Friday, May 29, 2015

धरहरा


                    
   
धरहरा,
धरहरा नभएर बरु
बिजुलीको खम्बा भएको भए
फेदैदेखि
फनफनी बेहेरिन्थ्यो होला तार
लम्ब्याइन्थ्यो होला वेभलेन्थ
पक्कै झुण्डयाइन्थ्यो लोडसेडिङको मखुन्डो
नारायणहिटी संग्रहालयको भितामा ।

धरहरालाई,
धरहरा नभनेर बरु
सुरक्षागार्ड भनेको भए
भिराइन्थ्यो होला देब्रे कम्मरमा खुकुरी
अर्को तिर थ्री नट थ्री
जाँच्थ्यो होला परिचय पत्र
पक्कै जोगिन्थ्यो यै सहरमा
दिनदहाडै लुटिइएको मान्छेत्व ।

धरहरा,
धरहराको रुपमा नउभ्याई बरु
मानेको भए पिपल
पोखिन्थ्यो होला शितलता
दगुर्थ्यो होला सहरभरि हरियाली
धुपपूजाको वास्ना ओढ्थ्यो होला सहरले
पक्कै भाग्थ्यो कार्बनडाइअक्साइडको जुलुस
सडकमै छोडेर चुडिँएको चप्पलहरु ।

अझ भर्खर
सुनिएको छ
नवगठित सरकारले
ल्याउदैछ रे
देशैभरि धरहरा बनाउने योजना

ओहो ! लु चाहिदैन त्यस्तो धरहरा
जहाँ एउटा खाट अट्दैन
कसरी कट्छ रात
बरु खरले छाएको मतान बनाओस्
पातीले बारेको गोठ बनाओस् ।

भोहेर्नु छैन अब
धरहराको टाउकोमा चढेर
रङ्गीविरङ्गी होर्डिङबोर्डहरु
जसले एउटा भोको पेट भर्न सक्दैन
कसरी बित्छ दिन
बरु आरुको बोटहरु उभ्याओस्
मकैका झ्याङहरु उमारोस्

पहिले पहिले -
त्यै धरहरा हेर्न त
सहर आए मान्छेहरु !
धरहरामै चढेर मान्छेहरुले
धीतमरुन्जेल हेरे सहर पनि
त्यै बानी लागेर त हो अचेल
मान्छेहरु मान्छेमाथि नै चढेर
हेर्न खोजिरहेछ दुनियाँ ।

धरहरामै चढ्दा चढ्दा
आफ्नो उचाई बिर्सिसकेका छन् मान्छेले
मालिक बन्ने संस्कार दिएर
दास बनाएको छ मान्छेहरुलाई धरहराले

धरहरा,
बरु धरहरा नभएर
लौरो भएको भए
टेकेर त्यै लौरो
जीवनका कैयौं सगरमाथा
आरोहण गर्थे होला मान्छेले
जीवनका सप्तकोशी तर्थे होला सहजै
पक्कै बन्थ्यो जीवनको अन्तिम क्षणसम्म
साथ दिने एउटा साथी त मान्छेको ।

तर धरहरा
फगत धरहरा मात्र हो यहाँ
इतिहासको एउटा
अमिबा आकृति मात्र हो- धरहरा ।

         राष्ट्रिय कविता महोत्सव इटहरी २०७१ मा दितिय    खोटाङ, 9849079973 , kirateeanil@gmail.com

संभावित एउटा यात्रा


, हो यहीँ पर्खिरहेको हुन्छु

तिमी पसिनै पसिना भएर आकी हुन्छ्यौ
तिम्रो थुम्से टेकाउन
म गोडालाई टेकुवा बनाइदिन्छु

तायाचुङ डाँडामा
सिङ्गौरी खेल्दै आको चिसो बतास
बटुलेर फाटेको ढाका टोपीमा म
पोखिदिन्छु तिम्रो कपाल, घाँटी र गलामा

थुन्सेबाट
तिमी झिक्नु फिपी उघारेर
फापरको सुख्खा रोटी
फिलिङगेको धुले अचार
र तीनपानेले भरिएको कठुवा

ढुङ्ग्रेबाँसको हाँगामा बसेर
गीत गाउलान् जुरेलीहरु
बाघचाल कोरिएको ढुङ्गा नजिकै
उफ्रीएर छेपारोले उपस्थितिको सकेंत देलान्
कुहीरो आउला र हामीलाई बेशरम छोएर जाला
पानी पर्ला असिनासहित
हामी घुम ओढौंला
फेरि घाम लाग्ला टन्टलापुर
त्यै चौतारीको पिपलको छहारी बनाउँला

