Thursday, December 31, 2015

पर्खाइ




पर्खिरहेछु,
आमा आउनेछिन् बोकेर कोदोको पिठो
पकाउनेछिन् खोले
हतपत खाएर गइहाल्नेछु म स्कूल
बाबा आउनेछ बोकेर गम्बुट र ज्याकेट
भुँईमा राख्नै नपाई लगाएर
दगुरिहाल्नेछु सँगीहरु भेट्न म

हो म पर्खिरहेछु
भत्किएको घर अगाडि
सजाएर आँखामा बाआमाको तस्बीर अहिले

म केही सोचिरहेको छैन
धेरै सोच्नुपर्ने कुरै था छैन मलाई
म चाहान्छु-
तातो खान पाइयोस् पेटभरि
जाडोमा न्यानो लाउन पाइयोस्
राति मस्तसँग सुत्न सँकु आमाको काखमा
बाबाको चोर ‍औला समातेर हिड्न सँकु हटिया जाँदा
बस् यति !

तर धेरै भो,
आमा अझै फर्केकी छैन
बाबा कहाँ जानुभको हो त्यो पनि था छैन

बारम्बार,
बाआमा कुरा गरिरहँदा 'सरकार' भन्ने शब्द सुनेको हो मैले
रेडियोको समाचारमा पनि 'नेपाल सरकार' सुनेको
तल चौकमा ढाका टोपी र कोट लगाउनेहरुले
'हाम्रो सरकार, तिमीहरुको सरकार' भन्दै गरेको
हेड्सरले अफिसमा नयाँ सरकारको चर्चा गरेको पनि सुनेको छु

आमा त्यै 'सरकार' भेट्न गएकी छिन्
बाबा त्यै 'सरकार' खोज्न गएका हुन् शायद
र लाग्न थालेको छ मलाई
सरकारले मेरी आमालाई चिनेनन्
बाबाले सरकार भेट्नु भएन सायद

तर म पर्खिरहेछु - बाआमा
र याद छ
बाबा भनिरहनु हुन्थ्यो
"तँ हाम्रो भविष्य हो",
"तैँले नै हो हाम्रो सपना पूरा गर्ने"
र त म सोच्न खोज्दैछु अहिले
के होला मेरो भविष्य ?
कसरी पूरा गर्नु होला मैले मेरो बाआमाको सपना ?

हो, म पर्खिरहेछु
ओढेर बाँसको छेकाबारा
ओछ्याएर बाघचाल कोरिएका चप्लेटे ढुगा
र म चाहान्छु - आओस् मेरा बाआमासँग
एउटा नयाँ अनुहार 
अनि चिनाओस् मेरा बाआमाले हँसिलो भएर -
"हो, सरकार भनेको यै हो" ।
साँच्ची हो, म सरकार चिन्न चाहान्छु 
बस यति !


Thursday, December 17, 2015

कथा


………..अनि एक मुलुकमा

पहाड थियो
मुसाहरु थिए
र प्वाल थिए
पहाडमा मुसाहरुको

मुसाहरु बढ्दै गए
प्वाल बनाउँदै मुसाहरुले
ओसारे पहाडको माटो
र थुपारे मैदानमा
स्वभाविकत: पहाड भत्किन थाल्यो

बित्दै गयो समय

एक दिन
पहाड, पहाड रहेन
मैदान, मैदान रहेन
सामान्य कुरा -
प्वालहरु कतै रहेन

परिणामत:
बिचल्लीमा परे मुसाहरु
खाने बस्ने टुगों भएन मुसाहरुको
हल्ली खल्ली मच्चियो मुसाहरुमा

अब मुसाहरुले बुझ्नु पर्छ -
उनीहरु आफैले
पहाड भत्काएर
नयाँ पहाड बनाएको हो ।
जहाँ नयाँ प्वालहरु बन्नेछन ।


तर कथा सकिएको छैन अझै……


२०६७।०१।१८ काठमाडौं

Saturday, December 12, 2015

सजाय


तिम्रो अनुपस्थितिमा
हजारौं संभावित सन्तानको हत्या गरिसकेको छु मैले
र यो क्रम जारी छ

तिमी कानून परिपालक हौ भने
मलाई कानून परिपालक बनाउँछौ भने
आऊ
समात मेरो हात
बाँध मलाई तिम्रो अँगालोमा
र यौवानुभूतको कठघरामा उभिने मौका देऊ

