Thursday, June 19, 2025

हिमाल चढ्नु भनेको हिमाललाई जित्नु होइन

 

अ+अ-

म २०८२ जेठ १ गते बिहान १०:५५ बजे हिमलुङ (७१२६ मिटर) को पिकमा पुगेँ। जुन पिकलाई सुरुमा योजना बनाउँदै गर्दा गुगलमा देखेको थिएँ। पछि वैशाख १६ गते बेसक्याम्पमा पुगेपछि निकै नजिकबाट देखेँ। गाईको थुनजस्तो तर सेतो देखिन्छ हिमलुङ हिमाल, यसकै बेसक्याम्प (४९०० मिटर) बाट। हिमालै हिमालको बीचमा रहेको बेसक्याम्पबाट त उत्तरतर्फ टाउको उठायो कि देखियो। हो, त्यही हिमलुङ हिमालको शिरमा म पुगेँ। घुँडा टेके। ढोगेँ। पिकमा राइज एक्सपिडिसनको सानो झन्डा गाडेका रहेछन् लाक्पा दाइको टोलीले। त्यसैको नजिकमा डाउन ज्याकेटको देब्रे छातीमा राखेको १० रुपैयाँको नोट झिकेर चढाएँ।

म त एकाएक भावुक बनेछु। सास फेर्न पनि गाह्रो भइरहेको बेलामा एकछिन बोल्नै सकिनँ। सनग्लासले छोपिरहेको आँखा रसायो। सायद एउटा सपना पूरा गरेकोले होला, म त रोएँ, जुन सानो दुखले प्राप्त गरेको थिइनँ। मेरो लागि त यो एउटा लडाइँ नै थियो। तर मैले हिमलुङलाई जितेको थिइनँ र होइन पनि। मैले आफैँलाई जितेको थिएँ। म नयाँ यात्रा र गन्तव्यमा पुगेको थिएँ।

समिट गरेपछि मलाई लाग्यो – हिमाल चढ्नु वा पिकमा पुग्नु हिमाललाई जित्नु होइन। र हिमाल चढ्नु सजिलो पनि छैन। हिमाल कडा चट्टानको टाकुरा मात्रै होइन। हिमाल हिउँको थुप्रो मात्रै कहाँ हो र? हाम्रो लागि त हिमाल पहिचान हो। हाम्रो प्राकृतिक स्रोत हो। हिमाल त हाम्रो जीवन हो। आस्था हो। भूगोल हो। इतिहास हो। हिमाल त संस्कृति हो। भगवान पनि हो। प्रकृति हो। प्रकृति आमा हो। आमालाई टेक्नु त हामी कल्पना नै गर्न सक्दैनौँ। त्यसैले त हामी आरोहण गर्नुअगाडि पूजा गर्छौँ। हिमाललाई टेक्नुपर्ने भएकोले पूजा गरेर क्षमायाचना माग्छौँ। चढ्नुपर्ने भएकोले अनुमति माग्छौँ र हाम्रो यात्रा सफल होस् भन्ने आशीर्वाद पनि माग्छौँ। हिमालको आफ्नै प्राकृतिक, आर्थिक, वातावरणीय र सांस्कृतिक महत्त्व छ।

मलाई लाग्यो, हिमाल चढ्नु धेरैको लागि धेरै कुरा हो। जस्तो कि लक्ष्य प्राप्त गर्नु हो, रहर पूरा गर्नु हो, उच्च हिमाली जीवनलाई आत्मसात् गर्नु हो, साहस प्रदर्शन गर्नु हो, जोखिम मोल्नु हो, रेकर्ड राख्नु हो, हिमाललाई माया गर्नु हो, हिमाललाई सम्मान गर्नु हो, हिमाललाई पूजा गर्नु हो, हिमाललाई धन्यवाद टक्र्याउनु हो, तर हिमाल चढ्नु भनेको हिमाललाई जितेँ भनेर हिमाललाई कमजोर ठान्नु होइन। हिमालभन्दा अग्लो भए भनेर घमन्ड गर्नु होइन। र फेरि म भन्छु, हिमाल चढ्नु सजिलो कुरा पनि होइन।

रातको साढे ११ बजे माउन्टेन गाइड पासाङ किदार शेर्पा सरले उठाउनुभयो हामीलाई। ६२०० मिटर अग्लो स्थानमा खडा गरिएको क्याम्प २ का चारवटा टेन्टबाट आँखा मिच्दै उठे साथीहरू। चार घण्टा अगाडि नै डाउन सुट लगाएर सुतेका थियौँ सबैले। रुक्स्याकमा प्याकलन्च, केही लेयरिङ, क्र्याम्पन र आवश्यक सामानहरू जस्तो कि चकलेट, ड्राइफ्रुट, सनस्क्रिन आदि राखिसकेका थियौँ।

