पातली, हँसिली गुरुङ्नी दिदीको आदिवासी मुस्कानसहितको ३ दिने आतिथ्यताबाट निकै प्रफुल्लित थियौं र भयौं हामी ।
काउलेपानी होमस्टे नम्बर २ की
तिलमाया गुरुङको घर जसको आँगन डिलमा फूलेका छन् बेगमबेली, गोदावरी, लाहुरे फूल
र अनगिन्ति नाम थाहा नपाएका फूलहरु । करेसामा छन् रातो बोडीको लहराहरु, रायो साग, करेला र काँक्राको
झ्याङ, कुखुरा र बाख्राको खोर । अम्बा र ड्रागन फ्रुटको बोट पनि
छन् । तीन वटा भैसी र तीनीहरुका पाडाहरु छन् नजिकैको गोठमा । गोठदेखि तलतिरको
हरियो खेतमा - खेलिरहेछ बयेली । एउटा खेतबाट अर्को खेतमा झरेको पानीले
दिइरहेको छ कलकल आवाज । लहरै छन् तीन वटा साना-साना घर जसमध्ये
एउटामा पाहुना बस्छन्, अर्कोको माथिल्लो तलामा पनि पाहुना नै
बस्छन र भूइँतलामा खाना पकाउने, खाने र घर परिवारको कोठा छ ।
अर्को तेस्रो घरमा खोसेला, दाउरा, अन्नबाली राखिएको छ र कुडोँ पकाउने चुल्हो पनि छ - एक कुनामा । ढुगाँ विछ्याएको आँगनकै छेउमा छ दुई कोठे टोइलेट र एउटा धारा । टोइलेटमाथि राखिएको छ पहेँलो र हल्का निलो ट्याङ्की । पाहुना घरको पेटीमा मौरीको घार छ । त्यससँगै पछाडि छ - च्याउ खेती गर्ने अर्को गोठ । घरभन्दा माथि छन् कोदो र मकै फलाउने स-साना बारीहरु ।
पहिलो र दोस्रो घरको बीचमा छ –५/६ जना बस्न मिल्ने खरले छाएको गोलो बस्ने कटेरो, जहाँ बसेर खान सकिन्छ चिया, खाजा, खाना । पढ्न सकिन्छ कुनै किताब वा कुरा गर्न सकिन्छ होमस्टे, गाउँ र धेरै विषयहरुमा । बिसाउन सकिन्छ पहिलो पटक आउनसाथ । निदाउन पनि सकिन्छ, हाइकिङबाट फर्केर थकान मेटाउन सकिन्छ । त्यो कटेरो त्यो घरको सौन्दर्य हो ।
बेशीसहर नगरपालिकाको उपमेयर पदमा
गुरुङ र प्रमुख प्रशासकीय अधिकृत चेतनाथ अर्याल सरको सिफारिसमा हामी यो होमस्टेमा
पुगेका थियौं। लमजुङको सदरमुकाम बेशीसहरबाट करिब ८ किलोमिटर दक्षिण
तर्फको
पहाडमा पर्ने काउलेपानी होमस्टे, नगरपालिकाको ७ ओटा होमस्टे मध्ये
नजिकको होमस्टे रहेको जानकारी पनि हामीलाई उहाँहरुले नै दिएका थिए।
दक्षिण दिशामा पर्ने भए पनि
काउलेपानी समुद्री सतहदेखि १६०० मिटरमा छ भने बेशीसहर मात्रै ७६० मिटर उचाइमा । होमस्टेमा
पुग्ने हतारो थियो हामीमा र लाग्यौं उकालो। रानी कुवा, दनाई
गाउँ हुदै काउलेपानी निस्कने क्रममा हामीले उकालो बाटोमा पर्ने नेपालकै ऐतिहासिक
क्षेत्र लमजुङ दरबारको अवलोकन गर्ने निधो गर्यौं। रितो-रितो
घरहरुको बीचबाट अखटै अखटा चढेर हामी दरबार अगाडि पुग्यौं र हेर्यौं दरबारका पुराना
चोक र आँगन अनि चौताराहरु।
उकालो बाटोमा आहालडाँडाको वि.स. २००५ मा
स्थापना भएको लमजुङ जिल्लाकै पहिलो विधालय लमजुङ मा.वि. छ ।
