तिमी स्वयम फूल हौ
यसैकारण फूल उपहार दिने
अभिलाषा राख्दिन म तिमीलाई
आज Feb 14,
दियो उपहार दिन्छु म
तिमी तेल थप्दै जाऊ
र खोज छरपष्टिएका शब्दहरु
अँध्यारा बन्द कोठाबाट
तिमीले नभोगेका जिवन
खेपेको पिडा र संगालेका
उमङगका शब्दहरु खोज
म पुस्तक उपहार दिन्छु
थप्दै जाऊ पुस्तकमा ती
शब्दहरु
र मिलाऊ क्रमिकता अझै
उपहार दिन्छु म सङगीत फेरि
आवाज दिदै जाऊ तिमी निरन्तर
समग्रमा मेरो उपहार गीत हो
उज्यालोका गीत
आऊ वरपिपल चौतारीमा बसौं
अनि तिमी गीत गाऊ
ती गीतहरु – मसँगै
सुन्नेछन् पाखाहरुले
नाच्नेछन् मकैका झ्याङहरु
वतासले बोक्नेछन् र
गर्नेछन् लेकवेशी
बोकेर घाँसदाउरा
झुण्डिनेछन् ओठहरुमा र
गुनगुनाइनेछन् उकाली ओरालीहरुमा
बग्नेछ नदीसँगै र लानेछ
बगाएर चट्टानका फोहोरहरु
दन्किनेछ आगो भएर
भाग्नेछ जाडोहरु
भरिनेछ प्रत्येक खाली पेटमा
र
प्रत्येक पाठशालाबाट
उदाउनेछ
उज्यालाका ती नयाँ गीतहरु
र दगुर्नेछ नसा नसामा
आऊ हामी हेरौं
ती गीतले छुने नयाँ
क्षितिज
र दगुराऔ हाम्रो
पाइताला साझा गन्तव्यतर्फ
ओ मेरो भ्यालेन्टाइन,,,,
हो तिमी फूल हौ
तर फूल झै मात्र नबन
सधैं
बरु तिमी -
दियो बन
पुस्तक बन
सङगीत बन
समग्रमा गीत बन
उज्यालोको गीत !!!!!!!
No comments:
Post a Comment