Sunday, April 14, 2019

नयाँ मान्छे




ओ नयाँ मान्छे !
तिम्रो पहिलो स्पर्शले मोडिनेछ बतासको स्वतन्त्र गति
तिम्रो पहिलो हेराइले देख्नेछ वरिपरि सपना विनिर्माण गरिरहेका कैयौं आखाँहरु
तिम्रो पहिलो आवाजले संबोधन गर्नेछ अपरिभाषित जीवनका रहरहरु
तिम्रो पहिलो शब्दमा झुन्डिनेछ नयाँपनको अतृप्त चाहाना तिम्रै ओठमा
तिम्रो पहिलो पाइलाले अन्जान धरातलमा खोज्नेछ आफ्नो क्षेत्राधिकार
तिम्रो पहिलो सुनाइले बदल्नेछ तिम्रै सोचाइको आयतन
तिम्रो पहिलो रुवाइले खुशीका रङहरु जोडिनेछ र भरिनेछ सुमधर संगीत खुला ह्रदयमा

आउ
तिम्रो आगमन तिम्रो पहिलो जित हो
तिम्रो जितले गतिशिलता प्रदान गर्नेछ समयलाई
निरन्तरता दिनेछ अस्तित्वलाई
र जीवन्तता रहनेछ समाजको

तिमी आउ
अगाँलोहरुमा तयार छ स्वागत गेट
औंलाहरुमा तयार छ प्रेमफूलका माला
ओठहरुमा तयार छ स्वागत मन्तव्य

तिमि आउँदैछौं
र आउ
निर्धक्क आउ
तयार छ तिम्रो लागि असिमित खेल मैदान यहाँ
संभावनाका अनन्त खेलमैदान
ढुक्कले आउ ।



२०७६।०१।०१  काठमाडौं