म हत्यारा हुँ
म हो उदघोष गर्छु
मलाई तिम्रो न्यानो सजाय चाहिएको छ ।


२०७२ असोज १९ ओखलढुगां

Wednesday, October 7, 2015

गीत २


देशको गीत यहाँ गाउनेवाला कोही
फेर्न देशकै मुहार आउनेवाला कोही
स्वागत छ स्वागत छ स्वागत छ

झनै बाटो भत्किदैछ देश दुख्दै लड्ने भो
कसको आँखा लाग्यो कुन्नी घाम त्यसै झर्ने भो
आऊ जुन बोकी छाउनेवाला कोही
फेर्न देशकै मुहार …….

घर आँगन सारा गाउँ युद् मैदान हुने भो
हिमाल पहाड तराई प्रकृति नै रुने भो
ल्याऊ शान्ति बोकी ल्याउनेवाला कोही
फेर्न देशकै मुहार …....


२०६४।०८।०१ सीतापाइला

Friday, October 2, 2015

नानीहरु


मन्दिरमा चढाइएका फूल टिपेर
चुगीं खेलोस् नानीहरु
हिलाम्य भएर उफ्रियोस्
बलेसी, जुठेल्नु र गाई गोठहरुमा

करेसाबारी तिर
लडिबडी गर्दै दलोस् अनुहार भरि
हरियो खोर्सानीका रङ
फुटबल मैदानका बलौटे धुलो टिसर्टमा घसोस्
दगुरोस् पुतलीका पछिपछि चप्पल बिनै
समाउँदै झुण्डियोस् सल्लाका हाँगाहरुमा
र भत्काओस् जुरेलीका गुँड पनि  

कैलेकाँही भागोस् बरु नानीहरु
कक्षाकोठाको पछिल्लो झ्यालबाट
च्यातोस् दन्त्यकथाको अन्तिम पेज
र खाओस् खैनी दलिएका माड्साबको चड्कन् बेलाबेला

हेर्दा हुन्छ नानीहरुले
kटेलिभिजनका कार्टुन पात्रहरु अघाइन्जेल
नगर्दा पनि हुन्छ घोकाइएका होमवर्कहरु
आफ्नै तौलभन्दा गह्रौं किताबी झोला बोकीरहदा हुन्छ
लथालिगैं बनाउँदा कै हुदैन
छरेर कपडाहरु पुरै कोठाभरि
र कोर्दा हुन्छ भर्खरै पेन्टिङ गरेका घरका भिताहरुमा
हिमाल, खोला र रुखका किरिङमिरिङ चित्रहरु

सुतिराख्दा हुन्छ नानीहरु
ओछ्यानमै घाम आइन्जेलसम्म
जुझ्दा पनि हुन्छ कलैकाँही एकआपसमा
दिदीले ल्याइदिएका रगींन बेलुन उडाउँदा उडाउँदै
मिठाइ खानकै लागि ढाँट्दा हुन्छ दाईहरुलाई
र नदिदा हुन्छ चुरोट किन्दा आएको फिर्ता पैसा

नानीहरुलाई जरुरी छैन थाहा हुन
प्रधानमन्त्रीको नाम वा देशको राजधानी
पर्दैन जान्न भूकम्पको रेक्टर स्केल
र रेडियोको मुख्य समाचार
आवश्यक छैन थाहा पाउन
चामलको भाउ र संविधानको धारा संख्या
चाहिदैन नानीहरुलाई
झन्डाको आकार र विधुत प्राधिकरणको फोन नम्बर

नानीहरु उपद्रै हुन्छन् र होस्
नगर भन्दा गर्छन् नानीहरु - गरोस्
गर भन्दा गर्दैनन् नानीहरु - नगरोस्
जिदी, चकचक, बदमासी नानीहरुकै लागि हो
नानीहरु हुन्छन् नै बिन्दास् र हुनैपर्छ
  
नानीहरु त नानीहरु नै हुन्
आखाँकै नानीजस्तो
धेरै कुरा देख्छन्
र धेरै कुरा नै बिर्सीहाल्छन्

तर नानीहरुले सम्झि रहनुपर्छ सधैं
हेडसरको चोर औंला
र देखाउन सक्नु पर्छ नानीहरुले
उठाएर चोर औंला आफ्नै आमा बाबुलाई
जब म सोध्छु -
"बन्न चाहान्छौ तिमी को जस्तो" ? 


