Wednesday, May 13, 2015

म मरेको छैन

(पहिरो र भूकम्पमा पुरिएकाहरुप्रति समर्पित, हार्दिक श्रदान्जलीसहित)
-          अनिल किराती
पहाड झरेको छ ममाथि
घर भत्किएको छ
ढुङ्गा माटोले पुरिएको छु म
छुट्टिन लागेको छ शरीरबाट
हात, खुट्टा र टाउको
घोचिएको छ काठका चोइटाले
कोखा, तिघ्रा र कम्मर
नङको फेद, गीजा र कुर्कुच्चाबाट
बगेको छ रगत     
गाँठो परेको छ श्वासनली
र रोकिएको छ सास
कालो पर्दा खसेको छ आँखामा
दलिएको छ अनुहारमा फुस्रो रङ
तर म अझै मरेको छैन

मैले आय्या पनि भनिन
र दुखेन यै पटक मलाई फेरि
अर्थात दुखेको अनुभूत नै गर्न पाइन
मैले जान्छु है भनिन
र भन्न पनि भ्याइन
अर्थात म यही छु
नजिकै छु
म अझै गएको छैन कतै

साँच्ची भन्नुपर्दा
तिमीले मलाई कैले देखेनौ
मैले कति बोलाएको हो कैले सुनेनौ
मैले भेट्न चाँहे तिमीले कैले चाहेनौ
भो अब नखन मलाई
मेरो बारेमा नसोध
मलाई नखोज
म हराएको छैन
मलाई चाहिएन राहत
तिमि नै राख
नदेउ मलाई सहानुभूति
चाहिएन श्रदान्जली
म मरेको छैन   

म जहाँ छु ठीक छु
तर -
के तिमी जहाँ छौ ठीक छौ ?
के तिमीले जे गरिरहेका छौ ठीक गरिरहेका छौ ?
के तिमी बाँचीरहेको प्रमाण छ तिमीसँग ?
दुङद्ङ्ती किन गन्हाइरहेको तिमी ?
बेवारिसे पुरिएको त म हुँ ।

सरकारजी !
होशियार
बर्खायाम अझै बाँकी छ
थामिएको छैन सुनकोशी
चर्किएको घरभित्र
टाङटाङ टुङटुङ ठोक्किएर 
खाली प्लेटहरु
आइरहेको छ पराकम्पन
र बढ्दैछ भयवहता ।

esamata.com, topnepalnews.com, sherpakhabar.com र alagabhiyan.com मा प्रकाशित

No comments:

Post a Comment