँग
मलाई रहर
तिमी अधिनता खोजिरहेछौ
म अधिकार
तिमीलाई चाहिएको छ अवसर
मलाई सामाजिकता
तिमी सर्वस्व माग्छौ
म न्याय
अझै तिमी सिमीतता चाहान्छौ
म स्वतन्त्रता
तिमी पहुँचको कुरा गर्छौ
म पहिचानको
तर हौं हामी आन्दोलनकारी

हो- हो उसैले घोचेर
प्वाल पारेको हो हाम्रो आकाश
सोसेर पसिना उसैले
फटाएको हो हाम्रो धरती
ओढेर त्यै चुहेको आकाश
ओछ्याएर त्यै फाटेको धरती
उसैको मूलढोका ढुकिरहेका हौं हामी अहिले
फरक यति हो कि
तिमीसँग छाता पनि छ
तिमीसँग जुता पनि छ
तर हौं हामी आन्दोलनकारी ।

हामी शिकार थियौं
र हाम्रो आन्दोलन शिकारी विरुद्ध हो
फरक यति हो कि
तिमी नयाँ शिकारी बन्न खोजिरहेको छौ

ओ मेरो आन्दोलनकारी मित्र !
तिमीले याद राख्नु
उसको विरुद्धको हाम्रो आन्दोलन
कतै तिम्रोविरुद्ध नहोस् ।                                
                                               (खोटाङ)

                                    अलग अभियान विशेष श्रृङ्खलामा वाचन
                                          topnepalnews.com मा

No comments:

Post a Comment