|| अनिल किराती ||
आउँदैछु म तिम्रो सहर ।
म भत्काउन सक्छु
तिम्रो उपत्यकाको पर्खाल
जसले रोक्यो सधैं मेरो कोक्पाको यात्रा
तितर बितर पारिदिन सक्छु
तिम्रो खुद्रा पसल
कौडीको भाउमा जहाँ
लिलामी ग¥यौ मेरो अस्तित्व
च्यात्न सक्छु धुजाधुजामा
उत्तरआधुनिक तिम्रो होर्डिङबोर्ड र पम्प्लेट
जसले दासताको दुर्गन्ध बाँडिरहन्छ सधैं ।
त्यो घन्टाघर र सहिदगेट
सडकपेटीमा मेरो आपाले बिताएका
कठ्यांग्रिदो रातको प्रत्यक्षदर्शी मात्र हुन्
म उखेल्न सक्छु ती सबै
र, सट्टामा रोप्न सक्छु बाँस र उत्तिसहरू
त्यो रत्नपार्क टुँडिखेल र बसबिसौनी
हिँड्दा हिँड्दै छामेर संवेदनशीलता
शारीरिक विचलन सुम्पने बाँझो प्रयोगशाला मात्र हुन्
जोत्न सक्छु म ती सबै
र, सट्टामा उमार्न सक्छु त्यहाँ लसुन प्याज
त्यो सपिङ कम्प्लेक्स, निजी क्याम्पस
गेस्ट हाउस र साइबर क्याफेले
निरन्तर बनाइरहेको छ चुट्किला
गाँउखाने कथाहरूलाई
म विनिर्माण गर्न सक्छु ती सबैको
र, सट्टामा थप्न सक्छु मौलिकता ।
म सहर आउँदैछु
तिम्रो व्यस्तताको कार्यतालिका तलमाथि हुनसक्छ
म त्यो किरिङमिरिङ व्यस्तताको गन्तव्य सोध्न सक्छु
र, बताउन सक्छु
उभिएर खुलामन्चमा ग्रामीण समाचार
सुनाउन सक्छु लोकभाका
र, होहल्ला मच्चाउन सक्छु
रोयल पाटीभित्र छिरेर
थुपार्न सक्छु
दाउरा–घाँसको भारीबीच सडकमा
र, रोकिदिन सक्छु
तिम्रो अन्तर्राष्ट्रिय भ्रमण
हो, म सहर आउँदैछु
तिम्रो सहर
र, बन्न सक्छु तिमीजस्तै
वा तिमीभन्दा खतरनाक
भो, तर आतंकित नबन
सशंकित नहोऊ
बन्नु छैन मलाई तिम्रो फोटोकपी
गर्नु छैन तिम्रो क्यारिकेचर
मनाउनु छैन तिम्रो नाममा गाईजात्रा ।
मलाई त उभिनु छ सिंहदरबारको गेटमा
र, नाप्नु छ आफ्नै उचाइ
खोज्नु छ तिम्रो अफिस रुम
हेर्नु छ तिम्रो कुर्सीमा टाँसिएको ग्लुस्टिकको ट्रेडमार्क
र, झिक्नु छ
तिम्रै टेबलको घर्रा उघारेर
तिमीले लुकाइराखेको
मेरो निजी आइडेन्टिटी कार्ड ।
***