दरबारबाट करिब पाँच मिनेट माथि रहेको त्यो विद्यालय पुग्नु अघि हामीले मस्त पियौं
धाराको चिसो पानी र पिपलको चौतारीमा बसेर हाम्रो स्वास भन्दा धेरै छिटो गतिमा
दगुरिरहेको हावाको झोंकालाई स्पर्श गर्यौ । थकान मेटायौं । बेशीसहरलाई फर्केर
हेर्यौं जो आरामले सुतिरहेको थियो मर्स्याङ्दीको किनारमा ।
घाँसैघाँसले छोपिएर सानो बनेको
पुरानो आहाल छ डिलमा र त्यो आहालकै नामबाट बनेको रहेछ ठाउँको नाम – आहालडाँडा
। गाउँमा ठाउँको नामहरु यसरी नै राख्ने गरिन्छ जस्तै वरको रुख भएको ठाउँलाई वरबोट, बीचको
गाउँलाई बीचगाउँ, गैह्रोमा रहेको गाउँ गैरीगाउँ । हामी विद्यालय गेटमा पुग्दा गेटै अगाडि ग१ख
४७९० नम्बरको गाडी विद्यार्थी कुरेर बसीरहेको थियो । छेउमा दुई वटा भैसी चराउँदै
गरेकी बज्यै थिइन् । नजिकैको चिया पसलको पूरानो टेबलमा थिए केही भाई बहिनीहरु ।
तिलमाया दिदीको स्वागत सत्कार र
कोदोको रोटी खाजाको रुपमा खाएर बेलुकीपख हामी अध्यक्ष देउबहादुर दाईकै घरतिर
लाग्यौं । विद्यालयबाट फर्किदै गर्दा बाटैमा भेट भो उनीसँग । गाउँमा नयाँ मान्छे
देख्न साथ नमस्कार गर्ने हाम्रो बानी नै छ झन होमस्टेमा त नहुने कुरै भएन ।
सुरुमा झलक्क हेर्दा कलाकार माओत्से गुरुङ जस्तै लाग्यो मलाई उनी तर पेट अलि सानो
।अनि कति खुलस्त हाँसो हो दाईको ! आहा !!! सामान्य कुरा गर्दागर्दै उहाँकै घरमा पुग्यौं
हामी ।
कोदो गोड्ने खेताला बिदाई गरेर
भाउजु पनि आइपुगिन् एकै समय । पानी पर्न-पर्न लागे जस्तै
भएको थियो समय । पुदिनाको पात हालेर भाउजूले कालो चिया दिइन् । तिलमाया दिदीको घरको
पर्यावरणीय विश्लेषण गरेपछि दाईको घरको खासै कुरा नगर्दा हुन्छ जस्तो लाग्यो मलाई – उस्तै
उस्तै हो । सबै
होमस्टे परिवारले १८ वटा वातावरणमैत्री सूचक पालना गरेकाले वातावरणमैत्री गाउँ
घोषणा गरिएको रहेछ। प्यानसहितको चर्पी प्रयोग गर्ने, सड्ने र नसड्ने
फोहोरलाई छुट्टा छुट्टै व्यवस्थापन गर्ने, पशुपक्षीँ तथा
कुकुरको फोहोर व्यवस्थापन गर्ने, धुँवारहित चुलो प्रयोग, फलफूलको
बिरुवा रोप्ने जस्ता कार्य गर्नै पर्ने साथै सबै घरमा मौरीको घार, च्याउ
खेतीको गोठ हुनेपर्ने नियम नै बनाएको छन् यहाँ ।
अध्यक्ष दाईको आँगनबाटै नाम चलेका बुद्ध, मनास्लु, अन्नपूर्ण, लमजुङलगायत
१४ वटा हिमाल सजिलै देख्न सकिन्छ
। त्यही लामो हिमश्रृङ्खलालाई देखाउँदै दाईले खगेन्द्र संग्रौलाले अनुवाद गरेको
जोन उडको माइक्रोसफ्देखि बाहुनीडाँडामा उल्लेख भएको बाहुनीडाँडालाई चोर औंलाले
घोचेर देखाए, जुन बाहुनीडाँडा राष्ट्रकवि माधवप्रसाद घिमिरेको गाउँ हो नि
भनेर पनि सुनाए ।
गाउँका मान्छेहरु विस्तारै
विस्तारै बेशीसहर, पोखरा र काठमाडौ जान थालेपछि गाउँ रित्तो
