…वा भनौ बाचुन्जेल
भीडमा चुडिँएर फालिएको चप्पल म
एस्ट्रेमा खसालिएको बाँकी चुरोटको ठुटो म
वा भनौ
टेकुवा हराएको एउटा भरिया
बाटो बिराएको एउटा बटुवा
वा भनौ म नाम नखुलेको एउटा कालो पदार्थ
म अज्ञात एउटा देशभक्त
जे भनौ
यो देशको नागरिकता नं १९९७
म एउटा निर्णायक भोट
आखिरीमा एउटा उम्मेदवार हुँ म
फगत म सहिदको उम्मेदवार
म सहिदको उम्मेदवार
जो हिँड्दाहिँड्दै
हराउँछु भुँइमान्छेको भीडमा
ठोक्किन्छु गमलामा वा जंगली काँडामा घोचिन्छु
लड्छु खेतको आलीमा चिप्लिएर
वा नयाँ गेष्टहाउसको चौथो तलाबाट खस्छु
मर्छु लडेर नै त्यसरी
वा
यो देश मेरो पनि हो भन्दाभन्दै सकिन्छु
खाएर विषादी च्याउ
वा कुनै सरकारी ग्यास
र तपशिल अनुसार मृतक खातामा दर्ता हुन्छु
मेरो मृत्युशोकमा नेपथ्यबाट
पोखिन्छ आगो
वर्षिन्छ ढुगां
बटुलिन्छ आक्रोश
ओछ्याइन्छ रगत सडकभरि
र म पूर्ण सहिदमा निर्वाचित हुन्छु
ओढाइन्छ ममाथि राष्ट्रिय झण्डा
गुन्गुनाइन्छ सहिद गीत मेरो लागि
लेखिन्छ कविता मेरै प्रसशांस्वरुप
मनाइन्छ सहिद दिवस मेरै सम्झनामा
गरिन्छ एक मिनेटको मौनधारण मेरो आत्माको शान्तिको
लागि
अनि प्रदर्शनीमा राखिन्छ व्यस्त चोकको बीचमा
मेरो शानदार सालिक ठ्याकै तिम्रोजस्तो
पक्कै मेरो नाममा पनि तिम्रोजस्तै
राजमार्गहरु बन्छन् र दगुर्छ विकास बजेट
पार्कहरु बन्छन् र बित्छ हिँउदे विदा
कलेजहरु बन्छन् र घोकाइन्छ अतिवादका सिदान्त
प्रत्येक सहरका आँगनमा बन्छन् सहिदगेट
र स्वागत टक्र्याउँछ सहिदकै नयाँ उम्मेवारहरुलाई
जसरी टक्र्यायो मलाई यो सहरले
म व्यस्त चोकको बीचमै उभिरहेको हुन्छु-तिमीजस्तै
मेरो देब्रे काँधमा बसेर
सुनाउँछ परेवाले यो देशको समाचार
बतासले उडाएर ल्याउँछ चङ्गाझैं
चट्पटेको रगं दलिएको संविधानको केही पाना
र टाँसिन्छ मेरो छातीमा
नामुद मानव अधिकारवादीहरु पहिराउछन्
रङ्गीन कागजी फूलका माला मलाई
खोज्छन् विदेशी पत्रकारहरु मेरो बायोडाटा
प्रोफाइल पिक्चरको लागि सहरिया युवतीहरु
टाँसीन्छन् दुई औंला ठड्याएर मसँग
सरकार, मलाई कैले बाँया बनाएर
कैले दाँया बनाएर
घुमाउँछ आफ्नो स्टेरिङ र पस्छ संसद भवन
म व्यस्त चोकको बीचमै उभिरहेको हुन्छु-तिमीजस्तै
स्वतन्त्रता, राष्ट्रियता, न्याय र शान्ति
गरीबी, अशिक्षा, पहुँच र पहिचान
यी सब नाराहरुको अन्तिम शब्द बनिन्छु म- ठ्याक्कै तिमीजस्तै
जस्तो कि
जिन्दावाद-जिन्दावाद
एक होऔं-एक होऔं
अमर रहुन्-अमर रहुन्
अनि म घन्किरहन्छु
र घन्किदा बारम्बार दोहोरिरहन्छु-तिमीजस्तै
आखिरिमा म सहिदको उम्मेदवार न हुँ
सालिक निर्माणको रेखाचित्र न हुँ
तर मलाई डर लाग्न थालेको छ अचेल
बनाइएपछि म सहिद
ठडिएपछि मेरो सालिक
पक्कै भेट हुन्छ तिमीसँग
ओ गगांलाल !
ओ शुक्रराज
!
तिमी मलाई छातीमा गोलीको प्वाल देखाउँछौ होला
तिमी मलाई खरीको रुख देखाउँछौ होला
र पक्कै यो देशको खबर सोध्छौ होला
त्यो बेला के देखाउनु मैले ?
त्यो बेला के भन्नु मैले ?
सडकको भीडले पेशेको सहिदको सिफारिश पत्र
देखाउनु कि
सिंहदरबारको सूचना पार्टीमा टाँसिएको देशद्रोहीको
सूचना !
विमल स्मृति पुस्तकालय राष्ट्रिय
कविता महोत्सव धरान २०७१ तृतीय र २०७१ मसिंर १६ गते topnepalnews.com मा प्रकाशित
खोटाङ
, ९८४९०७९९७३
No comments:
Post a Comment