फुर्वा दाइले टेन्टबाहिरको हिउँको थुप्रोबाट केही प्लेट हिउँ उघाउनुभयो। पोर्टेबल ग्यास बाल्नुभयो। हिउँ उम्लेर पानी बन्यो। चम्पापोरिज घोलेर आआफ्नो प्लेटमा दिनुभयो हामीलाई। चम्पापोरिज जौको पकाएको पीठो, जुन सातुजस्तै हुन्छ। हामीले हाम्रो ३० दिनको आरोहणको यात्रामा सबैभन्दा धेरै खाएको खानेकुरा नै चम्पापोरिज थियो।

चम्पापोरिजसँगै तातोपानी पिएर हामीले रातको साढे १२ बजे हिमलुङ हिमालको पिक पुग्ने २३औँ दिनको यात्रा सुरु गर्यौँ। डाउनबुट, हार्नेस, हेलमेट, ग्लोब्स सबैसबै लगाएर हामीले हिउँ नै हिउँको तेर्सो बाटो हिँड्यौँ। ट्रेकिङ पोलले हिउँमा गाडिएको हाम्रो खुट्टालाई साथ दिन्थ्यो। हेलमेटमा बाँधेको हेडलाइटले हिउँको बाटो देखाउँथ्यो।

सुनसान हिमाल र हिमाली रातको यात्रा। सेतै बाटो, सेतै भित्ता। हामी १३ जनाको एउटा लस्कर बन्यो यही सुनसान यात्रामा। डाउनबुटले हिउँमा टेक्दा निस्किएको क्र्यापक्र्याप आवाज आफैँमा एउटा लय भइदियो। हेलमेटमा बाँधेको हेडलाइटले हिउँमा बनेको पाइतालाको चित्रलाई बाटोको रूप दिइरह्यो। स्वाँस्वाँ गरेर निस्केको सासको आवाजहरूले हामी एक्लै छैनौँ भन्ने आभास सिर्जना गरिरह्यो। मन्द गतिमा चलेको चिसो बतासले गालालाई मुसार्दा हामीमा हिमाल चढ्ने तातो तागत प्रशस्तै छ भन्ने पनि जगाइरह्यो।

करिब डेढ घण्टामा पुग्यौँ हामी क्र्याम्पन पोइन्ट, जहाँबाट सुरु भयो हाम्रो उकालो – ठाडो यात्रा। निकाल्यौँ रुक्स्याकबाट क्र्याम्पन र कस्यौँ डाउनबुटमा। हार्नेसमा झुन्ड्याएको जुमर झिक्यौँ र फिक्स गर्यौँ डोरीमा। क्यारबिनरलाई पनि त्यही डोरीमा फिक्स गर्यौँ। त्यो डोरी, जुन अघिल्लो दिन नै हाम्रो टोलीको अर्का माउन्टेन गाइड पासाङकाजी शेर्पाको टिमले हिमलुङको पिक नजिकैसम्म फिक्स्ड गरिसकेका थिए। बाँकी भाग फिक्स्ड गर्न हामीभन्दा करिब १ घण्टा अगाडि अघिल्लै टोलीका सोनाम, ओङ्गेल र लाक्पा दाइ हिँडिसकेका थिए।

हामीले जुमरिङ सुरु गर्यौँ। पासाङ सर अगाडि, त्यसपछि जोन, आलेक्जेन्डर, सञ्जीव, प्रकाश रिजाल, छेवाङ, विवेक, प्रशान्त, विक्रम, न्हुजा, प्रकाश गुरुङ, म र फुर्वा दाइ थियौँ। लगातार हामी जुमरिङ गरिरह्यौँ। सासले आफ्नो गति बढाएको छ। एक हातले जुमर सारिरहेको छ। अर्को हातले त्यो कोरियन डोरी तानिरहेको छ। क्र्याम्पनको अघिल्लो दुईटा चुच्चोले ब्लुआइसलाई खोप्दै अखटा बनाइरहेको छ।

हिमालमा बाटो हुँदैन। बाटो बनाउँदै जाने हो। र त्यो बाटो माउन्टेन गाइड वा क्लाइम्बिङ गाइडले बनाउने हो। त्यो बाटो हो भनेर थाहा पाउन गाइडहरूले डोरी टाँग्दै जाने हो। डोरी भएन भने क्र्याम्पनले टेक्दा बनेको डोब केही समयमा हिउँले छोपिसकेको हुन्छ वा हराउने, मेटिने सम्भावना हुन्छ। डोरी टाँग्नु नपर्ने सेक्सनहरू पनि हुन्छन्, जहाँ बाटोको चिह्नको लागि झन्डा गाडिएको हुन्छ। त्यसैलाई आधार मानेर हिँड्नुपर्ने हुन्छ।

