मन्दिरमा चढाइएका फूल टिपेर
चुगीं खेलोस् नानीहरु
हिलाम्य भएर उफ्रियोस्
बलेसी, जुठेल्नु र गाई गोठहरुमा
करेसाबारी तिर
लडिबडी गर्दै दलोस् अनुहार भरि
हरियो खोर्सानीका रङ
फुटबल मैदानका बलौटे धुलो टिसर्टमा घसोस्
दगुरोस् पुतलीका पछिपछि चप्पल बिनै
समाउँदै झुण्डियोस् सल्लाका हाँगाहरुमा
र भत्काओस् जुरेलीका गुँड पनि
कैलेकाँही भागोस् बरु नानीहरु
कक्षाकोठाको पछिल्लो झ्यालबाट
च्यातोस् दन्त्यकथाको अन्तिम पेज
र खाओस् खैनी दलिएका माड्साबको चड्कन्
बेलाबेला
हेर्दा हुन्छ नानीहरुले
kटेलिभिजनका कार्टुन पात्रहरु अघाइन्जेल
नगर्दा पनि हुन्छ घोकाइएका होमवर्कहरु
आफ्नै तौलभन्दा गह्रौं किताबी झोला बोकीरहदा
हुन्छ
लथालिगैं बनाउँदा कै हुदैन
छरेर कपडाहरु पुरै कोठाभरि
र कोर्दा हुन्छ भर्खरै पेन्टिङ गरेका घरका
भिताहरुमा
हिमाल, खोला र रुखका किरिङमिरिङ चित्रहरु
सुतिराख्दा हुन्छ नानीहरु
ओछ्यानमै घाम आइन्जेलसम्म
जुझ्दा पनि हुन्छ कलैकाँही एकआपसमा
दिदीले ल्याइदिएका रगींन बेलुन उडाउँदा
उडाउँदै
मिठाइ खानकै लागि ढाँट्दा हुन्छ दाईहरुलाई
र नदिदा हुन्छ चुरोट किन्दा आएको फिर्ता पैसा
नानीहरुलाई जरुरी छैन थाहा हुन
प्रधानमन्त्रीको नाम वा देशको राजधानी
पर्दैन जान्न भूकम्पको रेक्टर स्केल
र रेडियोको मुख्य समाचार
आवश्यक छैन थाहा पाउन
चामलको भाउ र संविधानको धारा संख्या
चाहिदैन नानीहरुलाई
झन्डाको आकार र विधुत प्राधिकरणको फोन नम्बर
नानीहरु उपद्रै हुन्छन् र होस्
नगर भन्दा गर्छन् नानीहरु - गरोस्
गर भन्दा गर्दैनन् नानीहरु - नगरोस्
जिदी, चकचक, बदमासी नानीहरुकै लागि हो
नानीहरु हुन्छन् नै बिन्दास् र हुनैपर्छ
नानीहरु त नानीहरु नै हुन्
आखाँकै नानीजस्तो
धेरै कुरा देख्छन्
र धेरै कुरा नै बिर्सीहाल्छन्
तर नानीहरुले सम्झि रहनुपर्छ सधैं
हेडसरको चोर औंला
र देखाउन सक्नु पर्छ नानीहरुले
उठाएर चोर औंला आफ्नै आमा बाबुलाई
जब म सोध्छु -
"बन्न चाहान्छौ तिमी को जस्तो" ?
- बुइपा - ६, खोटाङ (हाल - ओखलढुगां)
बालदिवस २०७२ ओखलढुगांमा वाचन
No comments:
Post a Comment