हुँदै गयो । गाउँका मान्छेलाई गाउँमै रोक्न र बाहिरका मान्छेलाई समेत गाउँमा
ल्याउने उपायको खोजी गर्ने क्रममा सन २००८ मा होमस्टेको परिकल्पना सहित अध्ययन
सुरु गरे– उनले । लाहुरेको छोरा उनी र अधिकाशं परिवार लाहुरेकै गाउँ
भरि पनि अनि प्राय: सबैको घर पोखरा । आफू
सरकारी शिक्षक र आफ्नो गाउँको लागि केहि गर्नै पर्ने
अठोटमा उनले राखेको दुरदृष्टि (Vision) लाई २०११ देखि
समूदाय मिलेर मुर्त रुप दिए । र आज नेपालकै नमूना होमस्टे बनेको छ – काउलेपानी
।
गन्डकी प्रदेश सरकारको सहयोगमा बनेको
होमस्टे प्रवेश गेटकै दायाँपट्टिको पहिलो घर थियो – तिलमाया दिदीको
घर अर्थात हाम्रो होमस्टे । गेटकै नजिकै बाँयापट्टी जुरेली श्रेष्ठकी घर – होमस्टे
न. १, सँगै छ टेलिकमको अग्लो टावर । जुरेली
दिदीकै घर नजिकैबाट खनिएको छ ग्राभेल सडक जसले पुरै काउलेपानीलाई घेरा बनाएर
निस्केको छ र तन्किएको छ जोगीडाँडा हुँदै माथि माथि चन्डिदेवीको मन्दिर, जलदेवीको
मन्दिर र पुरानो कोट अनि शान्ति स्तुपासम्म ।
जोगीडाँडामा ठडिएको छ तीनतले भ्यूटावर र नजिकै छ गाउँले पिकनिक स्पोट ।
ठूलाठूला पानी ट्याङ्की, घरघरमा धारा, ढुङ्गा
विछ्याएर बनाइएको गोरेटो जसले जोडेको छ हरेक घरलाई आपसमा । काउलेपानीका वासिन्दाले
मात्रै पुजा गर्ने काउलेदेवीको मन्दिर छ गाउँकै कुनामा र यसलाई पनि व्यवस्थित
गरिएको छ आल्मुनियमका रेलिङ, बस्ने चौतारी र सिमेन्टकै पर्खालले
। काउलेपानी सामूदायिक भवन छ गाउँकै बीचमा जहाँ सामूहिक स्वागत गरिन्छ
पर्यटकहरुलाई र कौडा, चुट्का, घाँटु जस्ता सांस्कृतिक
देखाइन्छ ।
'एक घर, एक घार' र 'एक घर एक
टनेल' को नीतिले कृषिलाई प्रवर्द्धन गरेको छ । त्यहीको मह दलेर
सुख्खा रोटी खायौं हामीले । हरेक दिन भान्सामा खाने तरकारी त्यहीको टनेल र करेसाबारीको
थियो । च्याउखेती र च्याउ संकलन केन्द्र, बेसीशहरसम्म
च्याउ बेच्न लैजाने भाई, अनि हामीले फर्किदा किनेको च्याउको
सुकुटी, च्याउको अचारले बुझाउँथ्यो कि यहाँको कृषि प्रणाली व्यवसायिक
बन्दै गइरहेको छ । यसै सिलसिलामा अध्यक्ष देउबहादुर दाईले सुनाउनुभो –"आउने हाम्रा
पाहुनालाई कुखुराको अन्डा र दाल बाहेक अरु सबै हामी आफनै गाउँकै खानेकुरा
खुवाउँछौं ।" र हामीले त्यो अनुभव पनि गर्यौं ।
होमस्टे सञ्चालनबाट प्रत्येक घरले
मासिक अनुमानित ३० हजार रुपैया देखि एक लाख रुपैया सम्म आम्दानी गर्ने गरेको
विषयलाई समितिका अध्यक्ष दाईले गर्वका साथ सुनाए । काउलेपानीलाई हाल
प्रचारप्रसारको भन्दा पनि गुणस्तरीय पर्यटक र होमस्टेको दिर्घकालीन स्थायित्वको
लागि भने चिन्तित छौं भन्ने कुरा पनि राखे ।
र विषय गम्भिर पनि हो । स्थानीय
स्तरमा रोजगारीका सिमित अवसर, गुणस्तरिय शिक्षा र स्वास्थ्यको