हामी रोप फिक्सिङ टोलीले बाँधेको डोरीमा जुमरिङ गर्दै छड्के उकालो बाटो चढिरह्यौँ। अगाडिको साथीको जूताको डोबमा टेक्दै हिँडिरह्यौँ। हिउँ चिरिएर क्रिभासहरू बनेका छन् बाटामा। हिमाल आरोहणको ठूलो जोखिम भनेको क्रिभासमा फस्नु वा झर्नु हो। सेती नदीको खोँचजस्तै हुन्छन् क्रिभासहरू। डोरीबाट खुस्केर वा चिप्लिएर क्रिभासमा खस्यो भने – खस्यो। कतिपय ठाउँमा पुराना क्रिभासलाई हिउँले छोपिराखेको हुन्छ। त्यसमा टेक्यो भने – खस्यो। रोप फिक्सिङ टोलीले त्यस्ता जोखिमलाई अनुमान गरेर डोरी टाँगेका हुन्छन्। वास्तवमा डोरीविना हिमाल चढ्नु असम्भवजस्तै नै हो। यसको अर्थ हो, शेर्पा दाजुभाइविना असम्भवजस्तै हो। हुन त अल्पाइन शैलीमा आफैँ बाटो बनाउँदै हिमाल चढ्ने शैली पनि प्रचलनमा छ, तर त्यसमा पनि डोरी आवश्यक नै पर्छ। गाइडेन्स आवश्यक पर्छ।

जेसुकै शैली वा तरिका भए पनि शेर्पा दाजुभाइ नभए हिमालले हामीलाई चिन्दैन। हिमाल चिनाउने, हिमाल देखाउने, हिमाल चढाउने नै शेर्पाहरूले हो। खासमा शेर्पा नेपालको १४२ जातिमध्येको हिमाली क्षेत्रमा बसोबास गर्ने एक आदिवासी जनजाति हो। अनि हिमाल त शेर्पाहरूको गाउँ हो। खेतबारी हो। आँगन हो। हिमालमा जे हुन्छ, त्यसमा शेर्पाहरू संलग्न हुन्छन्। यसै क्रममा हिमाल आरोहणको काममा पनि उनीहरू नै हुन्छन्। माथि नै भनेको छु कि हिमाल त हाम्रो जीवन हो। खासमा यो बढी चाहिँ शेर्पा समुदायसँग नजिक रहेको कुरा हो। उनीहरूको जीवनशैली हिमाली पर्यावरणमै आधारित रहेको देखिन्छ। तर अचेल के भाष्य निर्माण हुन थालेको छ भने हिमाल चढ्न सहयोग गर्ने सबै शेर्पा हुन्। यो आफैँमा सही कि गलत हो भन्ने कुरा छलफलको विषय हो। किनभने अहिले पर्वतारोहण क्षेत्रमा शेर्पा समुदायसँगै अरू समुदायका मानिसहरू पनि सक्रिय छन्। र शेर्पा एक जाति भने पक्कै हो।

बिहान ७ बजे, अलि थोरै तेर्सोजस्तो सेक्सनमा एकैछिन रोकियौँ हामी। हावाले मान्छे नै उडाउलाजस्तो भइरहेको थियो। टोलीका ७ जना निकै अगाडि पुगिसकेका थिए। मैले टाउको उठाएर माथितिर हेरेँ। आहा !! कति नजिक छ हिमलुङको शिर। बेसक्याम्पबाट देखिएको गाईको थुनजस्तै आकारको हिमलुङको छातीमा आइपुगेको अनुभूति भयो मलाई। अब त समिट पुगिहालेँ नि जस्तो भान भयो। फुर्वा दाइलाई मैले सोधेँ – दाइ, यही हो नि त पिक? अब त १ घण्टामा पुगिन्छ होला है? फुर्वा दाइले सिधै उत्तर दिनुभयो – अब ४ घण्टा लाग्छ सर।

