ध्यान दाई हातमा सेतो टिका लिएर बोल्नु भो – “ल तिमीहरुमध्ये को हो सबैभन्दा जेठो ?” सक्सेसले हात उठाउनु भो । गर्विलो मुस्कुराउनु भो । लहरै बस्यौं हामी - सक्सेस, म, सन्तोस, कान्छा नवीन र शान्ति । ठट्यौली पाराले निकै गम्भीर र फरकफरक आशीर्वाद दिदै दाईले टिका लगाई दिनुभो । विमला भाउजुले चिठिको खाम तयार गर्नुभा रैछ । पायौं । सेतो टिका लगायौं सन्तोस र कान्छाले बाहेक हामी बाँकीले । किन सेतो टिका यसको बहस गर्ने थलो थिएन यो र गरेनौं पनि ।
पार्वती भाउजु किचनमा व्यस्त हुनुहुन्थ्यो ।
आउनुभो । फोटो खिच्दिनुभो ।
दशैंको टिका गतसाल पनि मैले ध्यान दाईकैमा लगाएँ
। ध्यान दाईको आमा आउनुभको थियो । उहाँले लगाइ दिनुभाथ्यो ।
डबल ब्ल्याकको विर्को विस्तारै खोल्नुभयो ध्यान
दाईले । ५ ओटा सिसाको गिलासमा अलिअलि खन्याउनु भो । करिब-करिब ४० ml जति ।
दुई वटा टेबललाई जोडेर एउटै बनायौं । ९ जना बसेका
छौ टेबलको चारैतिर । टेबलको बीचमा छन – त्यै आधा भरिएको डबल
ब्ल्याक, शान्ताक्रुज वाइन, र केही
प्लेटहरु । ती प्लेटमा छन् मेथि मसला तैरिरहेको माछाको सुप, बोइल गरिएको हरियो साग, आलु र मुला मिसाइ बनाइएको तीलको अचार भुटेर
खर्याइएको पोर्क, । ठूलो प्लेटमा भात । एउटा प्लेटमा गाँजर र
काँक्रको गोलो गोलो सलाद । टिमुरको अचारको बट्टा र खाली प्लेटहरु पनि छन् । सानो
काठको बाकसमा काँटा चम्चा र चपस्टिक अनि अर्को चारपाटे
सानो बट्टामा पेपर पनि संगै छ ।
“खम्बे” – एउटै आवाज निस्क्यो सबैको मुखबाट र ती मुखहरुमा
पस्यो डबल ब्ल्याक र क्रुज वाइन । बिस्तारै सकिन
थाल्यो प्लेटका परिकारहरु । भरिदै र रितिदै गयो गिलास पनि । ध्यान दाईको करमा परेर
मैले नि टेस्ट गरे
- चुस्स । “मीठो त छैन हौ दाई” - मैले भने । ध्यान दाईले ठूलो आँखा बनाउँदै ठूलै
स्वरमा भन्नुभो - “मीठोको लागि खाने होइन नि हाकिम साप” सबै गललललल हाँसे ।
भातको प्लेट पनि रितियो । टिमुरको अचारले पसिनाको
दाना फुटायो र बग्यो निधारको छेउछेउबाट । गाला रनक्क रन्क्यो ।
खादै गर्दा रमाइलो किस्साहरु निस्किए । ध्यान
दाइले आफना कलेजका दिनमा गरेका उटपट्याङहरु सुनाउँदै भन्नु भो – “म त खासमा मान्छे उटपट्याङ गर्ने खालको नै थिएँ
नि ।” हामीले आआफ्ना कुराहरु गर्यौं । कैलेकाहीँ पालो
मिचीमिची बोल्यौं । कैलेकाही आवाजको साइज अलि ठूलो पनि बन्यो । दशैं हो चल्छ यतिको
नि भन्यौं ।
कता कताबाट कविताको कुरा निस्कियो । हरिभक्त
कटुवालको कविता, कुन्ता शर्माको कविता, मन्जुलको कविताको बारेमा चर्चा भो । मैले फेसबुकमा
राखेको कविता सिरिजको चर्चा गर्यौं । विजय मल्ल, जसराज