    - बुइपा -, खोटाङ (हाल - ओखलढुगां)
       बालदिवस २०७२ ओखलढुगांमा वाचन

Thursday, October 1, 2015

एक दिनको च्याट...

दिन धुम्म थियो । कुहिरोका हुलहरु कछुवाको गतिमा थिए । अफिसमा खासै काम थिएन । फुर्सदमा थिए भन्न मिल्छ ।
उपेन्द्र दाईको खोलाको गीत एक छिन पढे । पढ्न रुचाउँछु । विशेष कविताहरु पढ्छु । भर्खरै पढीसकेको हो अभि सरको साहित्य र आमवृत ।
मल्ल दाईले चिया ल्याउनु भो । कालो चिया । "सर नास्ता खान्या होउ" - मल्ल दाईले सोध्नु भो । खाजा खाने बेला भको थिएन । "अहिले भो दाई" - मैले फर्काएँ जवाफ । टिभी टेबलको छेउमा चिया राखेर जानुभो दाई । म किताबमै व्यस्त थिए ।
अफिसमा भोल्यूमबेस इन्टरनेट थियो । ल्यापटप अन गरे ।  गरे फेसबुक लगईन । अफलाइन बस्छु प्राय र त्यै गरे । अनलाइनमा बस्नसाथ सय भन्दा बढी साथीहरु देखिन्थे हरियो इन्डिकेटरसँगै । र आइहाल्थ्यो मेसेज गुटुङटुङ । नबोलु भने ठूलो भो भन्थे । बोल्दा निकै बेर अल्मलिने । बरु अफलाइनमा ढुक्क ।
कविताको किताब राखे अर्को टेबलमा जहाँ अरु केही थान कविता र उपन्यासहरु थिए । चियाको सुरुप्पसँगै माउस चलाउन थाले ।
सोच भो अनलाइन बस्ने । क्लीक गरे टर्न अफ च्याटमा । १३८ जना साथीहरुले ढोका खोलिरहेका रैछन् । क्यान्डि क्रसको निम्तो र फोटोमा आउने लाइक को नोटिफिकेशन् त सामान्य हो । सीन गर्यो फेरि त आइहाल्थ्यो ।
लड्काहरु बढि हुने अनलाइमा । हुन त लड्कीहरु पनि हुने । तर म खासै बोलाउँदिनथे । कसैलाई बोलाइन मैले । लड्का लड्की कसैलाई पनि ।
'जय किरात है अनिलजी' - अभिजीले च्याट सुरु गर्नु भो । अभि सुवेदी सर हैन । अभि राई किरात राई विधार्थी संघको साथी । यो संघमा हामीले सँगै धेरै काम गर्यौं । खासगरी उपत्यकाको क्याम्पसहरुमा हुने संघको कार्यक्रममा डेकिन्द्र र हामी दुई सँगै हुन्थ्यौं ।
म यता आएपछि संघ छोड्नै पर्यो । साथीहरु थपिएका थिए धेरै । र कुराकानी हुन्थ्यो कैलेकाँही ।
आज पनि भयो । सन्चो बिसन्चो सोधासोध भो । सोध्नुभो उहाँले नै - "के गर्दै हुनुहुन्छ अनिल सर ?"
रोमनमा लेख्थे म । प्राय धेरैले रोमनमा नै टाइप गर्दा रैछन् । सजिलो पनि हुने फेरि च्याटमा । रिप्लाई गरे - "दिन धुम्म छ बाहिर । अलि अलि चिसो बढिरहेको छ । म त कविता पढ्दै थिए हौ । र कवितै लेख्न पो मन लागिरहेको छ हौ अभिजी ।"
तुरुन्तै जवाफ आयो -"त्यसो भए लेख्नुस् न र पोस्ट गर्नुस् । पढ्ने हामी छदैछौं ।" "शब्द आइरा छैन नि त हौ" - मैलै पठाएँ ।
सीन गरेको इन्डिकेसन् आयो । रिप्लाई आएन ।
गुगल क्रोमको नयाँ ट्याबमा अनलाइन खबर डटकम सर्च गरे । निर्वाचनको माहोल थियो देशभरि । निर्वाचन हुन्छ कि हुदैन ? भन्ने विषयमा राष्ट्रिय अन्तराष्ट्रिय बहस थियो । समाचारहरु पनि त्यसैका थिए । हेरे ।
