Friday, July 10, 2015

कविता - मेरो रङ



मलाई रङ दल्ने कोसिस नगर्नु

तिमीजस्तो म छेपारो रङ होइन
म झण्डाहरुको रङ पनि होइन
म मनोवादहरुको रङ झन होइन
म उमेरको मात्र पनि रङ होइन
म छालाको रङ त हुदै होइन

म त बलिदानी रङ हुँ
नपत्याए नियाल्नु मेरो आँखामा
देख्नेछौ मेरो पुर्खाहरुको वीरता छमछम नाचीरहेको

म त गहुँगोरो रैथाने रङ हुँ
नपत्याए छाम्नु मेरो हत्केला
भेट्नेछौ ढुगां फुटाउदाको पसिनाको तातो झुप्पा

म त माटो रङ हुँ
नपत्याए हेर्नु मेरो पाइताला
देख्नेछौ चिराहरुमा आदिम इतिहास

म त पानी रङ हुँ
रगांउन पनि
पखाल्न पनि सक्ने
नपत्याए चोभलिनु मभित्र एकपटक
थापाउनेछौ तिमिले आफ्नो रङ

म त ऐना रङ हुँ
देखिन र देखाउन सक्ने
नपत्याए उभिनु मेरो सामूने
परिचित हुनेछौ तिमी आफ्नै अनुहारसित

म त आगो रङ हुँ
उज्यालो दिन सक्ने
र जलाउन पनि सक्ने
नपत्याए छुनु मलाई एकपटक
बन्नेछौ खरानी र जोखिनेछौ आफनै तौलमा

हो मलाई रङ दल्ने कोसिस नगर्नु
र अब मलाई
गुराँसको रङले मात्र बाँच्न पुग्दैन
सगरमाथाको रङले मात्र हाँस्न पुग्दैन
पृथ्वीनारायणको रङमा मात्र रम्दिन अब म
सिम्रीकको रङमा मात्र अडिदैन मेरो निधार
मन्दिरको रङले मात्र पूरा गर्दैन मेरो सपना
राजकिय रङले मात्र समेट्दैन मेरो कहानी
मेरो त आफ्नै रङ छ
म त मौलिक रङ हुँ आफैं

प्राकृतिक रङ - आदिवासी रङ ।


                                                alagabhiyan.blogspot.com मा प्रकाशित

No comments:

Post a Comment