देशको चिन्ता गर्नेहरु
कति छन् कति !
यै सोचाईमा
रोक्यो उसले आफ्नो यात्रा
पुगेन आधार शिविरसम्म
चढेन सगरमाथा
हिडेन आन्दोलनको अंश भएर
बजाएन ताली भाषणहरुमा
बनाएन पासपोर्ट
कुनै अमूर्त कविता पनि
लेखेन
सुनेन रेडियो नेपालका
मृत्यू समाचारहरु
गएन अपरिपक्व जवानीसँगै
उच्चमाविभित्र
पढ्नै चाहेन धर्मग्रन्थ उसले
पसेन साँहिलीको भट्टीमा पनि
बुझ्नै चाहेन मार्क्सवाद र
उतरआधुनिकता
भिरेन छातीमा सांगठानिक
परिचय पत्र
उभिएन डमीझैं सिमकार्डको
लाइनमा उ
ढोगेन मध्यकालका ढुङ्गे
आकृतिहरु
सोधेन नयाँ गृहमन्त्रीको परिचय
हेर्नै चाहेन उसले
सिंहदरबारको छानो
बोकेन आफ्नो तौलभन्दा गह्रौ
सपना
देखाएन बायोडाटा व्यापारिक
केन्द्रहरुमा
गरेन गाली वडाध्यक्षहरुलाई
खेलेन हानाहान गर्दै छिमेकीहरुसँगै
क्रिकेट पनि
बेचेन लेमन टि घोलेर रहरहरु
पोखेन कपिपेस्ट आदर्श
सामाजिक सन्जालहरुमा
गाएन पीडाले थल्थलिएका
गीतहरु
उ कसैको प्रश्न बनेन
बनेन कहिल्यै छलफलको विषय
पनि
बन्नै चाहेन कुनै जवाफ
उसलाई त बाह्रै महिना असार
लाग्छ
उ त खेत जोतिरहन्छ सधैं
खनिरहन्छ माटो
पोखिरहन्छ पसिना
उसको नजरमा
देशको चिन्ता गर्नेहरु
कति छन् कति !!!
No comments:
Post a Comment