अभिजीको मेसेज आयो - "अनिलजी त्यसो भए प्रेम गर्नुस् । कविता फुरि हाल्छ रे हौ ।" र अन्तिममा थियो - "हाहाहाहाहा ।"
गम्भिर कुरा आयो । कविता र प्रेम । यो सानो विषय हैन । प्रेममा परेपछि मान्छेहरु कवि भएका थुप्रै उदाहरणहरु छन् । भलै त्यो प्रेम सफल होस् वा असफल । सामान्य मानिसलाई कवि बनाउने केही फ्याक्टर पक्कै हुन्छन् । ती मध्ये प्रेम पनि एउटा हो ।
मैले लेखे - "प्रेम गर्ने हो र हुने पो हो त कि कसो ? र मलाई प्रेम भइसकेको हो नि । भोगी पनि सकेको हो मैले त प्रेमको परिणाम ।" र अन्तिममा लेखे - "हाहाहाहा "
खासमा म अभिजीले इन्डिकेट गर्नु भको प्रेममा परिसकेको हो । मेरो निजी सन्दर्भमा त्यो प्रेम चर्किएर प+++म भएको कुरा मेरा धेरै साथीहरुलाई थाहा थियो । लाग्छ अभिजीलाई पनि था थियो ।
म आफ्नो प्रेम कथालाई कविता बनाएर सबैलाई गीतको रुपमा सुनाउन चाहान्नथे । अभिजीले यो प्रसगं निकाल्दा च्वास्स घोचेजस्तो भो मलाई । क्षणभरमै म आफै नर्भस भएँ । किताबको पाना सरर पल्टेझैं आउन थाल्यो पूराना कुराहरु । र हतपत सम्हालिए म । जोगिए आफै ।
अभिजीले मेसेज ठेलीसक्नु भको रैछ - "पूराना कुरा छोडि दिउँ अनिलजी । भन्नुस् त कस्तो कविता लेख्ने हो तपाई ?"
झट्कारे टाउकोलाई एक पटक । चियालाई फेरि सुरुप्प पारे । उठेँ । तनक्क तन्काएँ जीउलाई ।
छोटोमा लेखे - "क्रान्तिकारी ।"
मैले त झ्वाट्ट लेखेको हो । कल्पना नगरेको जवाफ आयो उताबाट - " ! लु सजिलो भो । वैध बा को पार्टीमा लाग्नुस् ।"
वास्तवमा गाँठीको जवाफ थियो त्यो । भर्खरै मात्र एमाओवादीबाट अलि क्रान्तिकारी विचार राख्ने हुँ भनेर वैध बा छुट्टिएको थियो । संविधान सभाको निर्वाचनमा सहभागी नहुने, सशक्त ढगंले निर्वाचन बहिष्कार गर्ने भन्दै आन्दोलनका कार्यक्रमहरु सार्वजानिक गरेका थिए ।
मैले जवाफमा फर्काए - "हाहाहा । अभिजी पनि मजाक गर्नु हुन्छ है ।"
उताबाट आयो - "हाहाहाहा । हल्का रमाइलो अनिलजी ।"
म फ्रेस भएँ । यो अन्तिम कुरा घतलाग्दो थियो । अभिजी सँग प्राय यस्तै कुराहरु हुन्छ । कैलेकाँही राजनितीक, कैलेकाहीँ सामाजिक, कैले संस्थागत त कैले विशुद् व्यक्तिगत कुराहरु हुन्छ । कामको पनि कैले कुरा हुन्छ । कैलेकाहिँ त बिहेको कुरा पनि हुन्छ । आपसमा "तपाईको बिहे गर्ने बेला भो है" भन्ने संवाद पनि दोहोरिरहन्छ ।
घडि हेरे मोबाइलमा । ३ बजिसकेको रैछ । कुराकानी पनि सकियो । अरु पनि थिए अनलाइनमा त । बेवास्तामा लग आउट गरे फेसबुक । सट डाउन गरे ल्यापटप । चियाको अन्तिम घुट्को ताने । अलि चिसो भइसकेको रैछ ।
र खोले कापी । कविता जो लेख्नु थियो ।