खोजी, प्रविधिको प्रभाव र विस्तार तथा सहज एवम् सुविधायुक्त जीवनयापनको
अवसरका कारण ग्रामीण भेगका युवाहरूको बढ्दो बसाइसराईले गर्दा होमस्टेको दीर्घकालीन
सञ्चालन चुनौतिपूर्ण नै देखिन्छ । सडकहरूको स्तरोन्नति तथा नियमित मर्मत संभार हुन
नसक्दा बजारको पहुँच र पर्यटकको आवतजावतमा असर पर्ने देखिन्छ । संघ तथा प्रदेशले
निर्माण गरिदिएका भ्यू टावर, स्वागत गेट जस्ता भौतिक
पूर्वाधारहरुले स्थानीय पर्यटन प्रवर्द्धनमा प्रत्यक्ष टेवा पुर्याएको छ कि छैन
भन्ने कुराको पनि विश्लेषण गर्न जरुरी देखिन्छ ।
भालेको डाकोसँगै उठेर
कोदोको
तीनपाने रक्सी पार्नु, भैंसीलाई कुडोँ पकाउनु, आँगन
बढार्नु अनि पाहुनाहरुलाई बिहानी नास्ता तयार गर्नु यहाँको दिनचर्या हुन् । हामीले
यहाँको बसाइमा हिमश्रृङ्खलाको शिरमा सुर्योदयको दृश्यावलोकन गर्यौं
।
यहाँका हरियो वनपाखा, विशाल लालीगुराँसको जंगल, नागवेली
रुपमा खनिएको सडक हुँदै माथि वडा न. ४ को स्तुपा
पुग्यौं जहाँ थियो राजारानी कोटको भग्नावशेष । त्यहाँबाट बेशीसहर बजार र
अर्कोतिरको पोखराको सानो भाग, पहाडहरुमा बसेका
अरु
गाउपालिकाका गाउँहरु र खुला आकाश नियाल्यौं । बेशीसहरलाई किनारामा राखेर बगेको
मस्र्याङ्दी नदीको लम्बाई हाम्रा आँखाहरुले नाप्दै र पाइतालाहरु गन्दैगन्दै काउलेपानीलाई
हामीले गोलगोल घुमायौं ।
पर्यटकिय गाउँ भएकोले खुलेर बोल्ने, मीठो बोल्ने, आफ्नो काम आफै गर्ने संस्कृतिको विकास भएको छ यहाँ । पर्यटक आउँदाको स्वागत र जाँदाको विदाईको संस्कृति छुट्टै छ जुन माथि मैले उल्लेख गरेको छु । पर्यटकहरुलाई १२ माहिनाको लागि १२ ओटा प्याकेज पनि छ जुन यहाँको प्राकृतिक सौन्दर्य र उत्पादनसँग सम्बन्धित छन् ।
होमस्टे संस्कृतिको विकासले यहाँको
जीवनस्तरमा पारेको प्रभाव त यहाँको सरसफाई, जीवनशैलीले
देखाउँछ नै । अझ वैदेशिक रोजगारीबाट फर्केर होमस्टेमै लागेको २ परिवारका होमस्टे
सञ्चालक देख्दा गज्जब लाग्यो । हामीले काउलेपानीमा पाएको सत्कार खासमा नेपाली
संस्कार हो – मौलिक संस्कार । खाएको खाना – मौलिक खाना ।
मौलिक बसाँइ हो । हामीसँग जे छ त्यसैको प्रवर्द्धन गर्न सक्दा विकास पनि हुन्छ, जीवनस्तर
पनि सुध्रिन्छ भन्ने काउलेपानीले सिकाएको छ ।
काउलेपानीको बसाईमा
हामी
सँगै थियौं – अनिता पौडेल, सुलोचना
बज्राचार्य, उर्मिला केसी, रवि शाक्य र म ।
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले नेपाल सरकारका उपसचिव वा सो सरहका
कर्मचारीको लागि सञ्चालन गरेको तालिमको एउटा मोड्युलको समूह कार्यको लागि हामी
यहाँ पुगेको हो । हामी गाउँकै मान्छेहरुले काउलेपानीमा फेरि एक पटक गाउँकै जीवन
जिएर फर्क्यौं ।
- 2081 असोज १२ गते