साँच्चै हामी त्यहाँबाट करिब ४ घण्टापछि पिक पुग्यौँ। पिक पुग्नु त हाम्रो लक्ष्य नै थियो। सपना थियो। रहर थियो। तर पिक पुग्नु सजिलो थिएन। रिसाएर फन्किँदै आइरहेको हावाको झोक्का, हिउँका पातलो बोर्कीले छोपेका क्रिभास, जति बल गर्दा पनि क्र्याम्पन गाड्न नसकिने ब्लुआइसका चिप्ला र कडा भित्ता, चम्पापोरिज रित्तिसकेको पेट, बिग्रिएको गाडीजस्तै रोकिँदै फेरि चल्ने सास, थाकेको आँखामा झ्याप्पझ्याप्प आउन खोज्ने निद्रा, जुमर गर्दागर्दा दुखेको पाखुरा। अहो !! अर्थात् म फेरि भन्छु – हिमाल चढ्नु सजिलो कुरा होइन।

पिकभन्दा करिब १५ मिटर तल रहेको क्रिभासलाई पार गराउन लाक्पा दाइको टोलीले बाटो घुमाउनुभएको रहेछ। चल्नै नमान्ने खुट्टालाई धकेल्दै क्रिभास क्रस गरेपछि अर्को छोटो जुमरिङ गरेर पासाङ सर १०:४१ बजे पिकमा पुग्नुभयो। त्यसपछि जोन, आलेक्जेन्डर, छेवाङ, फुर्वा दाइ, न्हुजा, म, प्रकाश रिजाल, सञ्जीव, विवेक र विक्रम पालैपालो पिकमा पुग्यौँ। हाम्रो टोलीको पियुष माथि चढ्दाचढ्दै बाटैबाट (करिब ६५०० मिटर) फर्किएका थिए भने प्रकाश गुरुङ पिकमा आइपुग्दा ११:२३ बजेको थियो। पासाङ सरले ओकेटोकेमार्फत क्याम्प १ मा रहेको माउन्टेन गाइड टासी सर र उहाँको १२ जना टोलीलाई खबर गर्नुभयो। रोप फिक्सिङ गरेर बेसक्याम्प फर्किसकेको अर्का माउन्टेन गाइड पिके सरलाई पनि खबर सुनाउनुभयो, जो आफैँ उहाँ राइज एक्सपिडिसनको म्यानेजर हो। पछि बेसक्याम्पमा फर्केपछि कुक च्याम्पा दाइले सुनाउनुभयो कि समिट गरेको खबर पाएपछि पिके सरले लुगा धुने आरी ठटाएर बेसक्याम्पलाई २ राउन्ड लाउनुभयो रे।

वास्तवमा हाम्रो खुसीको सीमा थिएन। सबै कराइरहेका थिए। सबैले फोटो र भिडियो खिच्यौँ। हावाको गति अलि कम थियो अघिभन्दा। हामी यो क्षेत्रको एउटा अग्लो हिमालको चुचुरोमा थियौँ। चारैतिर हिमाल नै हिमाल। पासाङ सर र फुर्वा दाइले देखाउनुभयो पिकबाट उत्तरतर्फ चीनको तिब्बती हिमालहरू र हाम्रो धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे र अरू धेरै हिमालहरू। रत्नचुली, हिमजुङ, निमजुङ, ग्याजीखाङ र अन्य धेरै हिमालहरू पनि देखाउनुभयो।

मन्त्रालयबाट सासेकको मिटिङमा सहभागी हुन भुटान जाँदा र फर्कदा सगरमाथा र अन्य हिमाललाई जहाजको झ्यालबाट नजिकै हेर्न पाउँदा निकै रोमान्चकता अनुभूत गरेको थिएँ। गत वर्ष सगरमाथा बेसक्याम्प पुग्दा पनि हिमालको चुचुरोमा पुगेर हेर्दा देखिने हिमशृङ्खलाको तस्बिरको परिकल्पना गरेको थिएँ। सशरीर अहिले हिमलुङ हिमालको चुचुरोमा उभिएर अरू हिमाल हेर्दा त्यो रोमान्चकताको क्षेत्रफल तन्किएर आकाशजत्रै भएको महसुस गरेँ। एउटा छुट्टै संसार लाग्यो र हो पनि। जहाँका हिउँ र चट्टानले हामीलाई स्वागत गरेझैँ पनि लाग्यो। हावाको झोक्काले हामीलाई स्पर्श गर्दा हावा आफैँ खुसीले हाम्रो छाती र गलामा लुटपुटिएकोझैँ लाग्यो। सदियौँदेखि मलाई पनि हिमालको चुचुरोले बोलाइरहेको थियो र अहिले आइपुगेँ भन्ने पनि लाग्यो। यो त मलाई लागेको हो। जुन मैले दमको रोगीझैँ स्वाँस्वाँ गर्दै पिकमा पुगेर सोचेको हो। यो मैले आफूलाई मनमनमा भनेको पनि हो।