किराती, विप्लव ढकाल, मनु मन्जिलको
कविताको कुरा भो ।
धेरै कुरा ध्यान दाईले सुरु गर्ने अनि त्यसमाथि
हामी आफ्नो कुरा अलिलि राख्ने । बीचबीचमा डबल ब्ल्याक स्वाट पार्नुहुन्छ ध्यान दाई । हामी ध्यान दाईलाई पछ्याउँछौं ।
ध्यान दाई कविता नलेखे पनि कवितामा निकै चासो
राख्नुहुन्छ । विप्लव ढकालको गाउँले । राजनीतिक विचार र बहसमा सक्रिय । पहिले अजम्बर
काङमाङको कविता र राजनीतिक क्रियाकलापबाट प्रभावित रे । कोरियाको सामाजिक
क्षेत्रमा जहिल्यै अगाडि काम गर्ने । अहिले उहाँ होटल व्यवसायी ।
कुराकै क्रममा सन्तोस सोध्छ – “अनिल सर विपी कोइरालाले आफ्नो किताबहरु सुम्निमा, हिटलर र यहुदी, तीन घुम्ती, नरेन्द्र दाई जेलमै बसेर लेखेको हो ?” सन्तोस इपीएसबाट ७ वर्ष अघि कोरिया प्रवेश गरेको नुवाकोटे राई । तर पुर्वेली राईभन्दा केही फरक वर्णको । नेपाली र अग्रेंजी उपन्यासमा चासो तर कवितामा चासो नराख्ने । अहिले
HD Mobile को साहु ।यसै बीच अलि विस्तारै निकै संयम भएर नवनवीन भन्छ – “मलाई त त्यो पल्पसा मरेको चै पटक्कै मन परेन । पुरै फिल्मी लाग्यो ।“ फेरि थप्नुहुन्छ – “तर अस्ति अनिल सरले दिनु भको जेबी दर्लामीको ‘नुरी’ले चाहिँ खुब मन छोयो । मैले त त्यो लेखकलाई मेसेन्जरमा बधाई दिए नि सर्च गरेर ।” नवनवीन चै कथा र उपन्यास पढ्न रुचाउने । प्रकाश कोविदको कथाहरु निकै पढेका । कवितामा अलि अलि झुकाव तर नलेख्ने ।
सुन्तलाको बोक्रा छोडाउँदै सन्तोस भन्छ – “म त सरुभक्तको किताब नै बुझ्दिन हौ । पागलवस्ती
मैले धेरै बुझ्नै सकिन अनिल सर ।”
ध्यान दाई बीचमा बोल्नुहुन्छ – “ह्या मुला ! त्यो पुर्ण कल्पनामा
लेखेको किताब पढ्ने होइन क्या । अनि नि हाकिम साहेब, म चै
खगेन्द्र संग्रौलाको कुरै बुझ्न छाडे । कति साह्रो नेगेटिभ क्या भन्या !”
छेउबाट सक्सेस भन्छ – “म त लामो किताब नै पढ्दिन । पढेर वीचमा पुग्दा
सुरुको कुरा नै बिर्सी हालिन्छ ।” सक्सेस सर चाहिँ कविता
र साहित्यमा खासै रुचि नराख्ने तर सामाजिक र राजनीतिक कुरामा चाहि तार्किक कुरा
गर्ने । बीचबीचमा कुरा मोड्न सहयोग गर्ने ।
कान्छा केही बोलेन । खम्बेमा चाहिँ सहयोग गर्ने ।
सन्तोसको कान्छा भाई भकोले सबैको कान्छा ।
शान्ति कोठा गइन । भाउजुहरु किचेनतिर सफा गरेर
पनि रुम तिर निस्किनुभो ।
हामी कविता, कवि, Facebook status र कमेन्टहरुको चर्चा गर्न थाल्यौं ।

दाँत कोट्याउँदै ध्यान दाई भन्नुहुन्छ – “फेसबुकमा जथाभावी कमेन्ट गरेर झोकाँझोक गर्ने
कुरा मलाई चाहि मन पर्दैन । विचार त राख्न पाइन्छ तर अलि सभ्य भाषामा राख्नु पर्यो
नि !”
