Sunday, October 20, 2019

नेपाल भ्रमण वर्ष २०२० प्रचार प्रसारको तयारी र तरिका



अनिल किराती
अनिल किराती
विश्व अल्ट्रा म्याराथनमा आफूलाई स्थापित गरेर नेसनल ज्योग्राफिक महिला वर्ष खेलाडी:२०१६ समेत प्राप्त गरिसकेका नेपाली धाविका मीरा राईले नेपालको प्रतिनिधित्व गर्दै देशको नामलाई अन्तर्राष्ट्रिय जगतमा परिचित गराउदै आएकी छिन । भर्खरै मात्र दक्षिण कोरियामा कोरियन सरकार अन्तर्गतको एउटा एथ्लेटिक्स कार्यक्रममा सहभागी हुन आउँदा उहाँसँग भेट भो । खुशी लाग्यो । धेरै कुराकानी भयो । कुराकानी पछि visit 2020 को सम्बन्धमा केही कुरा मेरो मनमा लाग्यो र लेख्दैछु ।
• करिब ४० लाख नेपाली रोजगारी लगायत अन्य विभिन्न सिलसिलामा विभिन्न देशमा रहेका छन् । गणितिय हिसाबमा ४० लाख नेपालीले १/१ जनाको दरले विदेशीलाई नेपाल पठाउँदा Visit 2020 त त्यतिकै सफल हुने देखिन्छ । तर यो व्यवहारिक रुपमा कठिन छ । किनकी ९५ % नेपाली त काम गर्न गएका छन् । उनीहरुसँग विदेशीलाई कन्भिन्स गरेर नेपाल घुम्न आउ भन्ने सैदान्तिक र व्यवहारिक आधार नै हुँदैन र भए पनि ती विदेशीले उनीहरुको कुरा सजिलै पत्याउँदैन अनि सिधा रुपमा त्यहाँको मालिक वा साहुहरुसँग सीधा सम्पर्कमा जाने अवसर पनि हुँदैन सबैको । ती नेपालीहरुको भेटघाट प्राय आफू जस्तै नेपालीहरुसँग मात्र धेरै हुन्छ ।
• नेपाली ख्यातीप्राप्त कलाकारहरु पनि अत्यधिक विदेशका कार्यक्रमहरुमा सहभागी हुन जान्छन । तर उनीहरु पनि विदेश गएर प्राय नेपालीहरुसँग मात्रै भेटघाट गर्छन् नेपालीहरुले आयोजना गरेका कार्यक्रमहरुमा मात्रै सहभागी हुन्छन् । विदेशीहरुसँग सम्पर्कै हुँदैन । Visit 2020 मा खासै योगदान नदेखिने भो ।
• विभिन्न स्कोलरसीपमा विधार्थीहरु पनि विदेश जान्छन । उनीहरुको साथी भनेका विधार्थीहरु नै हुन जोसँग पर्याप्ति घुम्ने पैसा हुदैन । तथापि रिपोर्ट प्रेजेन्टेसनमार्फत प्रोफेसर र आफना साथीहरुलाई Visit 2020 को बारेमा अलिअलि जानकारी दिन सकेमा एकदमै कम भएपनि योगदान रहन सक्छ ।
• ३ महिने visit visa मा घुम्ने नेपालीहरुले अलि अलि पर्चा पम्प्लेट बाँड्यो भने केहीलाई कन्भिन्स गर्न सक्ने देखिन्छ ।