एउटा खाँटी कुरा – हामी हिमाल चढ्छौँ। चढिरहेका छौँ। सन् १९५० मा एउटा फ्रान्सको टोलीले अन्नपूर्ण प्रथम आरोहण गरेपछि हिमाल चढ्ने कथा सुरु भयो। सन् १९५३ मा सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गेले सगरमाथा चढेपछि त हिमाल आरोहणको गति हिमालकै बतासझैँ दगुर्यो। पर्यटन विभागको तथ्याङ्कअनुसार नेपाल सरकारले पटकपटक गरेर हालसम्म ४०४ वटा हिमाललाई आरोहणको लागि खुला गरेको छ। वार्षिक १००० जनाभन्दा बढीले सगरमाथासहित अन्य हिमाल आरोहण गर्ने गरेको छ। अहिलेसम्म करिब ९ हजार आरोहीले सगरमाथा आरोहण गरिसकेको छ। हिमाल चढेर जब झरिन्छ, तब केही आरोहणकर्ताले मैले हिमाललाई जितेँ (आइ कन्कर) भन्ने गरेको पाइन्छ। र केहीले हिमाल चढ्न सजिलो छ भन्ने गरेको पनि सुनिन्छ। मैले माथि पनि भनिसके कि हिमाल चढ्नु भनेको हिमाललाई जित्नु होइन र हिमाल चढ्नु सजिलो पनि छैन। मलाई चाहिँ यस्तो लाग्यो।

हामीले पनि हिमलुङ हिमालको आरोहणको लागि बेसक्याम्प (४९०० मिटर) मा देउताथान बनाएर पूजा गर्यौँ। लुङ्दर टाँग्यौँ। फुर्वा दाइ, रितेन (टासी) सर, पासाङ सरले लामाका मन्त्रहरू पढ्नुभयो। वैशाख २० गते भव्य पूजा गरेर हामीले माथि भनेजस्तै अनुमति माग्यौँ, माफी माग्यौँ र आशीर्वाद माग्यौँ। हामीले फुमा बस्दा त्यहाँको पुरानो टासी छुलिङ गुम्बामा पनि पूजा गरेका थियौँ। यस्तो पूजाले हामीमा सकारात्मक बल प्रदान गर्छ भन्ने म चाहिँ मान्छु। आफूले चाहेको वा गरेको काममा सकारात्मक सोच राख्न सक्दा मात्रै पनि परिणाम सकारात्मक निस्कन्छ भन्नेमा म विश्वास गर्छु।

सकारात्मक सोचको कुरा गर्दा – एक बेलुका टासी सरले ब्रिफिङ गर्दा भन्नुभयो – हामी हिमलुङको समिट गर्न आवश्यक पर्ने रोप फिक्सिङ जसरी पनि गर्छौँ। त्यसपछि मैले भनेँ – रोप फिक्सिङ भयो भने जसरी पनि म चाहिँ समिट गर्छु। र साथीहरूले भने – अनिल सरले समिट गर्नुभयो भने हामी पनि गर्छौँ। साँच्चै हाम्रो टोलीले रोप फिक्सिङ पनि गर्‍यो, जुन हामीभन्दा अगाडि नै बेसक्याम्प पुगेका ३/४ वटा विदेशी टोलीले सकेका थिएनन्। मैले पनि समिट गरेँ। साथीहरूले पनि गरे। हामी हिमलुङ हिमाल आरोहणको लागि सबै सकारात्मक थियौँ। हामीले हाम्रो दैनिकी त्यसैतर्फ रूपान्तरण गरिरहेका थियौँ। र लाग्छ, यसले हामीलाई समिटमा सहयोग गर्‍यो।

अक्टोबर ३, १९९२ मा पहिलोपटक जापानका ओसामु हनाई र अकियो कोइजुमीले नेपालको निमा शेर्पासँग मनाङ जिल्लाको हिमलुङ आरोहण गरेपछि यसमा आरोहणको ढोका खुल्यो। नार्पाभूमि गाउँपालिका वडा नं. ४ मा पर्ने यो हिमाललाई अहिलेसम्म हजारौँले आरोहण गरिसकेका छन्। यो हिमाल आरोहणको लागि आरोहण गराउने विभिन्न कम्पनीहरूले फिक्स्ड आइटिनरी बनाएको पाइन्छ। हाम्रो आरोहणको कार्यक्रम भने नेपाल माउन्टेन एकेडेमी (संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको निकाय) ले बीएमएस (ब्याचलर अफ माउन्टेनरिङ स्टडिज) मा अध्ययनरत आफ्ना विद्यार्थीहरूको लागि स्वीकृत पाठ्यक्रमको आधारमा सञ्चालन गरेको हो। टेन्डर प्रक्रियाबाट यसको व्यवस्थापकीय जिम्मेवारी राइज एक्सपिडिसन एन्ड ट्रेक प्रा.लि.ले प्राप्त गर्‍यो।

