मान्न सकिन्छ -
घर फर्किनेहरुको आँखामा
खुशीका बसन्त फुलिरहेका हुन्छन्
मान्न सकिन्छ -
परदेश वा सहर वा कम्पनी
खेत, स्कूल, जंगल र गोठालाबाट
फर्किनेहरुको
चाहे झोला रितै किन नहोस
तर आखाँमा खुशीका पोकाहरु सजिएका हुन्छन
मान्न सकिन्छ -
भोक, रोग वा शोकले थलिएका
किन नहोस
एक्लोपनले थिचिएका
असफलताले लखेटिएका
सयौं पीडाले घेरिएका किन नहोस
तर घर फर्किनेहरुको आँखामा
खुशीका बिहानी नाचीरहेका हुन्छन्
घर छोड्नेहरु नै हुन
घर फर्किनेहरु
चाहे बाध्यता वा रहर वा आवश्यकताले किन नहोस
जतिकै टाढा पुगे पनि घर छोड्नेहरु
एक दिन घर फर्कन चाहान्छन्
र घर फर्किन्छन्
घर फर्किनु
खुशी प्राप्तिको यात्रा हो
यात्राको विश्राम पनि हो
नयाँ यात्राको सुरुवात पनि हो
यात्राको समीक्षा पनि हो
घर फर्किनु -
एउटा उदेश्य हो
सपनाको प्राप्ति पनि हो
सपना निर्माणको आधार पनि हो
घर फर्किनु
समस्याको पहिचान हो
समाधानको उतम विकल्प पनि हो
विकल्प सिर्जनामा योगदान पनि हो
यसर्थ आज यहाँ घर फर्किनेहरुको भीड छ
जो जहाँबाट जसरी भए पनि घर फर्किरहेका छन्
हतारमा छन उनीहरु
अतालिएका छन्
र आज घर फर्किनेहरुको आँखामा
डर जस्तो भयानक रेखाचित्र देखिन्छ
जसको बक्ररेखामा गन्तव्यहिन लाग्दैछ समय
निष्कर्षहीन आत्मालापको परिदृश्य देखिन्छ
जसको छाँयामा आशाको बेर्नाहरु छोपिदै गएको लाग्छ
घर फर्किनेहरु अलपत्रमा छन्
बाटैभरि पहिरो टेकिरहेका छन
काँडेतार छन घुम्तीहरुमा
झोलुगें पुलहरु चुडिँएका छन्
सडकमा स्पीड ब्रेकरहरु उचालिएका छन्
हेर्दा हेर्दै घर फर्किनेहरुको आँखाको रङ रातो
हुँदैछ
प्रश्नै प्रश्न र आक्रोशको चकमकले
बल्ल लागेको छ आगो
जल्न लागेको छ घर फर्किरहेकाहरुको सपना
आगो मानिसको पहिलो आविष्कार
उज्यालोको प्रतिविम्ब
ताप, राप र प्रकाशको
समिश्रण
आँखामा बोकेर त्यै आगो
घर फर्किनेहरु
हिडिंरहेका छन् दिन अनि रात रातभर
र खोजीरहेका छन् अर्को विकल्प
हुनुपर्ने त
घर फर्किनेहरुको आँखामा
खुशीको कोपिला नै हो
बेवास्ता, विभेद र अपमानको
रिससँगै
निराशा र शून्यताको आक्रोशसँगै
आगो फुल्न थालेको छ आँखामा अहिले
घर फर्किनेहरुले
अगुल्ठो, टुकी र राकोँ
पहिल्यै देखि बालेको हो
अब मसाल बाल्न खोजीरहेझैं देखिन्छ
डढेलो लगाउन
खोजीरहेझैं देखिन्छ
के घर फर्किरहेकाहरुसँग डराउनु पर्दैन र कोही?
२०७७।०३।१८ कोरिया
No comments:
Post a Comment