• र विदेश गइरहने अर्को समूह भनेको विभिन्न खेलाडीहरु हुन । उनीहरु मात्रै त्यस्तो समूह वा व्यक्ति हुन जो अन्तराष्ट्रिय मैदानमा विदेशीहरु सँगसँगै खाने बस्ने डुल्ने अवसर प्राप्त गर्छन । उनीहरु पहिले आफनो देशको नाम बोक्छन अनि दोस्रोमा आफ्नो नाम । खेल यस्तो विषय हो जसले देशलाई राजनीतिक नेतृत्व र प्रणाली भन्दा पछि विश्वमा सजिलै परिचित गराउँछ । तसर्थ Visit 2020 लाई सफल बनाउनमा खेलाडीहरुको योगदान महत्वपूर्ण रहन्छ । जस्तो मीरा राई अन्तराष्ट्रिय धाविका हो । सन्दिप लामिछाने अन्तराष्ट्रिय क्रिकेटर हो । किरण चेम्जोङ, सोमपाल कामी, नवयुग श्रेष्ठ, मनोज मल्ल, हिक्मत घर्तीमगर, सुनमाया बुढा, तेजबहादुर देउवा, दिपक बोहोरा आदि नेपाललाई अन्तराष्ट्रिय जगतमा चिनाइरहेका खेलाडीहरु हुन । यदि उनीहरुलाई सरकारले Visit 2020 दुत बनाएर केहि कार्यक्रम तय गरेमा धेरै हदसम्म विदेशीहरु नेपालप्रति आकर्षित हुने संतभावना छ । अनि हामी जो अभियानलाई सफल पार्न तयार गर्दैछौं के सोच्नु आवश्यक छ भने फेसबुक र ट्वीटरको प्रयोग गरेर Visit 2020 सफल बनाउन त खासै प्रभावकारी देखिदैन । किनकी अधिकाशं facebook र twiter चलाउनेको विदेशी साथी नै छैन । जति Photo, status र tweet राखे पनि हेर्ने त्यै काठमाडु र अन्य सहरका नेपालीहरु नै हुन । विदेशमा रहेका केही नेपालीले हेर्ने हुन । गाउँका केहीले हेर्ने हुन । त्यति हो । अनि विदेशी पर्यटक कसरी आउँछ र ? यसका लागि विदेशी साथी बनाउन जरुरी छ । 
अन्त्यमा, सरकारले नेपालमै के के गर्छ त्यो एकातिर छ । संरचना, नीति, कार्यक्रम, लगानी र व्यवस्थापन सबै सरकारकै काम हो । पक्कै गर्ला वा बनाउला । सगरमाथा हाम्रै देशमा छ । गौतम बुद् नेपालमै जन्मेका हुन । गोर्खाली भनेकै नेपाली हो । यस्ता कुरा त कति छन हामीसँग तर विदेशीहरुलाई कसरी जानकारी दिने त ? माध्यम खोज्न जरुरी छ त्यसको लागि अन्तराष्ट्रिय मन्च जसले प्रयोग गर्छ त्यसलाई समात्न सक्नुपर्छ । तसर्थ धेरै माध्यम मध्ये एउटा माध्यमको रुपमा विदेश स्थित गठन भएका नेपाली संस्थाहरुलाई यो अभियानमा जोड्ने निति सार्वजनिक गर्न जरुरी छ जस्तो कोरियामा १३० भन्दा बढी संस्थाहरु छन् । केही संस्थाहरु यहाँका कोरियन सरकार र संस्थाहरुसँग नजिक पनि रहेका छन । त्यस्ता संस्थाहरुलाई प्रयोग गर्न सके र अर्को माध्यमको रुपमा माथि उल्लेख गरे अनुसार अन्तराष्ट्रिय छवि बनाएका खेलाडीहरुलाई अभियानमा समावेश गर्न सके Visit 2020 मात्रै हैन समग्र देशको समूद्धिमा सहयोग पुग्न सक्छ ।

