Thursday, December 31, 2015

पर्खाइ




पर्खिरहेछु,
आमा आउनेछिन् बोकेर कोदोको पिठो
पकाउनेछिन् खोले
हतपत खाएर गइहाल्नेछु म स्कूल
बाबा आउनेछ बोकेर गम्बुट र ज्याकेट
भुँईमा राख्नै नपाई लगाएर
दगुरिहाल्नेछु सँगीहरु भेट्न म

हो म पर्खिरहेछु
भत्किएको घर अगाडि
सजाएर आँखामा बाआमाको तस्बीर अहिले

म केही सोचिरहेको छैन
धेरै सोच्नुपर्ने कुरै था छैन मलाई
म चाहान्छु-
तातो खान पाइयोस् पेटभरि
जाडोमा न्यानो लाउन पाइयोस्
राति मस्तसँग सुत्न सँकु आमाको काखमा
बाबाको चोर ‍औला समातेर हिड्न सँकु हटिया जाँदा
बस् यति !

तर धेरै भो,
आमा अझै फर्केकी छैन
बाबा कहाँ जानुभको हो त्यो पनि था छैन

बारम्बार,
बाआमा कुरा गरिरहँदा 'सरकार' भन्ने शब्द सुनेको हो मैले
रेडियोको समाचारमा पनि 'नेपाल सरकार' सुनेको
तल चौकमा ढाका टोपी र कोट लगाउनेहरुले
'हाम्रो सरकार, तिमीहरुको सरकार' भन्दै गरेको
हेड्सरले अफिसमा नयाँ सरकारको चर्चा गरेको पनि सुनेको छु

आमा त्यै 'सरकार' भेट्न गएकी छिन्
बाबा त्यै 'सरकार' खोज्न गएका हुन् शायद
र लाग्न थालेको छ मलाई
सरकारले मेरी आमालाई चिनेनन्
बाबाले सरकार भेट्नु भएन सायद

तर म पर्खिरहेछु - बाआमा
र याद छ
बाबा भनिरहनु हुन्थ्यो
"तँ हाम्रो भविष्य हो",
"तैँले नै हो हाम्रो सपना पूरा गर्ने"
र त म सोच्न खोज्दैछु अहिले
के होला मेरो भविष्य ?
कसरी पूरा गर्नु होला मैले मेरो बाआमाको सपना ?

हो, म पर्खिरहेछु
ओढेर बाँसको छेकाबारा
ओछ्याएर बाघचाल कोरिएका चप्लेटे ढुगा
र म चाहान्छु - आओस् मेरा बाआमासँग
एउटा नयाँ अनुहार 
अनि चिनाओस् मेरा बाआमाले हँसिलो भएर -
"हो, सरकार भनेको यै हो" ।
साँच्ची हो, म सरकार चिन्न चाहान्छु 
बस यति !


Thursday, December 17, 2015

कथा


………..अनि एक मुलुकमा

पहाड थियो
मुसाहरु थिए
र प्वाल थिए
पहाडमा मुसाहरुको

मुसाहरु बढ्दै गए
प्वाल बनाउँदै मुसाहरुले
ओसारे पहाडको माटो
र थुपारे मैदानमा
स्वभाविकत: पहाड भत्किन थाल्यो

बित्दै गयो समय

एक दिन
पहाड, पहाड रहेन
मैदान, मैदान रहेन
सामान्य कुरा -
प्वालहरु कतै रहेन

परिणामत:
बिचल्लीमा परे मुसाहरु
खाने बस्ने टुगों भएन मुसाहरुको
हल्ली खल्ली मच्चियो मुसाहरुमा

अब मुसाहरुले बुझ्नु पर्छ -
उनीहरु आफैले
पहाड भत्काएर
नयाँ पहाड बनाएको हो ।
जहाँ नयाँ प्वालहरु बन्नेछन ।


तर कथा सकिएको छैन अझै……


२०६७।०१।१८ काठमाडौं

Saturday, December 12, 2015

सजाय


तिम्रो अनुपस्थितिमा
हजारौं संभावित सन्तानको हत्या गरिसकेको छु मैले
र यो क्रम जारी छ

तिमी कानून परिपालक हौ भने
मलाई कानून परिपालक बनाउँछौ भने
आऊ
समात मेरो हात
बाँध मलाई तिम्रो अँगालोमा
र यौवानुभूतको कठघरामा उभिने मौका देऊ

म हत्यारा हुँ
म हो उदघोष गर्छु
मलाई तिम्रो न्यानो सजाय चाहिएको छ ।


२०७२ असोज १९ ओखलढुगां