उभिएर घण्टाघरसँगै
शिरिषका हाँगाहरुमा
नियाले बतासको गति
तिमी फूल बनिदियौ
पुस्तकालयका पूराना दराजबाट
झिकेर नयाँ कविता कृतिहरु
ओछ्याएँ जब टेबुलमाथि
तिमी शब्द बनिदियौ
साकेला सङ्गीत गुन्जिरह्यो
खुलामन्चको एक कुनामा
नाचेँ ढोलेहरुसगैँ पछ्याँदै सिली
तिमी गीत बनिदियौ
चिम्लेर आँखा
जोडेर दश औला
सङ्कटा मन्दिर अगाडि
गरिरहे प्रेमालापको प्रार्थना
तिमी भगवान बनिदियौ
हतार हतारमा घर फर्किरहेको बेला
पोखियो असार
निथ्रुक्कै रुझे
घुमेका साँगुरा गल्लीहरुमा
तिमी झरी बनिदियौ
सडक किनारामा
मान्छेहरुको हुलसँगै
मेटाउन शुन्यता
निर्माण गर्न सामुहिकता
खोजे आफ्नो मान्छे मैले
तिमी साथी बनिदियौ
हो, मैले तिमीलाई
फूल मानेर चुमिरहे
शब्द मानेर पढिरहे
गीत मानेर गुनगुनाइरहे
भगवान मानेर ढोगीरहे
झरी मानेर रुझिरहे
साथी मानेर अगाँलिरहे
बिहानी घामझै मुस्कुरायौ तिमी
दुलहीजस्तै अलिकति लजायौ
नजर लुकाएर हेर्न चाह्यौ मलाई
नजर लुकाएरै हेर्न चाहे मैले पनि
नजर जुध्यो हाम्रो
र म ब्युझिएँ ।
माघ २१, २०७०
www.alagabhiyan.com मा फाल्गुन २, २०७२ मा प्रकाशित
www.alagabhiyan.com मा फाल्गुन २, २०७२ मा प्रकाशित
No comments:
Post a Comment