सक्सेस नरम भाषामा भन्नुहुन्छ – “हो त्यै भएर म चै धेरै कमेन्ट नै गर्दिन ।” अनि हाँस्नुहुन्छ – “हाहा” ।
ध्यान दाई उठेर जिउ तन्काउनुहुन्छ । कान्छा
मोबाइल चलाएर हाम्रो कुरा सुनिरहन्छ । सन्तोस र सक्सेस चियर्स गर्छ । नवनवीन चाहिँ
कै नपिउने । तातोपानी चियर्स गर्छ ।
म त्यै अघिको प्याकलाई खम्बे (चियर्स) जिब्रोमा छुवाउँदै राख्छु । ध्यान दाई कुर्सी सारेर बस्दै फेरि
भन्नुहुन्छ – “अनि हाकिम साब तपाईले पुराना कविताहरु फेसबुकमा
राखेर राम्रो गर्नु भाछ । कुन्ता शर्माले त हामीलाई पढाको हो नि ।” सन्तोस यसैमा थप्छ – “हो धेरैले ती पुराना काविताहरु पढेका छैनन नि ।”
यस्तै क्रममा Vladimir Nabokov को लोलिता, Maxim Gorky को आमा, Leo Tolstoy को War and
Peace, अर्नेस्ट
हेमिग्वेंको The old Man In The Sea को विषयवस्तु र कथाको बारेमा करिब ३०।३५ मिनेट
जति चर्चा भयो ।
यसैबीच नवनवीन प्वाक्क भन्नुहुन्छ – “अनिल सरको त काम नै
पढ्ने हो । अहिले नि पढ्नै आउनुभको । फेरि घरमा साहित्यिक माहोल पनि ।” मैले भने – “अरु काम जस्तै हो पढ्नु
पनि तर माहोल र इच्छा चाहिँ हुनुपर्छ ।”
११ बजेछ । करिब ४ घण्टा यसरी नै बितेछ । डबल ब्ल्याकको
वोतल पनि रितियो । सुन्तलाको बोक्रा टेबलको एकछेउमा थुप्रो भयो ।
सक्सेस जुरुक्कै उठ्यो । हातमा गिलास उचाल्यो ।
अलि ठूलो स्वरमा बोल्यो –
“लु मेरो त भोलि ड्युटि छ । मलाई ढिलो हुने
भो । अब अन्तिम खम्बे गरौं ।” र गिलास ठोक्कियो ।
बाहिर निस्केको चिसो बढेछ । पेन्टको गोजीमा हात
राख्दै सन्तोस भन्छ – “अनिल सर मलाई केही राम्रा किताब रेफर गर्नुस त ।” मैले भने – “तपाई त व्यवसायी हो Rich Dad Poor Dad पढ्नुस । अब साहित्यिक नै पढ्ने हो भने कथा कविता उपन्यास के पढ्ने म भनिहाल्छु नि ।” ध्यान दाई भन्न्हुन्छ – “ह्या ! यसले पढ्नै
भ्याउँदैन अब । यसले पढे मोबाइल कसले बेच्छ ?”
हामी हाँस्यौं ।
यसरी बित्यो दशैंको दिन । परदेशमा दिनभरि आआफ्नो
काममा र बेलुका टिका लगाइयो । प्रसगंवस, कविता र कितावको कुरा
जसोतसो लामो भो । मज्जा भो ।
- - २०७७
कातिक १० गते (Oct 26,
2020), सौल - दक्षिण कोरिया
This comment has been removed by the author.
ReplyDeleteThis comment has been removed by the author.
ReplyDeleteThis comment has been removed by the author.
ReplyDeleteतपाईं साहित्यकार हरु यस्तै हुनुहुने क्या, सामान्य कुरालाई पनि बर्णन गरि गरि गम्भीर बनाईदिनु हुने, हिजोको बोली यति रसिलो थियो भन्ने बल्ला बुझेँ हाकिम साब ! बधाई छ हामिलाई र दशै शुभकामना चाहिँ फेरि पनि तपाईं र सबैलाई !🙏
ReplyDeleteपढ्नु भो । खुशि लाग्यो । हाम्रो दशैं सम्झना हो यो । जे भको हो त्यसलाई संग्रह गर्ने जमर्को मात्र हो ।
ReplyDeleteThis comment has been removed by the author.
ReplyDelete