Tuesday, September 24, 2019

किसान





देशको चिन्ता गर्नेहरु
कति छन् कति !

यै सोचाईमा
रोक्यो उसले आफ्नो यात्रा
पुगेन आधार शिविरसम्म
चढेन सगरमाथा
हिडेन आन्दोलनको अंश भएर
बजाएन ताली भाषणहरुमा
बनाएन पासपोर्ट
कुनै अमूर्त कविता पनि लेखेन
सुनेन रेडियो नेपालका मृत्यू समाचारहरु
गएन अपरिपक्व जवानीसँगै उच्चमाविभित्र
पढ्नै चाहेन धर्मग्रन्थ उसले
पसेन साँहिलीको भट्टीमा पनि
बुझ्नै चाहेन मार्क्सवाद र उतरआधुनिकता
भिरेन छातीमा सांगठानिक परिचय पत्र
उभिएन डमीझैं सिमकार्डको लाइनमा उ
ढोगेन मध्यकालका ढुङ्गे आकृतिहरु
सोधेन नयाँ गृहमन्त्रीको परिचय
हेर्नै चाहेन उसले सिंहदरबारको छानो
बोकेन आफ्नो तौलभन्दा गह्रौ सपना
देखाएन बायोडाटा व्यापारिक केन्द्रहरुमा
गरेन गाली वडाध्यक्षहरुलाई
खेलेन हानाहान गर्दै छिमेकीहरुसँगै क्रिकेट पनि
बेचेन लेमन टि घोलेर रहरहरु
पोखेन कपिपेस्ट आदर्श सामाजिक सन्जालहरुमा
गाएन पीडाले थल्थलिएका गीतहरु

उ कसैको प्रश्न बनेन
बनेन कहिल्यै छलफलको विषय पनि
बन्नै चाहेन कुनै जवाफ

उसलाई त बाह्रै महिना असार लाग्छ
उ त खेत जोतिरहन्छ सधैं
खनिरहन्छ माटो
पोखिरहन्छ पसिना
उसको नजरमा
देशको चिन्ता गर्नेहरु
कति छन् कति !!!

Wednesday, September 18, 2019

रहर




रहर चाहिँ छ
मान्छेहरुमा
की घन्टाघर उभिने
की शिरिष फुल्ने
तर
खै कसले नापेको छ र -
घण्टाघरको जराको लम्वाइ ?
शिरिषको सोन्दर्यताको क्षेत्रफल ?

दैनिक सयौ पटक
दगुर्छन सयौं चप्पल जुत्ता
घण्टाघर र शिरिषको बिच सडकमै
बेवास्तामा छोडेर जान्छ
घण्टाघरको आवाज तीनीहरु
कुल्चेर जान्छ बरु
शिरिषको फूल
खै कसलाई फुर्सद छ र यहाँ-
अडिएर घण्टाघर हेर्ने ?
शिरिषलाई हत्केलामा बटुल्ने ?
मान्छेहरु
आफुले आफैलाई नियाल्नै भ्याउदैन
आफुले आफैलाई सम्हाल्नै भ्याउदैन

तर,
रहर चाहिँ छ
मान्छेहरुमा
शिर ठाडो पारेर बाँच्ने घन्टाघर झैं
सुन्दरता बाँडेर बाँच्ने शिरिष फुलझैं

                                     2069/8/14, ktm

ओ मेरो भ्यालेन्टाइन




तिमी स्वयम फूल हौ
यसैकारण फूल उपहार दिने
अभिलाषा राख्दिन म तिमीलाई

आज Feb 14,
दियो उपहार दिन्छु म
तिमी तेल थप्दै जाऊ
र खोज छरपष्टिएका शब्दहरु
अँध्यारा बन्द कोठाबाट
तिमीले नभोगेका जिवन
खेपेको पिडा र संगालेका उमङगका शब्दहरु खोज
म पुस्तक उपहार दिन्छु
थप्दै जाऊ पुस्तकमा ती शब्दहरु
र मिलाऊ क्रमिकता अझै
उपहार दिन्छु म सङगीत फेरि
आवाज दिदै जाऊ तिमी निरन्तर
समग्रमा मेरो उपहार गीत हो
उज्यालोका गीत