नेपाल सरकार शाखाअधिकृत, हाल:सुन्क्युन्कावान युनिभर्सिटी सिओल कोरिया,  Facebook बाट साभार र https://www.hatuwaherald.com/2019/10/20 मा प्रकाशित

Monday, October 7, 2019

दशैंको शुभकामना


पढिसकेका छौं र थाहा पाइसकेका छौं हामीले दशैंको इतिहास, दशैंको अवधारणा, दशैंको अर्थ, दशैंको प्रभाव र दशैंको समाजशास्त्र । सदियौं देखि मनाउँदै आएका छौं दशैं । यहाँ म यी सबै कुराको बारेमा लेखिरहेको छैन । म त दशैंको शुभकामनाबारे लेख्दैछु  
सुरुमा दशैको शुभकामना । सबैलाई शुभकामना ।
हो यो सबैलाई भन्ने कुरा जो छ त्यसैको कुरा गर्दैछु । सबै भनेको को ?
सबै भनेको सबै नेपाली हो की सबै हिन्दु धर्मावलम्बीहरु हो ? सबै नेपालीहरुले दशै मनाउँछ भन्ने छ र ? सामान्य कुरा दशैं खासमा हिन्दु धर्मसँग जोडिएको एउटा चाड मानिन्छ । जुन धेरै पहिलेदेखि मनाउँदै आइएको हो तर सबैले मनाइएको छैन । यो कुरा अनोठो पनि हैन । किनकी नेपालमा रहेका विधिन्न धर्म र जाती अनुसारको चाडबाडको बारेमा त हामी अनभिज्ञ कहाँ छौं र !  दशैं हिन्दुकै मात्रै हो कि होइन भन्ने कुरा छुट्टै छलफलको विषय होला । तर जसरी अहिलेसम्म व्याख्या विश्लेषण गरिदै आइएको छ, त्यसले यही कुरा दर्शाएको छ । यसमा अन्यथा लिनु पर्छ भन्ने पनि छैन । दशैंको सम्बन्धमा विभिन्न विद्वानहरुले धेरै तर्क वितर्कहरु गरेका छन । गर्दै छन र अझै गरिरहने छन । किनकी तर्क वितर्कको अन्तिम विन्दु त कैले हुँदैन यसको त भार हुन्छ । र सबै गहकिला तर्क सबैको लागि सत्य नै हुन्छ भन्ने पनि हुँदैन । तसर्थ दशैं सबैले मनाउदैन । कारण खोज्दै जाँदा राजनीतिक, सांस्कृतिक, एतिहासिक, धार्मिक, जातीय धेरै हुन सक्छन । तसर्थ सबैलाई शुभकामना दिने हाम्रो जुन बानी छ नि त्यो अपुरो छ । जबर्जस्ती हामी बानी परेका हौ यसरी सबैलाई दशैंको शुभकामना भन्न ।
हामी छठ, उभौली उधौली, बकरइद, रामजन, ताङनाम चासोक, लोस्हार, चोनाम, सोहराइ, नौवंगी, गौरा जस्ता पर्वहरुमा शुभकामना त भन्दैनौ झन सबै भन्ने कुरा त परको कुरा भैगो । फेरि दशै नमनाउनेलाई शुभकामना दिनु हुदैन भन्ने पनि हैन । तर जसरी दशैको शुभकामना आदानप्रदान गरिन्छ नि त्यसरी नै अन्य पर्वको पनि शुभकामना आदानप्रदान गर्न जरुरी छ भन्ने हो । अनि सबै भित्र त मुस्लिम, क्रिश्चियन, बौद, किरात सबै परे नि हैन र ?
फेरि पनि दशैंको शुभकामना । यो महान पर्व दशैको शुभकामना ।
हो यो महान पर्व भन्ने कुरा जो छ त्यसको पनि कुरा गर्दैछु । महान पर्व भनेको के ? पर्व पनि महान र सानो होला र ?  नेपालका जातजाति भाषा धर्मका बारेमा केही भनिरहन पर्दैन अहिले । माथि पनि उल्लेख गरेको छु र त्यही आधारमा विभिन्न पर्वहरु छन यो पनि थाहा भएकै कुरा हो । प्रत्येक पर्व र चाडका आफ्नै महत्व र कथा कहानीहरु छन । अनि के को आधारमा दशै चाहि महान हुने ? सबैले बुझ्ने कुरा दशै महान मान्नु भनेको अन्य पर्वहरु दशैभन्दा सानो मानिएको हो । तथ्याकंको आधारमा नेपालमा हिन्दु धर्मावलीहरु धेरै भएकै कारणले दशैं महान मानिएको हो भने यो व्याख्या तर्कसंगत हुदैन । पर्वहरुको र्याकिंङ कहीँ पनि हुँदैन र गरिदैन पनि । बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विशेषतायुक्त नेपाल भनेर संविधानमा लेखिएकै छ । संविधानमा नलेखिए पनि हामी त्यै हौं । संविधानमा त अझ केके र कति कति कुरा लेखिएको छ-छ । अनि व्याख्या विश्लेषण गर्ने भन्दैमा कुनै पर्वलाई महान कुनैलाई कै न कै भन्न मिल्छ र ? दशैंलाई महान मानिरहदा तिहार, छठ, गाइजात्रा, लोसार, माघी, चासोक, होली, तीज, साकेला, जितिया चाहिँ सानो पर्व मानिएन र ? यसको अर्थ दशै बाहेकका अन्य चाडहरुसँग सम्बन्धित समूदायप्रति असमान व्यवहार देखिएन र ? हो तसर्थ दशैंमात्र महान हैन अरु पनि महान नै हुन ।
मेरो कुरा गर्ने हो भने म आदिवासी मुलको हुँ । म त साकेला उभौली उधौलि मनाउँछु तथापि म दशै पनि मनाउँछु तर मेरा धेरै आफन्तहरु दशै मनाउँदैनन । अब मैले सबैलाई यो महान पर्व दशैको शुभकामना भन्दै हिड्दा मेरा दशै नमनाउने आफन्तलाई अलि पाच्य हुँदैन कि भन्ने हो र यथार्थता पनि । इतिहासको विभिन्न कालखण्डमा भएका विभिन्न सांस्कृतिक विभेदका घटनाहरुको अध्ययन अनुसन्धानले अन्य पर्व र चाडबाडलाई हिन्दुकरण गर्यो भन्ने जुन पीडाबोध भएको छ त्यसकारण पनि दशैं सबैले नमनाएको हुन सक्छ । र पाच्य यो अवस्थामा हुन्छ जतिखेर सबै किसिमका पर्वहरुलाई राज्यले समतामूलक तथा सम्मानजनक ढगंले मनाउने व्यवहारिक र कानुनी वातावरण सिर्जना गर्छ ।
अन्तिममा दशैं मनाउनेहरुलाई दशैंको शुभकामना ।
2076.06.20