२२ जना विद्यार्थी, ३ जना एनएनएमजीए/आइएफएमजीए माउन्टेन गाइड, १ जना सुपरभाइजर, १ जना अफिस म्यानेजर, ५ जना क्लाइम्बिङ गाइड र ४ जना सपोर्ट स्टाफसहित ३६ जनाको टोली हिमलुङ आरोहणको लागि वैशाख १० मा काठमाडौँबाट हिँडेको हो। २८ दिनको लागि तय भएको हाम्रो आरोहण यात्रा मौसमको कारणले २ दिन लम्बिएर ३० दिनमा सम्पन्न भयो। काठमाडौँ (१३५० मिटर) देखि लमजुङको बेसीसहर (७६० मिटर), मनाङको कोतो (२६०० मिटर), हुँदै मेता (३५७० मिटर), क्याङ (३८४० मिटर), फु (४०८० मिटर), र हिमलुङ बेसक्याम्प (४९०० मिटर) हामी ६ दिनमा पुग्यौँ।

बेसक्याम्पमा ३ जना माउन्टेन गाइडहरूले ४/५ दिन क्र्याम्पन लगाएर हिँड्ने, हार्नेस बाँध्ने, जुमरिङ गर्ने, र्यापेलिङ गर्ने, हिँड्दा पेस मिलाउनेलगायत आरोहणका क्रममा गर्नुपर्ने विषयमा ट्रेनिङ दिए। मबाहेकका अरू सबैले ४ वर्षे कोर्समै सिकिसकेका थिए। एकेडेमीबाट प्रतिनिधिको रूपमा गएको आलोकलाई पनि केही जानकारी थियो यस विषयमा। नयाँ ट्रेनिङ थियो त्यो मेरो लागि भने। मैले गाइड सर र विद्यार्थी साथीहरूबाट ती कुराहरू सिकेँ। आरोहणको लागि सिक्नैपर्ने थियो। अक्लोमटाइजको लागि हामीले हाइकिङहरू गर्यौँ, जुन हाम्रै लागि अति महत्त्वपूर्ण थियो। सास फेर्न बानी पर्नु नै सबैभन्दा ठूलो कुरा हो हिमालमा। लेक लाग्नु भनेको सास फेर्न गाह्रो हुनु हो। सास फेर्न गाह्रो भएपछि अत्यधिक टाउको दुख्छ, हिँड्न सकिँदैन, खान सकिँदैन, रिङ्गटा चल्छ, बोमिटिङ हुन्छ। यसको लागि अक्लोमटाइज हुन आफू बसेको ठाउँभन्दा माथि जाँदै तल झर्नुपर्छ।

हामीले अक्लोमटाइजको लागि, बाटो पहिचानको लागि, आरोहणको वातावरण मिलाउनको लागि बेसक्याम्पबाट क्याम्प १ र २ मा दुईपटक रोटेसन लगायौँ। पहिलोपटक वैशाख २० गते हिमलुङको क्याम्प १ (५५०० मिटर) बराबरको उचाइमा रहेको अर्को हिमाल ग्याजीखाङको क्याम्प १ नजिक पुगेर झर्यौँ। वैशाख २२ गते हामी करिब ६ घण्टा हिँडेर हिमलुङको क्याम्प १ पुग्यौँ। आइसफलहरूसहितको लामो मराइन, यार्सागुम्बा पाउने छड्के उकालो पाखा हुँदै क्याम्प १ पुगेर त्यहीँ सुत्यौँ। प्याक लन्च र चम्पापोरिजको साथमा हिउँ उमालेर बनाएको तातो पानीले हामीलाई २३ गते क्याम्प २ (६२५० मिटर) पुर्‍यायो। १४ जना क्याम्प २ पुग्दा म मुस्किलले १४औँ नम्बरमा थिएँ। केही साथीहरू क्याम्प १ बाटै र केही भने अलि माथिबाट फर्किए। लुजरकको सेक्सनमा क्र्याम्पन नअडिने, लुज स्नो भएको ठाउँमा चिप्लिने, भोक लाग्ने तर खान मन नलाग्ने जस्ता कुराले हामी धेरैलाई निकै थकित बनायो। क्याम्प २ मा आधा घण्टा बसेर हामी झर्यौँ क्याम्प १ मा रातको ७ बजे। डोरीमा क्याराबिनर लगाएर ट्रेकिङ पोलको टुप्पो हिउँमा गाड्दै क्याम्प १ झर्दा लखतरान भएका थियौँ। र अर्को दिन त्यसरी नै बेसक्याम्प फर्केर पहिलो रोटेसन पूरा गर्यौँ हामीले। यो रोटेसनले हामीमा हिमलुङ समिटको आधार निर्माण गर्‍यो। कन्फिडेन्स विकास गराएको महसुस गरायो।