म चोया काढ्न थाल्छु
मेरो कर्द र हातको चाल हेर तिमी
म पुलुक्क हेर्छु तिम्रो आँखामा
त्यै आआफ्नो हेराइमा
हामी बाँच्ने आधार खोजौंला

म फूलको कुरा गर्छु
तिमी माटोको गर्नु
म सपनाको गर्छु
तिमी कर्मको कुरा गर्नु

म सिउरीदिन्छु
लिम्चिङबुङ तिम्रो चुल्ठोमा
मेरो देब्रे छातीमा
झुण्ड्याइदिनु विनायोको झुप्पा तिमी

समातेर हत्केला आपसमा
उठौला मौन वाचासहित
वारपार होला त्यै मौन स्पर्शमा
प्रेमका तरङ्ग
बढ्ला मुटुको ढोलको आवाज हाम्रो
र हामी जिवनको अनुभूत गरौला

ओ मेरी खुशे !
ए मेरी भ्यालेन्टाइन !
एउटा साझा यात्रा गर्नुछ हामीलाई
छिट्टै आउनु है तिमी
, हो यै चौतारीमा पर्खिरहन्छु ।
                                                                                    - खोटाङ
                                                 शुक्रबार साप्ताहिक २०७१ फागुन १

Thursday, May 28, 2015

विवशता



बडे बडे श्रीमानहरु
हिडिरहेकै छन् ड्याम ड्याम
बजारेर उतरआधुनिक गम्बुट
भर्खर खनिएका हिलाम्य सडकमा
र उफ्रिएर ब्ल्याक एन्ड ह्वाइट हिलो
छ्याप्छ्याप्ती,
बनिरहेको छ देशको
अमूर्त मानचित्र
मेरो छातीमा

म हो,
यै छातीमा राखेर दाहिने हात
भनिरहेकै छु - 
मलाई देश प्यारो छ
प्राण भन्दा प्यारो ।

Wednesday, May 13, 2015

म मरेको छैन

(पहिरो र भूकम्पमा पुरिएकाहरुप्रति समर्पित, हार्दिक श्रदान्जलीसहित)
-          अनिल किराती
पहाड झरेको छ ममाथि
घर भत्किएको छ
ढुङ्गा माटोले पुरिएको छु म
छुट्टिन लागेको छ शरीरबाट
हात, खुट्टा र टाउको
घोचिएको छ काठका चोइटाले
कोखा, तिघ्रा र कम्मर
नङको फेद, गीजा र कुर्कुच्चाबाट
बगेको छ रगत     
गाँठो परेको छ श्वासनली
र रोकिएको छ सास
कालो पर्दा खसेको छ आँखामा
दलिएको छ अनुहारमा फुस्रो रङ
तर म अझै मरेको छैन

मैले आय्या पनि भनिन
र दुखेन यै पटक मलाई फेरि
अर्थात दुखेको अनुभूत नै गर्न पाइन
मैले जान्छु है भनिन
र भन्न पनि भ्याइन
अर्थात म यही छु
नजिकै छु
म अझै गएको छैन कतै

साँच्ची भन्नुपर्दा
तिमीले मलाई कैले देखेनौ
मैले कति बोलाएको हो कैले सुनेनौ
मैले भेट्न चाँहे तिमीले कैले चाहेनौ
भो अब नखन मलाई
मेरो बारेमा नसोध
मलाई नखोज
म हराएको छैन
मलाई चाहिएन राहत
तिमि नै राख
नदेउ मलाई सहानुभूति
चाहिएन श्रदान्जली
म मरेको छैन   

म जहाँ छु ठीक छु
तर -
के तिमी जहाँ छौ ठीक छौ ?
के तिमीले जे गरिरहेका छौ ठीक गरिरहेका छौ ?
के तिमी बाँचीरहेको प्रमाण छ तिमीसँग ?
दुङद्ङ्ती किन गन्हाइरहेको तिमी ?
बेवारिसे पुरिएको त म हुँ ।

सरकारजी !
होशियार
बर्खायाम अझै बाँकी छ
थामिएको छैन सुनकोशी
चर्किएको घरभित्र
टाङटाङ टुङटुङ ठोक्किएर 
खाली प्लेटहरु
आइरहेको छ पराकम्पन
र बढ्दैछ भयवहता ।

esamata.com, topnepalnews.com, sherpakhabar.com र alagabhiyan.com मा प्रकाशित

Tuesday, May 12, 2015

विकल्प

सरकार !
मसँग छ उतर

तिमी प्रश्न गरेर त हेर ।