म, हो यहीँ पर्खिरहेको हुन्छु ।
तिमी पसिनै पसिना भएर आ’की हुन्छ्यौ
तिम्रो थुम्से टेकाउन
म गोडालाई टेकुवा बनाइदिन्छु
तायाचुङ डाँडामा
सिङ्गौरी खेल्दै आको चिसो बतास
बटुलेर फाटेको ढाका टोपीमा म
पोखिदिन्छु तिम्रो कपाल, घाँटी र गलामा
थुन्सेबाट
तिमी झिक्नु फिपी उघारेर
फापरको सुख्खा रोटी
फिलिङगेको धुले अचार
र तीनपानेले भरिएको कठुवा
ढुङ्ग्रेबाँसको हाँगामा बसेर
गीत गाउलान् जुरेलीहरु
बाघचाल कोरिएको ढुङ्गा नजिकै
उफ्रीएर छेपारोले उपस्थितिको सकेंत देलान्
कुहीरो आउला र हामीलाई बेशरम छोएर जाला
पानी पर्ला असिनासहित
हामी घुम ओढौंला
फेरि घाम लाग्ला टन्टलापुर
त्यै चौतारीको पिपलको छहारी बनाउँला
म चोया काढ्न थाल्छु
मेरो कर्द र हातको चाल हेर तिमी
म पुलुक्क हेर्छु तिम्रो आँखामा
त्यै आआफ्नो हेराइमा
हामी बाँच्ने आधार खोजौंला
म फूलको कुरा गर्छु
तिमी माटोको गर्नु
म सपनाको गर्छु
तिमी कर्मको कुरा गर्नु
म सिउरीदिन्छु
लिम्चिङबुङ तिम्रो चुल्ठोमा
मेरो देब्रे छातीमा
झुण्ड्याइदिनु विनायोको झुप्पा तिमी
समातेर हत्केला आपसमा
उठौला मौन वाचासहित
वारपार होला त्यै मौन स्पर्शमा
प्रेमका तरङ्ग
बढ्ला मुटुको ढोलको आवाज हाम्रो
र हामी जिवनको अनुभूत गरौला
ओ मेरी खुशे !
ए मेरी भ्यालेन्टाइन !
एउटा साझा यात्रा गर्नुछ हामीलाई
छिट्टै आउनु है तिमी
म, हो यै चौतारीमा पर्खिरहन्छु ।
-
खोटाङ
शुक्रबार साप्ताहिक २०७१ फागुन
१
No comments:
Post a Comment