त्यही रोटेसनले जन्माएको आत्मविश्वास, राइज एक्सपिडिसनको लजिस्टिक व्यवस्थापन र बेसक्याम्पको खानपान, माउन्टेन गाइडहरूको सकारात्मक मनोपरामर्श र तालिम, एकेडेमीको पूर्वतयारी, काठमाडौँबाट पटकपटक प्राप्त मौसम पूर्वानुमान र आरोहणका सदस्यहरूको सामूहिक भावना अनि आँट, हिमाल चढ्ने जुनून र लगावका कारण हामीले हिमलुङ आरोहण गर्यौँ। र हिमाल आरोहण गर्दा चाहिने कुरा नै यति हो।

माउन्टेन गाइडहरू टासी सर, पिके सर, पासाङ सरले सगरमाथालगायत ८००० मिटर अग्ला धेरै हिमाल धेरैपटक आरोहण गरिसकेका भए तापनि हिमलुङ पहिलोपटक थियो। फुर्वा दाइले पनि सगरमाथा र अरू हिमाल चढिसकेका थिए, तर पनि हिमलुङ पहिलोपटक नै थियो। क्लाइम्बिङ गाइडहरू ६० वर्षे लाक्पा दाइ, ओङ्गेल, सोनाम, टेन्डी र छेवाङको लागि पनि हिमलुङ पहिलोपटक नै थियो। विद्यार्थी साथीहरूले ५००० मिटर र ६००० मिटरको पिक एकेडेमीको पाठ्यक्रमअनुसार पहिले चढेको र ७००० मिटरको हिमाल चढ्नुपर्ने फाइनल प्रयोगात्मक परीक्षा भएकोले हिमलुङ पहिलोपटक नै थियो उनीहरूको लागि पनि।

मेरो लागि पनि धेरै कुराले हिमलुङ पहिलोपटक हो र भयो। योभन्दा अगाडि म सगरमाथा बेसक्याम्प ट्रेकिङ (५३६५ मिटर), अन्नपूर्ण बेसक्याम्प ट्रेकिङ (४१३० मिटर), अपर मुस्ताङ – कोरोला ट्रेकिङ (४६६० मिटर), गोसाइकुन्ड ट्रेकिङ (४३८० मिटर), रारा हुँदै मुर्माटप ट्रेकिङ (३६९० मिटर) आदिसम्म पुगेको हो। यति उचाइमा मेरो पनि पहिलोपटक नै हो। नेपाल माउन्टेन एकेडेमीको कार्यकारी निर्देशकहरूमा पनि यो पहिलोपटक हो। पर्यटन विभागको रेकर्डअनुसार निजामती कर्मचारी (उपसचिव) हरूमा पनि हिमलुङ हिमाल आरोहण पहिलोपटक नै हो। यसर्थ पनि यो आरोहण हामी सबैको लागि पहिलोपटक र महत्त्वपूर्ण, सम्झनायोग्य भयो र छ।

अनि अर्को कुरा, हिमाल चढ्नुभन्दा चढेर झर्नु झन् धेरै कठिन हुन्छ भन्ने लाग्यो मलाई। समय कम लाग्ला, तर जोखिम बढी हुने साथै शरीरको तागत कम हुने भएर पनि कठिनाइको महसुस हुने लाग्यो। क्याम्प २ बाट रातको साढे १२ बजे हिँडेर १०:५५ बजे समिट पुगेको। प्याक लन्च खान नसकिएको, थर्मसको बाँकी पानी चिसो भइसकेको, खुट्टा दुख्न थालेको, हावा झन् चलिरहेको, ओरालोको आइसमा क्र्याम्पन गाड्न अफ्ठ्यारो हुने गरेको, सबै ठाउँमा र्यापेलिङ गर्न पनि नमिल्ने यस्तैयस्तै कारणले झर्नु कठिन भयो हामीलाई। क्याम्प २ मा फर्किँदा बेलुका ६ बजेको थियो। त्यहाँ योजना अनुसार नै हाम्रो अर्को टोली आइपुगेकोले हामीले क्याम्प १ मा झर्नुपर्ने। फुर्वा दाइले फेरि हिउँ उमालेर तातोपानी दिएपछि हामी तेर्सो स्नो सेक्सनमा क्र्याम्पन गाड्दै झर्यौँ। थकित लखतरान शरीरलाई ट्रेकिङ पोल र चट्टानमा बाँधेको कोरियन रोपमा अल्झाएको क्याराबिनरको सहायताले रात ९ बजे झार्यौँ। करिब २१ घण्टाको यात्रालाई क्याम्प १ को पहेँलो टेन्टमा खाँदेर हामीले समिट डे मनायौँ।

