Monday, October 7, 2019

दशैंको शुभकामना


पढिसकेका छौं र थाहा पाइसकेका छौं हामीले दशैंको इतिहास, दशैंको अवधारणा, दशैंको अर्थ, दशैंको प्रभाव र दशैंको समाजशास्त्र । सदियौं देखि मनाउँदै आएका छौं दशैं । यहाँ म यी सबै कुराको बारेमा लेखिरहेको छैन । म त दशैंको शुभकामनाबारे लेख्दैछु  
सुरुमा दशैको शुभकामना । सबैलाई शुभकामना ।
हो यो सबैलाई भन्ने कुरा जो छ त्यसैको कुरा गर्दैछु । सबै भनेको को ?
सबै भनेको सबै नेपाली हो की सबै हिन्दु धर्मावलम्बीहरु हो ? सबै नेपालीहरुले दशै मनाउँछ भन्ने छ र ? सामान्य कुरा दशैं खासमा हिन्दु धर्मसँग जोडिएको एउटा चाड मानिन्छ । जुन धेरै पहिलेदेखि मनाउँदै आइएको हो तर सबैले मनाइएको छैन । यो कुरा अनोठो पनि हैन । किनकी नेपालमा रहेका विधिन्न धर्म र जाती अनुसारको चाडबाडको बारेमा त हामी अनभिज्ञ कहाँ छौं र !  दशैं हिन्दुकै मात्रै हो कि होइन भन्ने कुरा छुट्टै छलफलको विषय होला । तर जसरी अहिलेसम्म व्याख्या विश्लेषण गरिदै आइएको छ, त्यसले यही कुरा दर्शाएको छ । यसमा अन्यथा लिनु पर्छ भन्ने पनि छैन । दशैंको सम्बन्धमा विभिन्न विद्वानहरुले धेरै तर्क वितर्कहरु गरेका छन । गर्दै छन र अझै गरिरहने छन । किनकी तर्क वितर्कको अन्तिम विन्दु त कैले हुँदैन यसको त भार हुन्छ । र सबै गहकिला तर्क सबैको लागि सत्य नै हुन्छ भन्ने पनि हुँदैन । तसर्थ दशैं सबैले मनाउदैन । कारण खोज्दै जाँदा राजनीतिक, सांस्कृतिक, एतिहासिक, धार्मिक, जातीय धेरै हुन सक्छन । तसर्थ सबैलाई शुभकामना दिने हाम्रो जुन बानी छ नि त्यो अपुरो छ । जबर्जस्ती हामी बानी परेका हौ यसरी सबैलाई दशैंको शुभकामना भन्न ।
हामी छठ, उभौली उधौली, बकरइद, रामजन, ताङनाम चासोक, लोस्हार, चोनाम, सोहराइ, नौवंगी, गौरा जस्ता पर्वहरुमा शुभकामना त भन्दैनौ झन सबै भन्ने कुरा त परको कुरा भैगो । फेरि दशै नमनाउनेलाई शुभकामना दिनु हुदैन भन्ने पनि हैन । तर जसरी दशैको शुभकामना आदानप्रदान गरिन्छ नि त्यसरी नै अन्य पर्वको पनि शुभकामना आदानप्रदान गर्न जरुरी छ भन्ने हो । अनि सबै भित्र त मुस्लिम, क्रिश्चियन, बौद, किरात सबै परे नि हैन र ?
फेरि पनि दशैंको शुभकामना । यो महान पर्व दशैको शुभकामना ।
हो यो महान पर्व भन्ने कुरा जो छ त्यसको पनि कुरा गर्दैछु । महान पर्व भनेको के ? पर्व पनि महान र सानो होला र ?  नेपालका जातजाति भाषा धर्मका बारेमा केही भनिरहन पर्दैन अहिले । माथि पनि उल्लेख गरेको छु र त्यही आधारमा विभिन्न पर्वहरु छन यो पनि थाहा भएकै कुरा हो । प्रत्येक पर्व र चाडका आफ्नै महत्व र कथा कहानीहरु छन । अनि के को आधारमा दशै चाहि महान हुने ? सबैले बुझ्ने कुरा दशै महान मान्नु भनेको अन्य पर्वहरु दशैभन्दा सानो मानिएको हो । तथ्याकंको आधारमा नेपालमा हिन्दु धर्मावलीहरु धेरै भएकै कारणले दशैं महान मानिएको हो भने यो व्याख्या तर्कसंगत हुदैन । पर्वहरुको र्याकिंङ कहीँ पनि हुँदैन र गरिदैन पनि । बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विशेषतायुक्त नेपाल भनेर संविधानमा लेखिएकै छ । संविधानमा नलेखिए पनि हामी त्यै हौं । संविधानमा त अझ केके र कति कति कुरा लेखिएको छ-छ । अनि व्याख्या विश्लेषण गर्ने भन्दैमा कुनै पर्वलाई महान कुनैलाई कै न कै भन्न मिल्छ र ? दशैंलाई महान मानिरहदा तिहार, छठ, गाइजात्रा, लोसार, माघी, चासोक, होली, तीज, साकेला, जितिया चाहिँ सानो पर्व मानिएन र ? यसको अर्थ दशै बाहेकका अन्य चाडहरुसँग सम्बन्धित समूदायप्रति असमान व्यवहार देखिएन र ? हो तसर्थ दशैंमात्र महान हैन अरु पनि महान नै हुन ।
मेरो कुरा गर्ने हो भने म आदिवासी मुलको हुँ । म त साकेला उभौली उधौलि मनाउँछु तथापि म दशै पनि मनाउँछु तर मेरा धेरै आफन्तहरु दशै मनाउँदैनन । अब मैले सबैलाई यो महान पर्व दशैको शुभकामना भन्दै हिड्दा मेरा दशै नमनाउने आफन्तलाई अलि पाच्य हुँदैन कि भन्ने हो र यथार्थता पनि । इतिहासको विभिन्न कालखण्डमा भएका विभिन्न सांस्कृतिक विभेदका घटनाहरुको अध्ययन अनुसन्धानले अन्य पर्व र चाडबाडलाई हिन्दुकरण गर्यो भन्ने जुन पीडाबोध भएको छ त्यसकारण पनि दशैं सबैले नमनाएको हुन सक्छ । र पाच्य यो अवस्थामा हुन्छ जतिखेर सबै किसिमका पर्वहरुलाई राज्यले समतामूलक तथा सम्मानजनक ढगंले मनाउने व्यवहारिक र कानुनी वातावरण सिर्जना गर्छ ।
अन्तिममा दशैं मनाउनेहरुलाई दशैंको शुभकामना ।
2076.06.20

1 comment:

  1. https://www.nayapage.com/archives/165156?fbclid=IwAR17nTGqcGQJNh-6N4N-03JAPd2qcg6l-AwaD6CmCL0jGfGgU0buNB2brFs

    ReplyDelete