Sunday, April 24, 2016

सरकारलाई कर्मचारीको खुलापत्र


प्रश्न दोहोरिरहन्छ दिनैपिच्छे -
"हाकिमसाब्, भूकम्प पिडितलाई दिने घर निर्माणको राहत के भइरहेको छ ? टहरामा छौ‌ हामी, त्यै भत्केको चर्केको घरमा छौ‌ हामी, कसरी काट्नु यो असार साउन ? कि आउँदैन राहत हाकिमसाब ? दया गरिदिनु पर्यो हजुर हामीलाई !"
मेरो हँसिलो, केटाकेटी अनुहारबाट रङ उड्छ र पोखिन्छ ती प्रश्नका आँखामा । सम्झाउँछु, दिलाउँछु विश्वास, आस्वस्त पार्छु - हो, आउँछ । भन्छु - म खबर गरिहाल्छु नि हजुरहरुलाई । चिन्ता नलिनु होला, अब केही समयमै आउँछ ।
मेरा आपाआमाका उमेरका मेरा सेवाग्राहीहरु जब मलाई हात जोड्छन् र यी कान्छा हाकिमले चाडैँ राहत आएको खबर गर्छन् भन्ने विश्वासमा निस्कन्छन् अफिसबाट, तब म प्रश्न गर्छु आफूलाई -
कैले आउँछ राहत ?
कैले बन्छ घर ?
कैले सम्म आस्वस्त पारुँ म ?
कैलेसम्म धाइरहुन् सेवाग्राहीहरु सरकारी कार्यालयमा ?
कैलेसम्म गरुन् आशा ?
कैलेसम्म बाँचुन अनिर्णयको बन्दी बनेर ?.....ufffff
म दिनमा करिब ५/६ पटक ओपन गर्छु सरकारी Website हरु, र खोज्छु राहत वितरणको कार्यतालिका । तर पाउँछु उही प्राधिकरण गठन गरेको पूराना सूचना अनि माननीय मन्त्रीज्यूहरूले उदघाटन गरिरहनु भएको कार्यक्रमको फोटो । हेर्छु इमेल र खोज्छु नयाँ मेसेज तर पाउँछु विवरण माग गरिएको पत्र । फोनमा कुरा हुन्छ र एउटै विषयमा लगभग ४/५ जनासँग जिम्मेवारी हस्तान्तरण भएको जानकारी पाउँछु । अन्तरनिकाय समन्वय गर्छु - हालत उस्तै पाउँछु । अफिसबाट कै गरुँ, "आफै त यलम्बर कसले देला वर" को हालत छ ।
............ उकालो नचढी नै, नदौडी नै, कुर्सीमा बसिरहदाँ नै सास बढ्छ । थकानको अनुभूत हुन्छ । र पो कर्मचारीहरु डिप्रेसनमा पर्दारैछन् । धन्न म परेको छैन ।
हुन त मलाई थाहा भइसकेको छ - मसँग जवाफको आधार छैन । म जवाफ कसरी दिउँ अब । तर दिनु छ जवाफ । दिक्तेल नगरपालिकाको करिब ४२० घरपरिवारलाई मैलै जवाफ दिनैपर्छ । र दिइरहेको छु । तर आखिर कैलेसम्म .............?
म प्रतिक्षामा छु सेवाग्राही भूकम्प पिडित झै‌ । मलाई यो पनि था छ कि मेरो काम प्रतिक्षा गर्ने होइन । हुदै हैन । तथापि म प्रतिक्षामा छु ।
र त म भन्दैछु - ए माथि माथि धेरै माथिका हाकिमसाबहरु ! मलाई जवाफ चाहियो किनकी मलाई जवाफ दिनु छ । व्यवहारिक जवाफ चाहियो । मलाई आमा आपा,काका काकी, साथीसँगी, सोल्टा सोल्टिनिहरुको आँखामा नैराश्यता हेर्नु छैन अब ।
(भूकम्पबाट मृत्यु भएका ८९७९ जनाप्रति हार्दिक समवेदना, अन्य पिडितहरुलाई जे छ जस्तो छ, त्यै ठाउँबाट अगाडि बढ्नुहोला, सरकार प्रक्रियामा छ भन्ने अनुरोध)
२०७३ वैशााख १२ गते Facebook.com र esamata.com मा प्रकाशित