हाम्रै अर्को टोलीको माउन्टेन गाइड टासी सरको नेतृत्वमा आशीष, इसान, सुमन, मिङ्मार, सजल, सुजन, विवेक न्यौपाने र टेन्डीले जेठ २ गते दिउँसो १२:५५ बजे उस्तै उत्साह र कठिनाइका साथ समिट गरे। हामीले बेसक्याम्पमा जेठ ४ गते (२६औँ दिन) केक नै काटेर समिट सेलिब्रेसन गर्यौँ। वैशाख १६ गते पहिलो दिन बेसक्याम्प पुग्दा सास फेर्न पनि मुस्किल भएको थियो भने जेठ ४ गते सायद खुसीसँगै बानी परिसकेकोले हामीले करिब ४ घण्टा नाच्यौँ। उफ्रीउफ्री खाँदै नाच्यौँ। खुसी साटासाट गर्दै चिच्याउँदै नाच्यौँ र पनि सास फेर्नमा कुनै अफ्ठ्यारो भएन। हाम्रो थकान, हिमाली चिसो बतासले डढाएको हाम्रो अनुहार, यात्रा सुरु गरेदेखि ननुहाएको शरीर, करिब ४/४ केजी घटेको हाम्रो तौलको हामीलाई कुनै परवाह थिएन। हामीले खुलेर बितायौँ बेसक्याम्पको त्यो अन्तिम रात हिमलुङकै अगाडि।

हिमलुङलाई एकपटक सबैले ढोग्यौँ। हाम्रो देउताथानलाई एक फन्को लगायौँ। हिमाललाई बाइबाइ गर्यौँ र बोक्यौँ हामीले जेठ ५ गते बिहान आआफ्नो रुक्स्याक। हिमाली जनजीवनको समीक्षा गर्दै हामीले फु हुँदै क्याङ, मेता, कोतो र बेसीसहरकै पहिलो उकालो चढेको बाटो टेकेर काठमाडौँ फर्कियौँ। हामीले ३० दिनको एउटा उच्च हिमाली साहसिक यात्रा सकायौँ। हामी २४ जनाले हिमलुङ हिमालको चुचुरो छोएर फर्कियौँ। हिमाली हावालाई फोक्सोमा बोकेर आयौँ।

आफन्त, साथीभाइ, शुभचिन्तकहरूले बधाइ दिए, अझै दिइरहेका छन्। र सोध्छन् – कसरी चढ्यौ हिमाल? किन चढेको हिमाल? कतिको गाह्रो भयो? अब सगरमाथा पनि चढ्ने होला नि? मैले भन्ने गरेको छु – सोचेको र सुनेकोभन्दा निकै गाह्रो छ हिमाल चढ्न। मैले आफ्नै उत्साह र रहरले हिमाल चढेको हो। निजामती कर्मचारी हुँ, पर्यटन मन्त्रालयअन्तर्गत काम गर्छु, तसर्थ हिमाल बुझ्न पनि हिमाल चढेको हुँ। अनि समय र अवसर पाएँ भने सगरमाथा पनि चढ्छु। तर हिमाल चढ्नु सजिलो छैन र हिमाल चढ्नु हिमाललाई जित्नु होइन, हिमालभन्दा अग्लो हुनु पनि होइन।

किराती नेपाल माउन्टेन एकेडेमीका कार्यकारी निर्देशक हुन् ।

https://www.prasashan.com/2025/06/15/673998/?fbclid=IwY2xjawLA1mlleHRuA2FlbQIxMQBicmlkETFxNFRleXhKc1ZYZnNIMzZYAR5cBYD_gAUBYmqFngtQyvVqquNtCvQvVt3KpuwWazgbtBHUwi7cNhC8GvBNXg_aem_qy06nm3FKLkdqS0T3sb-KA

Friday, November 29, 2024

एक प्रेम वक्तव्य


Nov 28, 2024

 

Ichchha Sanchar-इच्छा सञ्चार