आऊ वरपिपल चौतारीमा बसौं
अनि तिमी गीत गाऊ
ती गीतहरु मसँगै
सुन्नेछन् पाखाहरुले
नाच्नेछन् मकैका झ्याङहरु
वतासले बोक्नेछन् र गर्नेछन् लेकवेशी
बोकेर घाँसदाउरा
झुण्डिनेछन् ओठहरुमा र गुनगुनाइनेछन् उकाली ओरालीहरुमा
बग्नेछ नदीसँगै र लानेछ बगाएर चट्टानका फोहोरहरु
दन्किनेछ आगो भएर
भाग्नेछ जाडोहरु

भरिनेछ प्रत्येक खाली पेटमा र
प्रत्येक पाठशालाबाट उदाउनेछ
उज्यालाका ती नयाँ गीतहरु
र दगुर्नेछ नसा नसामा
आऊ हामी हेरौं 
ती गीतले छुने नयाँ क्षितिज
र दगुरा‌औ हाम्रो पाइताला साझा गन्तव्यतर्फ

ओ मेरो भ्यालेन्टाइन,,,,
हो तिमी फूल हौ
तर फूल झै मात्र नबन सधैं
बरु तिमी -
दियो बन
पुस्तक बन
सङगीत बन
समग्रमा गीत बन
उज्यालोको गीत !!!!!!!

मुलबाटो




अझै पनि त्यस्ता मूलबाटोहरु जिउँदै भेटिन्छन्
जहाँ श्रीमानको नाम पुकार्दा
अनुहारमा रातो गुराँस फुल्छ
जहाँ आफ्नै नाम सोध्दा
हत्केलाको कुनाकुनाबाट
दन्तेलहरको अन्नपूर्ण मुस्कुराउँछ

त्यो निर्दोष बादल गन्तव्यको खोजीमा
त्यो अपरिभाषित चरी यात्राको क्रममा
सुख्खा बताससँगै उड्छ
त्यै मूलबाटोको काँधकाँधमा
पाखाबारीको धुपिसल्लो खाँबो नाघ्दै
खोलाहरुको दियार साङ्गो टेक्दै
गाउँले छातीहरुको भित्ता समात्दै
अझै पनि हाँसीरहेकै भेटिन्छन्
कालो फुस्रो अधवैंशे जवानीसँगै
त्यो सुदुर कर्नालिको मूलबाटो
जहाँबाट राजमार्गको दुरी नापिएकै छैन
जहाँ आधुनिकताको पाठशाला
उदघाटन नै भएको छैन
जहाँका गाँउखाने कथाहरुको उतर खोजिएकै छैन

त्यै मूलबाटोमा
खेल्छ बयली, युवतीहरुसँग
र सुसेल्छ, प्रेमानुभुतिका तरङग
खडेरीका खेत बन्छ ओठ
तापनि गुनगुनाउँछ सुन्दरताको उमङग
गहुँका थाले रोटी चपाएर हुर्केका उमेरहरु
निर्धक्क कुरा गर्छन परदेशीहरुसँग
राख्दैनन कुनै प्रश्नवाचक चिन्ह
बरु फकाउछ आफ्नै किश्वरी
आमाहरुलाई प्रसववेदना कम गराउन
र झल्काउँछ पहिचान मर्काएर कम्मर देउडासँगै
एतिहासिकता बितरण गर्छ-
ढुङ्गा, माटो र काठ



सरल स्वागत पस्कन्छ बर्खायाम
र त्यै मूलबाटोमा गुडुल्किएर
पुग्छन सयौं नानीहरु स्वर्गको आरोहणमा

त्यो मूलबाटो
सम्झदै बचपनका हिलाम्मे मध्यान्न
जिस्कदै भुइँकाफल र चुथ्रोका काडासँग
ओढेर हिउको पातलो बर्कि,
बोकिरहन्छ अनगिन्ति पाइताला
रुमल्लिदै प्राकृतिक स्वादमा
भेट्दै अलिखित जीन्दगीका टुक्राहरु
बिसाउँदै दाँते ओखरका रुखमूनि
बाँचीरहन्छ यात्राकै लागि
जहाँ हरेक वर्षको आषाढ हिड्छ
घामको पहिलो किरण हिड्छ्
नसकी नसकी स्यउका बेर्ना हिड्छ
सिङ्गान पुच्दै कर्नालिको भविष्य हिड्छ्
अलिकति यार्सागुम्बा हिड्छ
केही समय कठ्यङ्ग्रिदो जाडो हिड्छ
अनी धेरै समय दुर्गमताको समाचार हिड्छ.....

मेरो प्रिय सरकार !
तिमी कैले हिड्छौ त्यो मुलबाटो ?


                                     2070/03/21, jumla